Comments Add Comment

नेकपालाई भाकपाको सुझावः कम्युनिस्टले गल्ती स्वीकार्नुपर्छ

सीताराम यचुरी भन्छन्– समस्याको समयमै ट्याकल गर्नुपर्छ

भारतीय कम्युनिष्ट पार्टी (भाकपा) को स्थापना सन् १९२० मै भएको हो । भाकपा ९८ वर्ष लामो इतिहास बोकेको पार्टी भइसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टी सन् १९२१ मा खुल्यो । भारतभन्दा एक वर्षपछि खुले पनि उनीहरूले क्रान्ति गरेको ७० वर्ष भइसक्यो । तर, हामी जहाँको त्यहीँ छौं ।

यस्तो किन भयो त ? यसका विभिन्न कारण छन् ।

भारतीय कम्युनिष्ट आन्दोलनले कलिलैमा धेरै कठिन परिस्थितिको सामना गर्नुपर्‍याे । पार्टी सानो हुँदै विभिन्न षडयन्त्र गरेर यसलाई खत्तम पार्ने प्रयत्न भए ।

भाकपाको अनुभव

भाकपा मार्क्सवादीले स्थापनाकालदेखि के भन्दै आएको छ भने जुनसुकै देशको क्रान्तिको बाटो त्यस देशको ठोस परिस्थितिको आधारमा हुन्छ । हामीले भन्यौं भारतमा न रसियनपथ हुन्छ न चाइनिजपथ । भारतमा त भारतपथ नै हुन्छ ।

हाम्रो सन्दर्भमा शासकको अवस्था के छ, त्यसैका आधारमा हाम्रो क्रान्तिकारी आन्दोलन फेरि अगाडि बढ्छ । त्यही अनुसार हामी क्रान्तिको लोकतान्त्रिक स्टेजमा छौं भन्ने निश्कर्षमा पुग्यौं । लोकतान्त्रिक स्टेज हासिल गरेपछि नै हामीले जनतान्त्रिक स्टेजको कुरा गर्‍याैं । त्यसपछि मात्रै समाजवादी संघर्ष शुरु हुन्छ ।

भारत स्वतन्त्र भएपछि यसको स्वरुप कस्तो होला भन्ने प्रश्न थियो । एकातिर मुस्लिम लिगको इस्लामिक स्टेट र अर्कोतिर आरएसएसले हिन्दु राष्ट्रको मुद्दा आयो । उनीहरू सेक्युलर डेमोक्र्याटिक रिपब्लिकको अन्त्य गरेर धार्मिक राज्यको स्थापना गर्न चाहन्छन् । जब कि भारतको भाषिक, सांस्कृतिक, जातीयलगायतका विविधतालाई समेट्नका लागि धर्मनिरपेक्ष जनतन्त्र भारत आवश्यक थियो ।

महात्मा गान्धीको हत्यापछि आरएसएसमाथि प्रतिबन्ध लाग्यो । त्यतिबेला यो चुनौति समाप्त भयो भन्ने लागेको थियो । तर, त्यो टकराव अझै पनि सकिएको छैन । भारत धर्मनिरपेक्ष जनतन्त्र राज्य रहने कि हिन्दु राष्ट्रमा बदलिने भन्ने टकराव अहिले पनि छ ।

हामीले के सिक्यौं भने वास्तविक अन्तरविरोध चिन्न र परिस्थितिको सही आँकलन गर्नु ठूलो कुरा रहेछ । हाम्रो मात्रै होइन, सबै क्रान्तिको अनुभव यस्तै देखिन्छ ।

भाकपा मार्क्सवादी भारतमा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बन्यो । पञ्चिम बंगाल, केरला र त्रिपुरामा सरकार बनाउन सक्यौं । संसदमा दोस्रो नम्बरमा थियौं ।

सन् २००४ मा भारतीय कम्युनिष्ट पार्टी त्यो स्थानमा पुगेको थियो, जसको समर्थनविना कसैको पनि केन्द्रमा सरकार बन्न सक्दैनथ्यो । हाम्रो दुश्मन यो अवस्थालाई बरकरार रहन दिन चाँहदैनथ्यो । त्यसपछि भाकपा लक्षित गरेर आक्रमण भयो ।

पछिल्लोपटक बंगाल र त्रिपुरामा भौतिक आक्रमण नै भयो । त्रिपुरामा ९९ प्रतिशत स्थानमा भारतीय जनता पार्टीले निर्विरोध जित्यो । बंगालमा ३४ प्रतिशत स्थानमा तृणमूल कांग्रेसले यसरी नै जित्यो ।

त्यहाँ भएको के थियो हाम्रा कार्यकर्तालाई घरघरमा गएर उम्मेदवारी दर्ता नगर्न चेतावनी दिइयो । जसले हिम्मत गरेर दर्ता गरे, उनीहरूमाथि पनि उम्मेदवारी फिर्ता गर्ने दबाव पर्‍याे ।

उम्मेदवारका श्रीमतीलाई गएर उपहार टक्र्याउँदै नोमिनेसन फिर्ता गर्न लगाइयो । त्यो उपहार सेतो साडी हुन्थ्यो । छोराछोरीलाई हत्या, बलात्कारको धम्की पनि दिइयो ।

यस्ता धम्कीका बावजुद एक दम्पतिले उम्मेदवार बन्ने हिम्मत देखाए । उनीहरू मनोनयन फिर्ता लिन तयार भएनन् । त्यसपछि दुबैलाई घरमा जिउँदै जलाइयो ।

हाम्रो आफ्नै कमजोरी पनि रह्यो । परमाणु सम्झौताको विषयमा हामीले जनतालाई बुझाउन सकेनौं । अमेरिकी विस्तारवादप्रतिको हाम्रो विश्लेषण सही हुँदाहुँदै पनि जनतालाई त्यसबारे बुझाउन नसक्नु हाम्रो कमजोरी थियो ।

संठनात्मक रुपमा पनि हामीमाथि सिधा प्रहार भयो । बंगालमा मात्रै दुई सय भन्दा बढी हाम्रा सक्रिय कार्यकर्ताको हत्या गरियो । संगठनले यो कुरा समयमै बुझ्न सक्नुपर्दथ्यो । सुर्हातो आएपछि पहिलोपटक इन्डोनेसियामा कम्युनिष्टहरुमाथि यस्तो प्रहार भएको थियो ।

कम्युनिष्ट पार्टीको संगठनमा सचिवालय, पोलिट्ब्यूरो, केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र तथा गाउँ कमिटीहरू हुन्छन् । सबैको आ–आफ्नै महत्व हुन्छ । तर, त्यसमध्ये सबैभन्दा महत्वपूर्ण गाउँ तहका कमिटी हुन्छन् । किनभने, जनतासँग प्रत्यक्ष जोडिने भनेका ती कमिटी हुन ।

गाउँस्तरका कमिटीका कार्यकर्ता पहिचान गरेर उनीहरूलाई पार्टीबाट अलग पारेपछि संगठन छिन्नभिन्न हुन पुग्छ । बंगालमा पनि विरोधीले त्यही गरे ।

नेकपाले के सिक्ने ?

कम्युनिष्ट पार्टी सेटब्याक हुनुमा राजनीतिक, सांगठनिक र प्रशासनिक कारण थिए । हाम्रो अनुभवले भन्छ, अन्तरराष्ट्रिय परिस्थिति बुझ्नु जरुरी छ । त्यसको सही विश्लेषण नगरी कार्यनीति तय गर्नुहुँदैन ।

जब सोभियत युनियनको पतन भयो । त्यसको असर संसारभरि नै देखिन थाल्यो । हाम्रोमा पनि असर नपरेको होइन । तर, हाम्रो मौलिक पृष्ठभूमिका कारणले गर्दा अझै धेरै नोक्सान हुनबाट जोगियो ।

सन् १९६०/०६१ ताका संसारका सबै कम्युनिष्ट पार्टीले प्रमुख चार अन्तरविरोधमा विश्वास गर्थे । आज पनि यसैलाई मान्दै आएका छन् । ती अन्तरविरोध हुन्– साम्राज्यवाद–समाजवाद, पुँजी–श्रम, साम्राज्यवाद–पिछडिएका देश र साम्राज्यवादी देशहरूकै अन्तरविरोध ।

यीमध्ये केन्द्रीय अन्तरविरोध भनेको साम्राज्यवाद र समाजवादबीचको हो । सोभियत क्रान्तिपछि संसारमा पुँजीवादी व्यवस्था बदलेर समाजवादतर्फको दिशा अघि बढेको थियो ।

तर, चारमध्ये जुनसुकै अन्तरविरोध प्रधानअन्तरविरोधका रुपमा आउन सक्थ्यो । जस्तो– भियतनाम मुक्तिका बेला विस्तारवाद र तेस्रो विश्वमा जुन अन्तरविरोध थियो, त्यो नै केन्द्रीय अन्तरविरोधका रुपमा आयो ।

नेपाल, भारत वा जुनसुकै देशमा विभिन्न अन्तरविरोध होलान् । तर, त्यसमध्ये मुख्य अन्तरविरोध कुन हो, जसलाई समाधान नगरेसम्म क्रान्ति अगाडि बढ्न सक्दैन ? हो, यसको पहिचान हुन सकेन भने त्यो सबैभन्दा ठूलो गल्ती हुन्छ ।

७० वर्षपछि सोभियत संघको विघटन किन भयो ? संघ विघटन हुनुमा समाजवादको उद्देश्यमा वा मार्क्सवादको विचारधारमा कुनै खोट थिएन । विचारधाराको रुपमा मार्क्सवाद, लेनिनवाद र समाजवादको आइडिया आज पनि उत्तिकै सान्दर्भिक छ ।

सिद्धान्त लागु गर्दा र समाजवाद निर्माण गर्दा भएको गल्तीका कारण सोभियत संघको पतन भयो । मान्छेहरू भन्छन्, ७० वर्षपछि सोभियत संघ किन विघटन भयो । तर, यो प्रश्न नै गलत हो ।

सही प्रश्न के हो भने ७० वर्षसम्म उनले सोभियत संघ कसरी जीवित राखे ? गल्ती सुधार्दै सुधार्दै अगाडि बढ्न सक्दा न टिक्यो । गल्ती नसुधारेको भए पहिलो वर्षमै पतन हुनसक्थ्यो । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर न उ टिक्न सफल भयो ।

त्यसैले फेरि भन्छु, ठोस परस्थितिको ठोस विश्लेषण, सिद्धान्त र अभ्यासको सही संयोजन आजको आवश्यकता हो । समस्याको समयमै ट्याकल गर्नुपर्दछ ।

गल्ती गर्नु ठूलो कुरा होइन, गल्ती जसले पनि गर्न सक्छ । तर, कम्युनिष्टले गल्ती गरेपछि स्वीकार्न सक्नुपर्छ । स्वीकारेपछि नै सच्याउन सकिन्छ । गल्ती त्यसले गर्दैन, जो केही नगरी बस्छ । गल्तीलाई चिन्न नसक्नु, चिनेर सुधार नगर्नु र बारम्बार दोहोर्‍याउनु समस्या हो ।

हाम्रो अनुभवबाट नेपाली कम्युनिष्ट आन्दोलनले सिक्नुपर्ने पाठ पनि यही हो जस्तो लाग्छ ।

(पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित अन्तरक्रियामा भाकपा मार्क्सवादीका महासचिव सीताराम यचुरीको मन्तव्यको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment