Comments Add Comment

तिहार ढिलो आएकाले सयपत्री झर्न थाल्यो, भारतबाट ४ लाख माला भित्रिँदै

११ कात्तिक, काठमाडौं । नयाँ बानेश्वर थापागाउँकी उर्मिला पौडेल घरको कौशीमा फूल स्याहार्दै गरेको अवस्थामा भेटिइन् । भाइटीकाका लागि भनेर गमलामा रोपेको सयपत्री फुलेर झर्न थालेपछि उनी चिन्तित देखिन्थिन् ।

‘अरु वर्षमा जस्तै असारको अन्तिमतिर रोपेको थिएँ, भाइटीका आएकै छैन, फूल फुलेर झर्न थालिसक्यो, अब भाइलाई बजारकै माला लगाइदिने त होला नि ?’ उनले भनिन् ।

काठमाडौंको घट्टेकुलोमा बस्दै आएकी पाँचथर फिदिमकी समीक्षा कट्टेलको व्यथा पनि उस्तै छ । घरबेटीलाई मनाएर उनले कौशीमा सयपत्री रोपेकी छिन् । तर, भाइटीका नआउँदै सयपत्री फूल झर्न थालेपछि उनको मन कुँडिएको छ ।

उर्मिला र समीक्षाजस्तै आफ्नै घरको आँगन, कौशी, आसपासमा दाजुभाइलाई माला लगाइदिन फूल रोप्नेहरु यतिबेला मर्कामा परेका छन् । बजारमा किनेको फूलभन्दा दाजुभाइका लागि आफैले रोपेको फूलको माला लगाइदिन रुचाउनेहरु अन्ततः बजारको ‘रेडिमेड’ र कृत्रिम माला किन्न बाध्य बन्ने गुनासो पोख्छन् ।

यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् । पात्रो हेरेर फूल नरोप्नेहरु समस्यामा परेका छन् । सामान्यतः असारको अन्तिमतिर फूल रोप्ने गरिन्छ । तर, यसपालिको भाइटीका अघिल्लो वर्षको भन्दा १९ दिन ढिला भएकाले सयपत्री फुलेर पनि झर्न थालेको छ ।

त्यसो त, शहरमा ठाउँ अभाव हुँदा र व्यस्त दैनिकीले आफैले दुःख गरेर फूल रोप्नुको सट्टा बजारे फूलले नै धेरै तिहारको गर्जो टार्ने गरेको छ ।

फ्लोचिकल्चर एशोसिएनसन अन्तर्गतको कट फ्लावर ग्रोवर उपसमितिकी सचिव एवं पुष्प व्यवसायी सुशीला कठायतका अनुसार पात्रो नहेरी व्यवसायिक फूल खेती नगर्ने कतिपय व्यवसायी फूल झर्न थालेपछि चिन्तित छन् ।

तर, अभ्यस्त व्यवसायीले भने तिथि हेरेरै तिहारलक्षित फूल खेती गर्ने गरेको उनी बताउँछिन् ।

भारतबाट चार लाख माला


तिहारमा एक करोडको फूल कारोबार हुने गरेकोमा ३० देखि ३५ लाखको माला भारतबाट आउँछ । ९० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि तिहारमा माग ह्वात्तै बढ्न भएकाले १० प्रतिशत भारतीय बजारबाट ल्याउनै पर्ने बाध्यता छ ।

व्यवसायीका अनुसार यसवर्ष मखमली र गोदावरीको फूलको माला आन्तरिक उत्पादनले धान्ने भएकाले नपुगेको सयपत्रीको माला भारतबाट आयात हुनेछ ।

काठमाडौं उपत्यकाका हकमा मात्रै तिहारमा १० लाख माला आवश्यक पर्ने फ्लोरीकल्चर एशोसिएनका बरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङको भनाइ छ । उपत्यकामा यमपञ्चकको लक्ष्मी पुजाको दिन सबभन्दा बढी माला खपत हुने गरेको उनी बताउँछन् ।

‘काठमाडौंलाई चाहिने १० लाख मध्ये ६ लाख आन्तरिक माला हुन्छ, नपुगेको ४ लाख भारतबाट आउँछ’, उनले भने ।

काठमाडौंबाहेक तिहारका बेला पोखरामा पनि मालाको माग धेरै हुने गरेको उनी बताउँछन् । घरमा रोप्नेहरुको सयपत्री फुलेर ढकमक्क भई ओइलिएर झर्न थालेकाले माग पूर्तिका लागि आयात बढाउनुपर्ने अवस्था आउने उनले बताए ।

गाउँघरतिर अहिले पनि तिहारका लागि अाफैंले फूल रोप्ने चलन छ । ठाउँ भएका शहरका बासिन्दाले पनि आफूलाई चाहिने जति फूल रोप्ने गर्छन् ।

तर, बजारको मालामा निर्भर रहँदै आएका उपभोक्ताको संख्या ठूलो हुँदा माग पनि बढ्न जान्छ ।

मुलुकको कुल खपतलाई हेर्ने हो भने यसवर्ष मालाको खपत पनि केही बढ्ने व्यवसायी बताउँछन् । यसवर्ष अघिल्लो वर्ष २ लाख बढी माला खपत हुने एशोसिएसनका बरिष्ठ उपाध्यक्ष तामाङ बताउँछन् । अघिल्लो वर्ष १५ लाख माला खपत भएको थियो ।

सामान्यतः एउटा माला उत्पादन गर्न २५ लाग्ने व्यवसायीको दाबी छ । यस हिसाबले होलसेलमा ४० देखि ५० रुपैयाँ पर्न जाने बरिष्ठ उपाध्यक्ष तामाङको भनाइ छ ।

तर, खुद्रा व्यापारीले तिहारका बेला मालामा मनपरी मूल्य तोक्ने गरेका छन् । अघिल्लो वर्षको बजार हेर्ने हो भने व्यापारीले तिहारका बेला एउटै मालाको १५० देखि २५० रुपैयाँसम्म लिने गरेका छन् ।

तिहारको मालाका लागि सयपत्री र मखमली धेरैको रोजाइमा पर्छ । यी दुईबाहेक गोदावरी फूलको पनि माला उन्ने गरिन्छ ।

मखमली र गोदावरी उही समयमा फुले पनि सयपत्रीजस्तो चाँडै झरिहाल्दैन । मखमली फूल कहिले नओइलिने भए पनि भाइटीकाका लागि विशेष गरी सयपत्री नै रोप्नेहरु पनि छन् । तर, सयपत्री जोगाउनै मुश्किल पर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment