+

लेस्टर सिटीका मालिक चढेको हेलिकप्टर दुर्घटना

२०७५ कात्तिक  ११ गते १५:०७ २०७५ कात्तिक ११ गते १५:०७
लेस्टर सिटीका मालिक चढेको हेलिकप्टर दुर्घटना

११ कात्तिक, काठमाडौं । प्रिमियर लिग क्लब लेस्टर सिटीका मालिक चढेको हेलिकप्टर दुर्घटना भएको छ ।

प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लेस्टरले वेस्टहृयामसँग १-१ को बराबरी खेलेपछि हेलिकप्टर रंगशालाबाट उडेको थियो । उडेको केही क्षणमै हेलिकप्टरमा आगो लागेर विष्फोट भएको थियो ।

उक्त हेलिकप्टर क्लबको किंग पावर रंगशाला बाहिरको कार पार्कमा स्थानीय समयअनुसार राति ८ः३० मा दुर्घटना भएको थियो ।

हेलिकप्टरमा क्लबका थाइ मालिक भिचाई स्रियधनप्रभा रहेको बताइएको छ । त्यसैगरी क्लबका अन्य उच्च पदाधिकारीसमेत हेलिकप्टरमा रहेको बताइएको छ ।

यद्यपि हेलिकप्टरमा कति जना सवार थिए र उनीहरुको अवस्था कस्तो छ भन्ने बारे औपचारिक रुपमा केही खुलेको छैन ।

एक प्रत्यक्षदर्शीका अनुसार लेस्टरका गोलरक्षक पिटर स्माइकललाई दुर्घटना भएको देख्नासाथै रंगशाला बाहिर हेलिकप्टर दुर्घटना स्थलतर्फ दौडिरहेको देखिएको थियो ।

एक अर्का प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टरको पुच्छरको पंखाले काम गरिरहेको थिएन र यसैकारण हेकिप्टर घुमेको थियो ।

लेस्टरसायरका अग्नी नियन्त्रण तथा उद्धार सेवाका सहायक प्रमुख अधिकारी एन्ड्रियु ब्रोडेले ट्वीट गर्दै उक्त दुर्घटना ‘धेरै गम्भीर र दुःखद’ भएको बताएका छन् ।

दुर्घटनाबाट भएको क्षति र दुर्घटनामा को को परे भन्ने बारेमा हचुवामा अनुमान नगर्न साथै परिवार, साथीहरु, शुभेच्छुक, लेस्टर सिटी क्लब र उनीहरुका समर्थकहरुको बारेमा सोच्न उनले आग्रह गरेका छन् ।

सन् २०१० देखि सि्रयधनप्रभाको स्वामित्वमा क्लबले सन् २०१६ को पि्रमियर लिगमा चामत्कारिक प्रदर्शन गर्दै उपाधी जितेको थियो ।

थाइल्याण्डका पाँचौ धनाढ्य स्रियधनप्रभा ड्युटी फ्री जायन्ट किंग पावर इन्टरनेशनलका संस्थापक हुन । उनले सन् २०१० मा ३९ मिलियन पाउण्डमा लेस्टर सिटी क्लब खरिद गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय