Comments Add Comment

दीपादेखि रेनशासम्म, बक्स अफिसमा शक्तिशाली बन्दै महिला निर्देशक

नेपाली चलचित्रकी पहिलो महिला निर्देशक को हुन् ? हाजिरी जवाफमा धेरै सोधिने प्रश्न हो यो ?  नेपालमा पुरुष निर्देशकको वर्चस्व कायम भएकाले पनि पहिलो महिला निर्देशकप्रति रुची यति धेरै बढेको हो । सुचित्रा श्रेष्ठले पहिलो पटक नेपाली चलचित्र निर्देशन गरेर आफ्नो नाम सधैका लागि पहिलो महिला निर्देशकको रुपमा लेखाएकी छिन् ।

नेपाली चलचित्रमा महिलाले प्रवेश गर्नुहुँदैन भन्ने मानसिकताबाट पर हट्दै अहिले यो क्षेत्रमा भविष्य बनाउन हरेक वर्गका नायिकाहरु आएका छन् । त्यसमा सफल हुनु र असफल हुनु आफ्नो कुरा भयो ।

झन्, चलचित्र निर्देशन त महिलाहरुले गर्नै सक्दैनन् भन्ने पनि सुनिन्थ्यो । तर, यो कुरालाई महिला निर्देशकहरुको बढ्दो संख्याले चिरिसकेको मात्र छैन, अब बिस्तारै महिला निर्देशकहरुको बर्चस्व चलचित्र क्षेत्रमा बढ्दै गएको छ ।

अब, एउटा नयाँ प्रश्न गरौ । नेपाली चलचित्रमा सर्वाधिक कमाई गर्ने चलचित्रको निर्देशक को हुन् ? धेरै नसोची एउटै नाम भन्न सकिन्छ, दीपाश्री निरौला ।

रेडियो, टेलिभिजन हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी दीपाश्रीको लोकप्रियता अब कुनै पुरुष निर्देशकको भन्दा कम छैन । उनको नामले नै एकपटक हलसम्म दशर्क पुग्न सक्छन् । उनले, निर्देशन गरेका ‘छक्का पन्जा, छक्का पन्जा २, छक्का पन्जा ३’ नेपाली चलचित्रको इतिहासमै सर्वाधिक कमाई गर्ने चलचित्र बनेका छन् । सायद, यो रेकर्ड तोड्न कुनै पुरुष निर्देशकलाई पनि अब लामो समय लाग्ला ।

यसैले पनि नेपाली चलचित्रमा महिला निर्देशकहरुको बर्चस्व बढ्दै गएको छ । यो बर्ष रिलिज भएर सर्वाधिक चर्चामा रहेको अर्को चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’की निर्देशक पनि महिला हुन् । कोरियोग्राफी हुँदै चलचित्र निर्देशनमा हात हालेकी रेनशा वान्तवा राइले चलचित्र मेकिङमा आफूलाई प्रमाणित गरिसकेकी छिन् । उनले निर्देशन गरेको चलचित्रको माग अहिले विदेशमा पनि उस्तै छ ।

यो बर्ष अन्य महिला निर्देशकको चलचित्र पनि रिलिज हुँदैछ । चलचित्र ‘ए मेरो हजुर २’ निर्देशन गरेर नायिका झरना थापाले निर्देशनमा हात हालेकी थिइन् । झरनाको यो चलचित्रले ब्लकबस्टर व्यापार गरेको थियो । झरना थापाको निर्देशकिय पक्षको पनि खुबै तारिफ भयो । हाल उनी ‘ए मेरो हजुर ३’ निर्देशनमा व्यस्त छिन्, जुन चलचित्र यो बर्षको अन्तिम हप्ता रिलिज हुँदैछ ।

चलचित्र ‘हिम्मतवाली’ निर्देशन गरेर सफल भएकी नायिका रेखा थापाले यो बर्ष ‘मालिका’ चलचित्र निर्देशन गरेकी छिन् । रेखा पनि चलचित्रमा अभिनयदेखि निर्देशनसम्म सफल छिन् ।

चलचित्र निर्देशनमा हात हालेका महिला निर्देशक यति मात्र होइनन् । चलचित्र ‘हाउ फन्नी’बाट निर्देशक निलु डोल्मा शेर्पा, ‘अन्तराल र श्री ५ अम्बरे’ निर्देशन गरेकी दिपा बस्नेत, ‘मेघा र फागू’ निर्देशन गरेकी संझना रौनियार उप्रेती, ‘द गेम’ निर्देशन गरेकी रक्षा सिंह राणा लगायतले पनि नेपाली चलचित्र क्षेत्रमा आफ्नो दरिलो उपस्थिती जनाइसकेका छन् ।

यो बर्ष त बक्स अफिसमा महिला निर्देशककै वर्चस्व देखिएको छ र देखिने संभावना पनि उस्तै छ । यसरी हेर्दा, चलचित्र निर्देशन पनि अब विस्तारै महिलाहरुका लागि पावरफूल बन्दैछ । चलचित्र अभिनयमा मात्र होइन, निर्देशनमा पनि महिलाहरुले पाइला चालेको खण्डमा त्यसले शक्तिशाली प्रभाव पार्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment