Comments Add Comment

पीपीएल : सन्दीपको विराटनगर उपाधि होडबाट बाहिरियो

१२ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा विराटनगर टाइटन्सले लगातार तेस्रो खेलमा हार व्यहोरेको छ ।

आइतबार काठमाडौं रोयल्ससँग ५ विकेटको हारपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर उपाधि होडबाट लगभग बाहिरिएको छ ।

पहिले ब्याटिङ गर्दै विराटनगरले एक सय ५० रनको लक्ष्य दिएको थियो । विराटनगरका लागि मुहम्मद जैद आलमले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएका थिए । उनले ४ छक्का र सात चौकाको मद्दतले ४७ बलमा ६७ रन बनाए । यसका बाबजुद विराटनगर ठूलो स्कोर बनाउन भने चुक्यो ।

ब्याटिङलाई सहयोग गरिरहेको पिच भए पनि अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । ओपनर सुनील धमलाले २९ बलमा ३० रन बनाए । उनले पहिलो विकेटका लागि आलमसँग ६५ रनको साझेदारी गरेका थिए । यो जोडी टुटेसँगै विराटनगरको पतन सुरु भयो । राजु पुलामी मगरले २७ बलमा ३० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।

काठमाडौंका लागि सुशन भारी, गौरब तोमर र बसन्त रेग्मीले समान २-२ समान विकेट लिए ।

१ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले खराब सुरुवात गरेको थियो । टिम स्कोर १४ हुँदा ओपनर जयकिसन कोल्सावाल आउट भए । तर, तेस्रो नम्बरमा आएका गौरव तोमरले टिमलाई अघि बढाए । उनलाई ओपनर अमित श्रेष्ठले गतिलो साथ दिए । अमितले ३३ बलमा ३५ रन बनाए भने तोमरले ४६ बलमा ३ छक्का र ६ चौकासहित ६६ रन बनाएर आउट भए ।

अन्तिम दुई ओभरमा खेल रोमाञ्चक बनेको थियो । १२ बलमा काठमाडौंलाई १४ रन चाहिएको थियो । १९ औं ओभरमा बलिङ गर्न कप्तान सन्दीप आफैं आए । उनको पहिलो बलमा तोमरले चौका हिर्काए भने दोस्रो बललाई छक्का हान्ने चक्करमा आउट भए । अर्को इन्डमा पृथु वास्कोटा संघर्ष गरिरहेका थिए ।

अन्तिम ओभरमा काठमाडौंलाई ७ रनको आवश्यकता थियो । जितेन्द्र मुखियाको पहिलो बलमा दुई रन र दोस्रोमा छक्का हान्दै अमरसिंह रौटेलाले काठमाडौंलाई जित दिलाए ।

विराटनगरका लागि सहाब आलमले दुई विकेट लिए भने सन्दीप लामिछाने, किशोरी महतो र जितेन्द्र मुखियाले १-१ विकेट लिए । काठमाडौंका गौरव तोमर म्यान अफ द म्याच बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment