Comments Add Comment

‘पारि’को चेतावनीपछि सिके राउतलाई ‘सेटब्याक’

१२ कात्तिक, काठमाडौं । मधेसलाई अलग्गै देश बनाउने डा. सिके राउतको अभियानप्रति छिमेकी भारतले चासो देखाएको छ । तीन साताअघि रौतहटबाट पक्राउ परेर हालसम्म थुनामै रहेका राउतको गतिविधिप्रति भारतले आपत्ति प्रकट गरेपछि बल्ल नेपाल सरकारले उनलाई गिरफ्तार गरेको खुलेको छ ।

राउतको गिरफ्तारीको रहस्यबारे उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘ओली सरकारले राउतको गतिविधिप्रति उदासीनता देखाइरहेको थियो, तर छिमेकीले आफ्नो सीमानामा बिखण्डनकारी गतिविधि सैह्य नहुने बताएपछि बल्ल नेपाल प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।’

तराई मधेसमा हुने अशान्ति र द्वन्द्वले आफ्नो देशलाई फाइदा नपुग्ने निश्कर्षमा भारतीय साउथ ब्लक पुगेको र राउतलाई कारवाही गर्न उसले नेपाल सरकारलाई दबाव दिएको स्रोतको दाबी छ ।

राउतलाई पक्राउ नगरिए भारतबाटै उनीमाथि खतरा देखेर सरकारले थुनामा राखेको तर्कसमेत गर्न थालिएको छ । स्रोत भन्छ- ‘भारतको स्वार्थविपरीत कार्य गर्नेहरुविरुद्ध तराईमा सीमा पारिबाट आएर गोली प्रहार हुने गरेको छ । सिके राउतमाथि पनि सुरक्षा चुनौती देखिएको अवस्थामा उनी पक्राउ परेका हुन् ।’

राज्यद्रोहको अपराधमा राउतलाई कारवाही गर्दा विदेशी शक्तिले आपत्ति जनाउलान् कि भनेर डराइरहेको नेपाल सरकार पारिबाट संकेत पाउनासाथ कारवाहीमा उत्रिएको स्रोतले बतायो । राउतको गिरफ्तारीले उनको जीउज्यानको समेत सुरक्षा भएको सूत्रहरुको दाबी छ ।

राउतलाई ‘सेटब्याक’

सप्तरी घर भएका डा. राउतले मधेसलाई बेग्लै देश बनाउनुपर्ने अभियान चलाइरहेका थिए । उनलाई भारतको समेत साथ रहेको हुन सक्ने धेरैले अनुमान गर्दै आएका थिए । कतिपय विश्लेषकहरुले चाहिँ राउत भारतबाट नभएर पश्चिमा शक्तिबाट परिचालित भएको बताउँदै आएका छन् ।

बेलायतमा पढेर अमेरिकाको नासामा काम गर्दागर्दै नेपाल फर्केर विखण्डनको अभियान चलाइरहेका राउतलाई ‘पश्चिमाहरुको फुटाउ र शासन गर’ भन्ने नीतिका अभियन्ताका रुपमा धेरैले विश्लेषण गर्दै आएका छन् ।

राउतले मधेसलाई बेग्लै देश बनाउने नारा लगाए पनि यस्तो अतिवादी नाराको विरोध मधेसका मध्यमार्गी दलहरुले नै गरिरहेको अवस्था छ । यो स्थितिमा नेपालको मधेसमा विखण्डनवादको बिऊ रोप्दा त्यसको नकारात्मक असर भारतमा पनि पर्न सक्ने भन्दै साउथ ब्लकले मधेसमा अतिवादीको साटो मध्यमार्गी मधेसी दलहरुलाई नै साथ दिने नीति लिएको सूत्रहरुको दाबी छ ।

छिमेकी भारतले सिके राउतको गतिविधिप्रति अहिलेसम्म खासै चासो दिएको थिएन । तर, जब उसले राउतको विखण्डनको अभियानलाई आफ्नो देशको सुरक्षामा पर्न सक्ने खतराका रुपमा बुझ्न थाल्यो, यसले राउतको अभियानलाई ‘सेटब्याक’ को स्थितिमा पुर्‍याएको विश्लेषण हुन थालेको छ ।

भारतले साथ नदिएपछि मधेसमा सिके राउतको अभियान सफल पार्ने सम्भावना लगभग समाप्त हुनेछ । भारतसँग ‘रोटी र बेटी’ को सम्वन्ध जोडिएको तराई मधेसमा भारतविरोधी आन्दोलन सिके राउतबाट सञ्चालन हुन सम्भव देखिँदैन । त्यस्तो आन्दोलन चले पनि धेरैसमय टिक्न र सफल हुन सक्दैन ।

राउतले मधेसमा बसेर भारतविरुद्ध कुनै पनि गतिविधि गर्न सक्ने अनुमान गर्न सकिँदैन । राउतलाई कारवाही गर्न भारतले दिएको दबाव एक प्रकारले भन्ने हो भने तराईमा हुर्कन लागेको विखण्डनवादका लागि निकै ठूलो धक्का हो ।

भारतले पछिल्लो समयमा नेपालसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको छ । नेपालमा भारतविरोधी भावना नबढोस् भन्ने उसको चाहना देखिन्छ । उसले प्रदेश २ मा सत्ता चलाइरहेको मधेसवादी दल र केन्द्रमा नेकपासँग सम्बन्ध सुधार्न खोजिरहेको छ । यो स्थितिमा भारतले मधेसमा कुनै पनि प्रकारको अतिवादी प्रवृत्तिलाई बढ्न नदिन सतर्कता अपनाउनु अस्वाभाविक देखिँदैन ।

विगतमा जयकृष्ण गोइत र ज्वाला सिंहलगायतले पनि मधेसलाई बेग्लै राष्ट्र बताउनुपर्ने बताउँदै आएका थिए । उनीहरुले मधेसमा हिंसात्मक गतिविधि गरेर सीमा पारि शरण लिने गरेका थिए । उनीहरुले भारतप्रति नरम नीति अपनाउँदै आएका थिए ।

अहिले सिके राउतलाई पश्चिमा शक्तिसँग निकट भनिए पनि उनले भारतको विरोध गर्ने गरेका छैनन् । उनी प्रायः भारतमा शरण लिन जाने गरेका छैनन् । नेपालमै रहँदा पनि सशस्त्र गतिविधि नगरेका कारण राउतलाई ज्वाला सिंहलाई जति सुरक्षा चुनौती थिएन । उनले स्वदेशमै बसेर खुल्लारुपमा विखण्डनको गतिविधि गर्दै आएका बेला भारतले चासो दिएको हो ।

यसैवीच रौतहटको गौरमा पूर्पक्षका लागि थुनामा राखिएका राउत ३० दिन कटाएर रिहा हुन सक्ने उनका समर्थकहरुको अनुमान छ । राउत गिरफ्तार परेको २४ दिन पुगेको छ । आगामी साता उनी गौरबाट छुटे भने पनि अर्को जिल्लाबाट पक्राउ गर्ने र थुनामा राख्ने प्रहरीको तयारी रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment