Comments Add Comment

बसन्तपुरमा देखाइयो विश्वकप क्रिकेटको ट्रफी (फोटो फिचर)

१२ कात्तिक, काठमाडौं । सोमबार बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शनसँगै विश्वकप क्रिकेट ट्रफीको नेपाल टुर सकिएको छ ।

शुक्रबार नेपाल ल्याइएको ट्रफी स्वयम्भू, पोखरा, चन्द्रागिरी हुँदै सर्वसाधारणका लागि बसन्तपुर दरबार क्षेत्रमा राखिएको थियो ।

‘नेपालले जितेपछि हेर्ने भनेको अहिल्यै पाइयो, फोटो पनि खिचे । अब विश्वकपको बेला फोटो देखाउन पर्छ’ ट्रफीसँग सेल्फी खिचेपछि बनेपाका विकल श्रेष्ठले हाँस्दै सुनाए । ट्रफी हेर्नै भनेर आएका मात्र होइन, बसन्तपुर दरबार क्षेत्र भ्रमणमा आएकाहरुले लाइन बसेर नै ट्रफीसँग फोटो खिचे ।

ट्रफी प्रदर्शनी हुन्छ भन्ने थाहा पाएर आएका केहीको उत्साह भने बेजोडको थियो । लामो प्रतीक्षापछि नजिकै पुगेका उनीहरु फोटो खिचेर बाहिरिने वित्तिकै कस्तो आएछ भनेर हेरिहाल्थे । टेलिभिजनमा देखेको विश्वकपको ट्रफीसँगै सेल्फी खिच्न पाउँदा उनीहरु उत्साहित देखिन्थे ।

‘अहो ! सही हो सही । ओरिजिनल रहेछ’ लामो लाइनपछि ट्रफी नजिक पुगेका काठमाडौं जोरपाटीका निशान खड्का खुसीले के गरौं कसो गरौं भए । नजिकै रहेका साथीलाई मोबाइल दिएर फोटो खिचाए ।

उनको धित मरेको थिएन तर, पालो सकियो । ‘ल भयो भयो । जाउ जाउ’ प्रहरीले फोटो खिच्नेबित्तिकै उनलाई पठाइहाले ।

दिउँसो १ बजेदेखि ५ बजेसम्म मानिसहरु उत्सुकताका साथ ट्रफी नियालिरहेका थिए । ट्रफी यात्राबारे थाहा पाएर आउने भन्दा बसन्तपुर क्षेत्रको भ्रमणमा रहेकाको उत्सुकताले प्रदर्शनी विशेष बनेको थियो ।

धेरैजसो त भिड देखेर के रहेछ भन्ने बुझ्न आइरहेका थिए ।

‘के गरेको हो यहाँ ?’

‘फिल्म सुटिङ रहेछ !’

‘जितेर ल्याएको हो ?’

‘होइन देखाउन ल्याएको ।’

भीडमै प्रश्न र उत्तर चलिरहेको थियो । कतिले बुझेर ट्रफी हेर्न खोजिरहेका थिए, कतिले फुर्सदको भ्रमण भिड हेरेरै बिताइरहेका थिए । विदेशी पर्यटकदेखि बुढापाकाले पनि भिड देखेपछि चाख लिए । कोही कुरो बुझेर फर्किए, कोही ट्रफी नजिकै पुगेपछि ए यस्तो पो देखाएको रहेछ भन्दै हिँडे ।

बसन्तपुर घुम्न आएका चितवनका विवश पोखरेललाई भने फुटबल विश्वकपको जस्तो राम्रो लागेन अरे क्रिकेट विश्वकपको ट्रफी । ‘खासै राम्रो लागेन । फुटबलको जस्तो दामी हुन्न रै’छ क्रिकेटको ट्रफी’ उनले सुनाए ।

‘हामीलाई देखाउन ल्याएको रे पुलिस र स्वयंसेवकले छेकेर केही देखिएन । नजिकै पुगेर मात्रै हेर्नुपर्ने । खुला छोडिदिएको भए त टाढैबाट देखिन्थ्यो नि’ महोत्तरीका राजेश महतोलाई भने प्रदर्शनीको तरिका चित्त बुझेन ।

पोखरा प्रिमियर लिग -पीपीएल) क्रिकेट भइरहेको मैदानमा विश्वकप ट्रफी प्रदर्शनी भएपछि नेपालमा ट्रफी ल्याएको थाहा भएको उनले सुनाए । यसैले ट्रफी हेर्न भनेरै उनी बसन्तपुर आएका थिए ।

‘भारतले जितेको बेला पनि हेर्न पाएको थिइनँ, नेपालमा आउँदा हेर्न पाइयो । फोटो पनि खिच्न पाइयो’ भारतबाट बसन्तपुर घुम्न आएका सुशील राय विश्वकप ट्रफी सुटकेसबाट निकालेदेखि नै असाध्यै खुसी देखिएका थिए । धेरैबेरसम्म ट्रफी हेरिरहेका उनलाई सँगै घुम्न आएका साथीले ढिला हुन्छ भनेर कर गरेरै फर्काए ।

विश्वकप क्रिकेटसँग विश्वव्यापी रुपमा मानिसहरुलाई जोड्ने उद्देश्यले विश्वकप सहभागी नहुने देशमा पनि यसपटक आईसीसीले ट्रफी टुर गरिरहेको हो । बसन्तपुर क्षेत्रमा मानिसहरुमा देखिएको उत्साह र जान्ने चाहनाले आईसीसीको उद्देश्य केही हदसम्म पूरा भएको पनि देखियो ।

‘क्रिकेटको प्रमोसनसँगै नेपाललाई बाहिर चिनाउन पनि यो ट्रफी टुरले नेपाललाई फाइदा भएको छ । यो पटक ऐतिहासिक र पर्यटकीय क्षेत्रमा टुर भयो । अर्कोपटक यस्तै मौकामा सगरमाथा बेसक्याम्पसम्म लान सकिन्छ भन्ने सोचेका छौं’ आईसीसी नेपाल प्रतिनिधि भावना घिमिरेले ट्रफी टुरबारे सुनाइन् ।

‘अरु दिन त सर्वसाधरणले यति नजिकबाट हेर्न, फोटो खिच्न पाएका थिएनन् । आज अन्तिम दिन निकै राम्रो रेस्पोन्स आइरहेको छ । खेलाडीहरु, ˆयानहरु सबै एक्साइटेड देखिनुभयो’ उनले भनिन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को दुबईमा रहेको मुख्यालयबाट २७ अगस्टमा सुरु भएको ट्रफी टुर शुक्रबार नेपाल ल्याइएको हो ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियो । नेपालबाट ट्रफी दुबई लगिने र त्यहाँबाट भारतमा आउने आईसीसीले जनाएको छ ।

ट्रफी पाँच महादेशका २१ देशमा ६० भन्दा धेरै शहर पुग्ने छ । निशान कम्पनीको सहायताले प्रदर्शन गरिएको विश्वकप क्रिकेटको ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । ट्रफी भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इंग्ल्यान्ड लगिनेछ, जहाँ १४ जुलाई २०१९ मा विश्वकप विजेताले ट्रफी उचाल्नेछन् ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment