Comments Add Comment

जुलेन लोपेटेगीः हतारको निर्णय, फुर्सदको पछुतो !

१३ कात्तिक, काठमाडौं । रुस विश्वकपमा स्पेनको नेतृत्व गर्ने अवसरलाई त्यागेर रियल मड्रिड आएका प्रशिक्षक जुलेन लोपेटेगीको दिमागमा अहिले के चलिरहेको होला ? गएको पाँच महिनामा केके गरेँ भनेर टाउकोमा हात राखिरहेका होलान् ?

अथवा रसिया विश्वकपको दुई दिन अघिसम्म स्पेनिस टिम सम्हालिरहेका उदाहरणीय लोपेटेगी र अहिले रियल मड्रिडबाट बर्खास्त भएका लोपेटेगीमा केही समानता होला ?

विश्वकपको पूर्वसंध्यामा रियल मड्रिड लागेका ५२ वर्षका लोपेटेगी पाँच महिनामा दुई ठूलो मौकाबाट बर्खास्त भए, स्पेन राष्ट्रिय टिम र रियल मड्रिड ।

केहीका लागि यो ‘मात्रै रियल मड्रिड’ हुनसक्छ तर, लोपेटेगीको लागि त्यस्तो होइन । किनकी न उनी रियल मड्रिड आउनु सामान्य थियो न बाहिरिनु सामान्य रहृयो ।

सान्टिएगो बेर्नाबाउ आउने बेला रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले चाहेजसरी नै लोपेटेगीलाई ल्याए । पेरेज र लोपेटेगीले केही हप्ताको प्रतीक्षा गर्न सकेको भए स्पेनले रुस विश्वकपमा फरक नतिजा निकाल्न सक्थ्यो । तर, त्यसको वास्ता न त पेरेजलाई भयो न त लोपेटेगीले नै सोचे । रियल मड्रिड मा प्रशिक्षक जिनेदिने जिदानले पाएको सफलताले उनी लोभिएका थिए ।

त्यसैले स्पेनको प्रशिक्षकबाट बर्खास्त हुँदा पनि मड्रिड आउँदा पाउँदा उनी निकै खुसी थिए र मड्रिडको प्रशिक्षक बन्न पाउनु अविश्वनीय भएको बताएका थिए ।

तर, अहिले उनले आˆनो जीवनमै लिएको सबैभन्दा ‘खराब’ निर्णय त्यही बनिदियो ।

विश्वकप छनोटमा स्पेनिस टिमले जस्तो नतिजा निकालिरहेको थियो, त्यसले उनीहरु विशेष देखिएका थिए । लोपेटेगीका लागि त्यही खेलाडीको भरमा स्पेनिस फुटबलमा नाम लेखाउने अवसर पनि थियो । विश्वकप फाइनलमा नै नपुगे पनि क्वार्टरफाइनल र सेमिफाइनसम्म पुग्दा मात्र लोपेटेगीको शैली विश्व फुटबलले नियाल्ने थियो, जुन उनले मड्रिडमा आएर देखाउन सकेनन् ।

त्यसो गर्न सकेको भए उनका लागि रियल मड्रिडको अवसर त फेरि पनि आउने नै थियो । उपाधि जितिरहेका बेला जिदानले किन मड्रिड छाडे भन्ने लोपेटेगीले सोच्न सक्नुपथ्र्यो । इन्डिपेनडेन्डका प्रमुख फुटबल लेखक मिगेल डेलानी जिदानले मड्रिड छाड्नुमा उनमा गजबको भविश्य चेत रहेको बताउँछन् ।

‘रियल मड्रिडको स्क्वार्डमा फेरबदल गर्नुपर्ने समय जिदानले बुझेका थिए । उनले चाहेको तरिकामा मड्रिड अध्यक्ष पेरेज तयार नहुने बुझेर नै उनले सहि समयमा क्लब छाडेका थिए । जुन लोपेटेगीले बुझ्न सकेनन्’ डेलानी भन्छन् ।

लोपेटेगी र पेरेजले स्पेनको विश्वकप मात्र होइन, रियल मड्रिडको सिजनको एक भाग पनि ध्वस्त पारिदिए । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको स्थानमा कसैलाई ल्याइहाल्न तयार नहुने पेरेज र लोपेटेगीको निर्देशनमा गइहाल्न पनि तयार नहुने पेरेजकै बलमा मड्रिडका खेलाडीमा पनि दम्भ देखियो ।

यो सिजन च्याम्पियन्स लिग र ला लिगामा नै पनि मड्रिड को खेल नियाल्ने हो भने नमिलेका कुरा निकै थोरै हुन् । हरेक हारेका खेलमा पनि उनीहरुले बनाएको गोलका अवसर उत्कृष्ट छन् । गएको महिनादेखि रियल मड्रिडमा प्रमुख गोलकर्ता डिफेन्डर मार्सेलो हुनुले पनि कमी केमा थियो भन्ने बुझ्न सकिन्छ ।

यसअर्थमा लोपेटेगीलाई आफूले बनाइदिएको बाटोमा हिडाउनेभन्दा आफैं बाटो बनाउने अवसर दिनु आवश्यक थियो । हुन त बेकारमा हौसिएका लोपेटेगीले पनि खेलाडीको अवस्था र क्लबको योजना नबुझी सबै गर्न सक्ने ठूला कुरा सुरुदेखि नै गरे ।

अहिले लोपेटेगीलाई बर्खास्त गरेपछि चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेलाई ल्याउन लाग्दा उनले रियल मड्रिडसमक्ष राखेको प्रस्तावबाट लोपेटेगीले केही बुझे नै होलान् ।

कोन्टेले डिफेन्स र अट्याकमा आफूले तीन नयाँ खेलाडी क्लब ल्याउने प्रस्ताव पेरेजसँग राखेका छन् । तर, यो प्रस्तावले उनको बेर्नाबाउ इन्ट्री नै रोकिने खतरा छ ।

यही कुरा लोपेटेगीले पनि बुझ्न आवश्यक रहेको इएसपीएनका फुटबल लेखक गाबि्रयल मार्कोटी भन्छन् । ‘खेलाडीको स्तर र पछिल्लो केही समयदेखि आइरहेको नतिजाबीच ठूलो विषमता देखियो । बालोन डि’ओरको नोमिनेसनमा परेका आठ खेलाडी भएको क्लबमा यस्तो नतिजा स्वीकार्य हुँदैन’ लोपेटेगीलाई बर्खास्त गर्दै रियल मड्रिडले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

मड्रिडले अरु कुनै पनि कुरालाई विचार नगरी सबै दोष प्रशिक्षकलाई दिए पनि लोपेटेगीले सबैलाई धन्यबाद भन्दै बिदा भए ।

‘रियल मड्रिड सञ्चालन बोर्डको निर्णणपछि म सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई दिएको अवसरका लागि रियल मड्रिडलाई पनि धन्यवाद । खेलाडीहरुले गरेको प्रयासका लागि उनीहरुलाई पनि धन्यवाद’ उनले भनेका छन् ।

रियल मड्रिड त्यस्तो क्लब हो, जसले जस्तोसकुै अवस्थाबाट पनि बाहिर निस्किएर आफ्नो प्रभाव देखाउने नै छ ।

विश्वस्तरका जुनसुकै प्रशिक्षक र खेलाडी ल्याउने खुबी भएको मड्रिडलाई यसले धेरै समय अप्ठ्यारो नपार्ला तर, यसबाट माथि आउन अप्ठ्यारो छ त उनै लोपेटेगीलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment