Comments Add Comment

चामलको माडले अनुहारलाई यसरी चम्किलो र मुलायम बनाउँछ

अहिले अनुहार चम्किलो बनाउन, नरम बनाउन वा समग्र अनुहारको सौन्दर्यमा निखार ल्याउनका लागि धेरै मेहनत गर्नुपर्दैन । बजारमा भनेजति सौन्दर्य प्रशाधन छन् । अनुहारमा लगाउने थरीथरीका क्रिम छन्, जो सौन्दर्य बढाउनका लागि प्रयोग गरिन्छ ।

तर, यस्ता क्रिममा रसायनको मिश्रण हुन्छ । यसले प्राकृतिक सौन्दर्यलाई भने नष्ट गर्छ र अनुहारमा कृतिम सुन्दरता दिन्छ । साथसाथै यस्ता प्रसाधनले दीर्घकालिन रुपमा वेफाइदा पनि गर्छ । त्यसैले त अहिले प्राकृतिक रुपमै कसरी सौन्दर्य कायम राख्ने भन्ने कुरामा बढी सर्तक हुन थालिएको छ । अतः प्राकृतिक सौन्दर्य खोज्नेहरुका लागि एउटा राम्रो विकल्प हुनसक्छ, चामलको माड ।

कसरी अनुहार चम्काउँछ माडले ?

चामलको माडबाट अनुहार चम्काउन सकिन्छ । अनुहारलाई मुलायम बनाउन सकिन्छ । किनभने यसले छालालाई स्वास्थ्य र आकर्षक राख्न सहयोग गर्छ ।

विशेषगरी चामलको माडले छाला कसिलो बनाउनुका साथै छालाको रोमक्षिद्रलाई कसिलो गर्छ ।

जापानी युवतीहरुले आफ्नो छाला तथा कपाल चम्काउनका लागि वर्षौदेखि यो विधि अपनाउने गरेका छन् । यसमा लवण, विटामिन तथा एन्टी अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ, जसले छालालाई नरम बनाउँछ । यसलाई क्लिञ्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

कपालको लागि फाइदाजनक

चामलको माड अनुहारको लागि फाइदाजनक त छ नै, कपालको लागि पनि राम्रो छ ।  पातलो तथा रुखो कपालको लागि यो कुनै अमृत भन्दा कमी छैन । चामलको माडलाई कपालमा लगाएर करिब २० मिनेट राखेपछि त्यसलाई स्याम्पू तथा कन्डिसनरले धुनुपर्छ । यसले कपाल सुन्दर हुनुका साथै चम्किलो हुने गर्छ ।

प्राकृतिक क्लिञ्जर

चामलको पानीमा प्रोटिन, भिटामिन तथा एन्टी अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । जसको प्रयोगले छाला नरम हुन्छ । यसको प्रयोगले छालाको रङ चम्कनुका साथै अनुहारका दाग-धव्वा तथा चाउरीपना कम हुन्छ ।यसबाहेक पनि उक्त माडको प्रयोगले छाला टाइट हुन्छ ।

सन क्रिमको काम गर्छ

चामलमा ओरिजेनोल नामक तत्व पाइन्छ, जसले छालालाई सुर्यको विकिरणबाट सुरक्षा प्रदान गर्नमा सहायता प्रदान गर्छ । गर्मीबाट बच्न तथा शरीररलाई ठन्डा राख्न पनि चामलको पानी (माड) पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

कोशिका बढाउँछ

चामलको पानी छालाको लागि निकै फाइदाजनक मानिन्छ । यसको प्रयोगले छालामा विभिन्न फाइदा पुग्छ । यसले छालाको कोशिकाको विकासद्धारा छाला टाइट गरी चाउरी पर्नबाट जोगाउँछ । त्यतिमात्र यो पानीले मुख मात्र धोएमा पनि निकै फाइदा हुन्छ ।

एन्टी एजिङ एजेन्ट

उमेर बढ्दै जाँदा छाला चाउरी पर्न थाल्छ । यसलाई कम गर्न चामलको माडले अनुहारमा मसाज गर्नु पर्छ । यसमा पाइने एन्टी अक्सिडेन्ट तत्वले अनुहारको चाउरीपनालाई जडैबाट हटाउन सहायता प्रदान गर्छ ।

यसरी गर्ने प्रयोग

एक कप चामललाई राम्ररी सफा गरेर केहीबेर पानीमा भिजाउनु पर्छ । आधा घण्टा पश्चात्त जब चामलमा रहेको पौष्टिक तत्व पानीमा घुल्न थाल्छ, तब चामल राखेको भाडालाई ग्यासमा राखेर चामललाई पाक्न दिनु पर्छ । चामल पाकेपछि त्यसमा रहेको पानी(माड)लाई निकालेर चिसो हुनका लागि छोड्नु पर्छ । अब यो पानीले अनुहारमा हल्का हातले मसाज गर्नुपर्छ ।

बेसन वा चामलको पिठो मिसाएर पनि उक्त पानी प्रयोग गर्न सकिन्छ । यसबाहेक, यसलाई कपालमा पनि प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment