Comments Add Comment

नयाँ शक्तिको विश्लेषणः प्रधानमन्त्री ओली फुर्के तर दम्भी

१४ कात्तिक, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आफ्नो राजनीतिक प्रतिवेदनमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुर्के, गफाडी र दम्भी भन्दै आलोचना गरेको छ ।

बुधबारदेखि राजधानीमा सुरु भएको संघीय वैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारको मात्र होइन, प्रधानमन्त्री ओलीको व्यक्तिगत आलोचनासमेत गरिएको छ । ‘ओलीको स्वभाव नै फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी देखिएको छ । अनेक बिङ्गा र उखान टुक्का भनेर जनतालाई भ्रमित गर्न सक्नुनै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट उनी ग्रसित देखिन्छन्’ डा. भट्टराईको प्रतिवेदनमा भनिएको छ ।

‘घरघरमा ग्यास पाइप पुर्‍याउने योजना उनी दुई चार घरको गोवर ग्यास उद्घाटन गरेर तुष्टिकरण गर्दैछन् । केरुङ-काठमाडौं-लुम्बिनी रेलवेको बचन उनी फेसबुकमा जयनगर जनकपुर रेलवेको फोटो पोष्ट गरेर भुलाउन खोज्दैछन् ।’

प्रतिवेदनमा भनिएको छ, ‘पुषदेखि हनुमानगरबाट चल्ने पानीजहाजको टिकट शायद प्रधानमन्त्रीकै सपनामा बुकिङ हुँदैछ ।’
यसले नेकपा अर्धपतनको संघारमा उभिएको र यो पार्टी तथा सरकारबाट नेपालको अग्रगामी रुपान्तरण सम्भव नभएको नयाँ शक्तिको ठहर छ ।

सरकार पतनको बाटोमा

नयाँ शक्ति पार्टीले ओली नेतृत्वको सरकार पतनको बाटोमा उद्धत रहेकोसमेत दाबी गरेको छ । एकल बहुमत प्राप्त सरकारप्रति जनताले केही आश गरेको भए पनि आफूहरुलाई यो भित्रभित्रै कुहिएको फर्सी, बाहिरबाट सग्लो देखिएका मात्र हुन् भन्ने त्यसबेला नै थाहा रहेको उसले बताएको छ ।

‘नेकपा सरकार जनअपेक्षा अनुरुप कार्य गर्न असफल भएको मात्र होइन, उल्टो आफै अकर्मन्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘दुई तिहाईको दम्भमा भएको अवान्छित प्रयत्नहरु बारम्बार असफल भएपछि सरकार आफ्नै कार्यकर्ताबाट आलोचित हुन थालेको छ ।’

नेकपामा स्वार्थ समूहहरुको टक्कर नाङ्गो हुँदै गएको र सत्ता स्वार्थका लागि जे पनि गर्न सक्ने राजनीतिक दलालको रुपमा प्रस्तुत हुन थालेको नयाँशक्ति पार्टीको विश्लेषण छ । उसले भनेको छ, लोकतन्त्रको समान्य मूल्यमान्यता र मर्यादालाई समेत ख्याल नगरी नेकपा सरकार पतनको बाटो उद्धत भएको छ ।’

नयाँ शक्ति पार्टीले सरकार कूटनीतिक सन्तुलन कायम गर्न असफल भएको दाबी पनि गरेको छ । विमिस्टेकलाई सार्कको समानान्तर प्रतित हुने गरी प्रस्तुत गर्नु, विमिस्टेक सैन्य अभ्यास, थप हवाई रुट लगायतका कारण सरकार असफल भएको उसको दाबी छ । चीनसँग भएका सम्झौता कार्यान्वयनमा ल्याउन सक्ने गरी गृहकार्य पनि नभएको नयाँ शक्तिको ठहर छ ।

कांग्रेसले प्रमुख प्रतिपक्षको धर्म निर्वाह गर्न नसकेको नयाँ शक्ति पार्टीले ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment