Comments Add Comment

गणित बोझ कि आवश्यकता ? किन धेरै विद्यार्थी फेल हुन्छन् ?

माध्यमिक तहको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यसै वर्षदेखि लागू गर्ने तयारीमा रहेको सरकार चौतर्फी विरोध र आलोचना भएपछि पछि सरेको छ । यस वर्ष परीक्षणका रुपमा लागू गरी आगामी शैक्षिक सत्रबाट पूर्णरुपमा लागू गर्ने निर्णयमा सरकार पुगेको छ ।

तर, यस वर्ष कक्षा ११ को नयाँ पाठ्यक्रम कहाँ लागू गरिएको छ ? यसको जानकारी पाउन सकिएको छैन । नयाँ पाठ्यक्रमको विरोध गर्नेहरुले आ-आफ्नै किसिमले गरे होलान् तर यसमा गणित विषयलाई अनिवार्य नगरी इच्छाधीन गरिएकोमा यसका सरोकारवालाहरुबाट भएको विरोधले सबैको ध्यान तानेकै छ ।

पहिला पाठ्यक्रमको प्रारुप विज्ञान अन्तर्गत जीव विज्ञान समूहका विद्यार्थीहरुले समेत गणित पढ्न नपाउने गरी बाहिर ल्याइएको थियो । यस्तो प्रावधानले विद्यार्थीहरुको भविश्य बर्बाद गर्ने भन्दै विरोध भएपछि पाठ्यक्रम विकास केन्द्रले यसलाई सच्याइएको बताउँदैछ ।

तर, पाठ्यक्रम प्रारुपको अन्तिम रुप अहिलेसम्म सार्वजनिक भएको छैन । गणित सम्बन्धी यही बहसमा केन्दि्रत रही यहाँ केही चर्चा गरिएको छ ।

गणित कतिलाई आवश्यक कतिलाई अनावश्यक ?

शिक्षा मन्त्रीले कक्षा ११ र १२ मा अनिवार्य गणित हटाउनुको कारण दिँदै भनेका छन् ३० हजारलाई चाहिने गणित हटाएर ३ लाखको बोझ हटाएका छौं । यो तर्क आफैंमा हास्याप्रद छ । ०७४ सालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै तथ्याङ्कलाई हेर्ने हो भने उच्च शिक्षामा गणित आवश्यक हुने विषयहरु विज्ञान, इञ्जिनियरिङका विद्यार्थीहरुको संख्या नै ५२ हजार ५ सय ५६ रहेको छ ।

यी विषयहरुका अलवा व्यवस्थापन, कृषि, फोरेष्ट्री मेडिसिन आदिलाई पनि गणितको आवश्यकता पर्छ, यी विषयहरु पढ्नेको संख्या जोड्ने हो भने २ लाख २५ हजार ६ सय १५ हुन आउँछ । यो उच्च शिक्षामा भर्ना हुने कुल विद्यार्थींको ६३ प्रतिशत हाराहारी हो ।

गणित नचाहिने भनिएको मानविकी, शिक्षा शास्त्र संकायमा जम्मा १ लाख २८ हजार ४ सय ४८ विद्यार्थीहरु भर्ना भएका देखिन्छन् । यी संकायअन्तर्गतका विषयहरुमा पनि गणित आफंै छ । त्यस अलवा अर्थशास्त्र, जनसंख्या अध्ययन जस्ता विषयहरुमा पनि गणित आवश्यक पर्छ । अरु गणित नचाहिने भनिएका विषयहरुमा पनि अनुसन्धानमा गणितीय ज्ञान आवश्यक पर्छ । अर्थशास्त्र, जनसंख्या जस्ता विषयहरुमा मात्र विद्यार्थीको संख्या जोड्ने हो भने यो प्रतिशत ७० को हाराहारीमा पुग्छ ।

पाठ्यक्रम आजलाई मात्र हेरेर बनाउने हैन, कम्तिमा पनि यसले आउँदो १०/१५ वर्षको जनशक्तिको आवश्यकता, विश्वव्यापी नवीन विषयहरुको प्रवाह आदिलाई ध्यान दिन जरुरी छ । विगतमा अत्यधीक विद्यार्थीहरु भर्ना हुने गरेको मानविकी संकायमा अत्यन्तै न्यून विद्यार्थीहरु भर्ना हुन थालेका छन् ।

शिक्षाशास्त्रमा पनि विद्यार्थीहरुको भर्ना दर पछिल्ला वर्षहरुमा कम हुदै गइरहेको छ । यी संकायहरुले पनि बीसीए, बीआइटी लगायत नयाँ नयाँ विषयहरु भित्र्याइरहेका छन्, जहाँ गणित अनिवार्य छ ।

यस तथ्याङ्कलाई हेर्ने हो भने लगभग ८० प्रतिशत विद्यार्थीहरुलाई गणित आवश्यक हुने देखिन्छ । अब मन्त्रीज्यूले भनजस्तै ३० हजारलाई चाहिने गणित हटाएर ३ लाखको बोझ कम गरियो कि ३ लाखलाई चाहिने गणित हटाएर ३० हजारका लागि मात्र गरियो ?

गणितमा धेरै फेल किन ? यसको समाधान के हो ?

गणित हटाउनुको अर्को कारण गणितमा एसईई परीक्षामा अधीक विद्यार्थींहरु अनुर्त्तीण हुनु बताइएको छ । गणितमा विद्यार्थीहरु फेल हुनुमा विषय दोषी हुँदैन । हामीले गणितमा किन विद्यार्थीहरु फेल भए पनि त्यसको कारण पत्ता लगाई निराकरण गर्न लाग्नुपर्छ ।

विषयवस्तु मूल्याङ्कन, शिक्षण सिकाई क्रियाकलाप आदिमा भएका कमजोरीहरु हटाई नतिजा सुधार्नेतिर लाग्नुको सट्टा हामी विषय नै हटाउनेतिर लाग्दै छौं यो भनेको गरिब मारेर गरीवको संख्या घटाउँछु भन्नुजस्तै हो ।

गणितमा उर्तीण दर बढाउन पनि कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य गरिनुपर्दछ । यो तर्क सुन्दा अचम्म लाग्न सक्छ । तर, यसका पछाडि पुष्टि पनि छ । अहिलेको पाठ्यक्रम अनुसार कक्षा ९ र १० मा गणितीय विषयवस्तुहरु अधीक राखिएको छ । यो समस्या तल्ला कक्षाहरु पनि त्यतिकै छ ।

वालमनोविज्ञानलाई ख्यालै नगरिकन आवश्यक छ भन्ने नाममा अधीक विषयवस्तुहरु थोर्पनाले पनि विद्यार्थीहरुले जसरी रमाई रमाई गणित पढ्नुपर्ने हो, त्यसरी पढ्न पाएका छैनन् ।

एउटा अभ्यासका समस्याहरुमा उचित धारणा नबनाई नै नयाँ अभ्यास सुरु गर्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरुले गणितीय ज्ञानलाई स्थायीरुपमा आत्मासाथ गर्न सकेका छैनन् । यो समस्याको हल गर्न पनि कक्षा ११ र १२ मा अनिवार्य गणितको व्यवस्था गरी तल्ला कक्षाहरुका कतिपय पाठ्यसामाग्रीहरु माथिल्ला कक्षाहरुमा समेट्नु पर्छ भने कक्षा ११ र १२ मा उच्च शिक्षामा सवैलाई आवश्यक पर्ने गणितिय ज्ञानहरुलाई पनि समेट्नु पर्दछ । यसले गर्दा विषयवस्तुको बोझ कम हुन्छ र विद्यार्थीहरुलाई अभ्यासका लगानी चाहिने समय पर्याप्त हुन्छ ।

एसईई लगायतका परीक्षामा गणितमा बढी विद्यार्थीहरु अनुत्तीर्ण हुनुमा अर्को कारण हाम्रो मूल्याङ्कन पद्दति पनि हो । गणित बाहेक अरु सवै विषयहरुमा प्रयोगात्मक कक्षाको व्यवस्था गरिएको छ । त्यसैले ती विषयहरुको उत्तीर्ण दर बढी देखिन्छ ।

गणितमा प्रयोगात्मक कक्षा नै छैन । गणितमा प्रयोगात्मक कक्षाको व्यवस्था गर्ने हो भने यसले विद्यार्थीमा भएको ज्ञानलाई सवलीकरण गर्न मद्दत पुग्छ, जसले गर्दा उत्तीर्ण दर बढ्छ ।

अर्को समस्या, प्रश्न पत्र निर्माणमा पनि देखिएको छ । विद्यार्थीहरुले कहिले नदेखेका, विषय शिक्षकले नै धरैबेर धोत्लिनुपर्नेखालका समस्याहरु पनि परीक्षामा सोधिने गरिएको छ, जसले विद्यार्थीहरुलाई गणित गाह्रो बनाई रहेको छ । विद्यार्थीको सिर्जनशीलता त मापन गर्नुपर्छ । तर, यसको नाममा सोधिने यस्ता प्रश्नहरुले विद्यार्थीहरुलाई गणित विषय हाउगुजी बनाएको छ ।

प्रभावकारी शिक्षण सिकाईको प्रमुख तत्व शिक्षक हो । विषय वस्तुको उचित ज्ञानसहितका तालिम प्राप्त शिक्षकहरु विभिन्न कारणले गर्दा पर्याप्त रुपमा विद्यालयमा खटाउन सकिएको छैन, जसका कारण पनि अनुत्तीर्ण दर बढी छ । गणितको नतिजा सुधार्न यी र यस्तै अन्य कारणहरुको उचित निरकरण नगरी सरकार पास प्रतिशत बढाउने नाममा गणित विषयलाई विद्यालय तहको पाठ्यक्रम बाटै हटाउन लागिएको छ । शरीरको अंगमा घाउ लाग्यो भनेर निको पार्ने नाउमा शरीरको अंग नै काटेर फाल्न खोजिँदैछ । यसले शरीरबाट घाउ त फालिएला, तर भोलि अंग नभएको शरीरले कसरी काम गर्ने ? यतातिर ध्यान दिन जरुरी छ ।

(अधिकारी त्रिविका उपप्राध्यापक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment