Comments Add Comment

तिहारमा पोखरालाई साढे दुई करोडको फूल चाहिने

१५ कात्तिक, पोखरा । यस वर्षको तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ ।

पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा यी फूलहरु खपत हुने अनुमान गरिएको छ । तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले जनाएको छ ।

फूलका लागि पोखरा आत्मनिर्भर बन्न सकेको छैन । पोखरामा तिहारको ८० प्रतिशत फूलको माग स्थानीय उत्पादनले धान्छ । बाँकी २० प्रतिशत भारतबाट आयात हुने नेपाल फ्लोरिकल्चर एशोसिएशन कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।

उनका अनुसार तिहारमा पुष्प ब्यवसायीले ५० लाख बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड रुपैयाँ भन्दा बढीको बेच्ने गरेका छन् ।

नेपाली फूल केही महंगो हुने भएकाले भारतबाट आयातीत नै बढी प्रयोग गरे भारतबाट फूलको आयात बढ्नसक्ने उनले बताए ।

मालाको १५०, थुङ्गाको ५ रुपैयाँ

यस वर्ष फूलको मालाको मूल्य सरदर एक सय पचास रुपैयाँ पर्ने भएको छ । नेपाली फूलको मालाको मूल्य एक सय पचास रुपैयाँ पर्ने एशोसिएशनका निवर्तमान अध्यक्ष द्वाले बताए । फूलको एउटा थुंङ्गाको मूल्य ५ रुपैयाँ निर्धारण गरिएको उनले बताए । एउटा मालामा नेपाली फूल २८ देखि ३० थुङ्गा उनिने भएकाले त्यसको मालाको मूल्य एक सय ४० देखि १५० रुपैयाँसम्म पर्ने उनको भनाइ छ ।

भारतीय फुलको माला भने ३४ देखि ६० रुपैयाँको हाराहारीमा पर्ने द्वाले बताए । भारतीय फुलको थुङ्गा सानो हुने भएकाले मूल्य सस्तो भएको हो ।

यद्वपी थुंगाको मूल्य ५ रुपैयाँ तोकिए पनि फूल व्यवसायीबाहेक अन्य व्यवसायीले बढी पनि लिन सक्नेछन् ।

नेपाली फूलको माला नै लगाऔं

एशोसिएशनले तिहारमा पोखरामा उत्पादित फूलको माला नै दाजुभाइलाई लगाई दिन आग्रह गरेको छ । एशोसियसनका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले नेपाली सयपत्री फूल हेर्दै आकर्षक र ताजा हुने भएकाले पोखरामै उत्पादन भएको फूलको माला प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘भारतबाट आयातित फूलको थुंगा सानो हुन्छ र माला पनि मसिनो देखिनुका साथै ताजा पनि हुँदैन, तर यहिँ उत्पादन भएको फूल हेर्दै आकर्षक र ताजा हुन्छ, मालाले पनि गला भरिन्छ ।’

भोलिदेखि गोदावरी प्रदर्शनी र व्यापार मेला

हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा पोखरामा भोलिदेखी फूलको मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाको आयोजनामा भोलिदेखि पोखरामा प्रथम गण्डकी प्रदेश स्तरीय तथा चौथो पश्चिमाञ्चल गोदावरी प्रदर्शनी एवम् व्यापार मेला २०७५ हुने भएको हो ।

कात्तिक १९ गतेसम्म सञ्चालन हुने मेला पोखरा सभागृहचोकस्थित पोखरा सभागृह हल प्राङ्गणमा हुने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाले जनाएको छ ।

मेलामा करिब ४ सय ५० प्रजातिका फूलहरु प्रदर्शनीमा राखिने फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । उनका अनुसार मेलामा गोदावरी मुख्य आकर्षणको रुपमा रहनेछ भने तिहारे फूल (सयपत्री), सिजनल फूलहरु, सुनगाभा, विभिन्न वनस्पती, परम्परागत विरुवा, बोन्साईका विरुवा, कट्फ्लावरलगायतका फूलहरुको प्रर्दशनी रहनेछन् ।

मेलामा ३५ वटा स्टल रहने फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाकी अध्यक्ष सीता रानाले जानकारी दिइन् ।

‘पुष्प व्यवसाय प्रवर्द्धनका लागि पुष्प व्यापार मेला’ भन्ने मूल नाराका साथ हुने मेलाको ९० प्रतिशत तयारी पूरा भएको एशोसिएशनले जनाएको छ । मेलाको मूख्य उद्देश्य फूल प्रयोगप्रति सर्वसाधारणलाई आकषिर्त गर्नु, स्वदेशी फूलको प्रयोगमा जोड दिनु र ब्यापार बढाउँदै विदेश निर्यात गर्नसक्ने वातावरण बनाउनु रहेको एशोसिएशनका निवर्तमान अध्यक्ष द्वाले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment