Comments Add Comment

निर्मला ! हामी बाँचेका नारीहरू सन्त्रस्त छौं !

प्रिय बहिनी निर्मला ! पुनः एकपटक भावपूर्ण श्रद्धाञ्जली ! बलात्कारपछि तिम्रो हत्या भएको आज ठीक सय दिन पुगेको छ । तर, आजसम्म तिमीले न्याय पाउन सकिनौ । न्यायका निम्ति तिम्रो आत्मा भडि्करहेको छ ।

तिम्रा बा-आमा रूँदारूँदा सुकेर सिठ्ठो भइसक्नुभयो । सरकार आलटाल गरिरहेको छ । सरकारले कतै नमिता-सुनिता काण्डकै पुनरावृत्ति गराउन खोजेको त होइन ? सर्वत्र शंका चुलिएको छ ।

साउन १० गते घरबाट निस्केकी तिमी भोलिपल्ट ११ गते घर नजिकै उखुबारीमा मृत भेटियौ । घटना सामान्य थिएन । साक्षी कोही नभए पनि बलात्कारपछि तिम्रो हत्या भएको कुरा तत्कालै पुष्टि भयो । को होला बलात्कारी ? को होला हत्यारा ? खोजी हुनु स्वाभाविक थियो । खोजी भयो । ती बलात्कारी हत्याराको खोजी तिम्रा बा-आमाले गर्नुभयो, आफन्तजनले गरे, समाजले गर्‍र्यो र अन्ततः देशले नै गर्‍यो । गरिरहेको छ । तर, अचम्म ! अहिलेसम्म हत्यारा फेला परेको छैन ।

प्यारी बहिनी ! तिमीलाई बलात्कार गर्ने बलात्कारीलाई, तिम्रो हत्या गर्ने हत्यारालाई यो सय दिनमा सरकारले चाहेको भए यो लोक त के कुरा, बाँकी तीनै लोकमा खोजेर भए पनि कार्वाही गर्न सक्थ्यो । तर बहिनी, यो सरकार तिमीलाई बलात्कार गर्ने बलात्कारीलाई सायद लुकाउन चाहान्छ । तिम्रो हत्या गर्ने हत्यारालाई सायद छुपाउन चाहान्छ । यो सरकारको हर्कत देखेर मेरो शीर लज्जाले निहुरिएको छ । बहिनी, यस्तो देशको नागरिक बन्न अभिशप्त यो दिदी, तिमीसँग क्षमा माग्न चाहान्छे । कृपया मलाई क्षमा देऊ ।

तस्वीरहरूमा जब म तिम्रो १३ बर्षे कल्कलाउँदो शरीर देख्छु, निर्दोष अनुहारमा निश्चल मन्द मुस्कान हेर्छुस् तब म पागल हुन्छु । तिम्रा सरहरूले, तिमी असाध्यै अनुशासित, मिलनसार र लगनशील थियौ भन्नुभएको कुरा सम्झन्छु । २ कक्षादेखि एउटै बेन्चमा बस्दै आएकी तिम्री जिक्री जानकीले तिम्रो सम्झनामा बगाएको आँसु सम्झन्छु । जानकीले भक्कानिएर ‘उनी नहुँदा पढ्न मनै लाग्दैन, स्कूल पनि नआउँजस्तो लाग्छ’ भनेको कुरा सम्झन्छु । प्यारी निर्मला ! जब यी कुराहरू एकएक गरी सम्झन्छु, तब म साँच्चै पागल हुन्छु ।

यो पनि पढ्नुहोस निर्मला पन्त हत्याका सय दिनः न्यायको आशा जिवितै

प्यारी बहिनी ! दशैं भर्खरै सकियो । तिम्रो निधारमा रातो टीका र जमरा कति सुहाउँथ्यो होला ह कि ? तिम्रो छुनुमुनुले कति खुशी ल्याउँथ्योहोला घरमा ? कति रमाइलो हुन्थ्योहोला दशैं ? तिम्रा आमा-बा, आफन्त, साथी-सङ्गी कति खुशी हुन्थे होलान् ? सबभन्दा बढी त तिमी झन कति धेरै खुशी हुन्थ्यौ होली ? निर्मला ! आज हेरन, न त घरमा दशैं ? न त रातो टीका ? न त कुनै खुशी र उमंग ? मध्य दिनमा सूर्य अस्ताएजस्तै भएको छ बहिनी तिमी नहुँदा । तिम्रा आमा-बा आँशुमा डुबेका छन् । तिम्रो न्यायको निम्ति अहोरात्र भौंतारिएका छन् । हामी सबै तिम्रो शोकमा कान्तिहीन भएका छौं ।

तर, बिडम्बना ! देशका राष्ट्रपति, प्रधानमन्त्रीले चाहिँ महारानी र महाराज, साँच्चै आफूलाई राजा, रानी नै ठानेका हुन् कि ? मानौं देशमा केही भएको छैन । निर्मलाहरूले न्याय पाइसके । सब ठीकठाक भइसक्यो । हाय ! कति क्रुर हुँदोरहेछ मन ? आˆनै सन्तानको हत्यामा पनि नदुख्ने रहेछ मुटु । नरसाउने रहेछन् आँखा । शासक हुनु भनेको मानवता गुमाउनु हो र ? कि अझ बढी मानवतावादी हुनु हो ?

तिम्रा साथीहरूको अनुसार भविश्यमा तिमी असल शिक्षिका वा नर्स बन्न चाहान्थ्यौ रे । तिमी आफ्नो सपनाअनुसार भविश्यमा शिक्षिका वा नर्स पक्कै बन्थ्यौ नै । तर निर्मला, बलात्कारी हत्याराले तिम्रो स्वणिर्म सपना सधैँका लागि समाप्त गरिदियो । समाजमा एउटा भयानक सन्त्रास पनि रोपिदियो । साँच्चै निर्मला ! यो समाजमा खरपाखोको डढेलोझैँ फैलिरहेको बलात्कार, हत्या, महिला हिंसा देखेर हामी बाँचेका सबै नारीहरू सन्त्रस्त छौं ।

अँ साँची ! तिमीले पढेको स्कूल सरस्वती उमाबि, खोल्टीमा तिम्रो कक्षा कोठा अगाडि तिमीले कोरेका केही चित्रहरू पनि छन् रे । कस्ता होलान् ती चित्रहरू ? मनैदेखि हेर्ने इच्छा छ । तर, हेर्न जान समयले साथ दिइरहेको छैन । मेरो अनुरोध छ स्कूलका सर, म्यामहरूलाई- कृपया निर्मलाको कला नष्ट नगरिदिनु होला । उनको हत्या भए पनि उनको कला बाँचिरहनुपर्छ ।

निर्मला नेपालकी नाइटिंगेल हुन सक्थिन् । मदर टेरेसा बन्न सक्थिन् । विश्वविख्यात भिञ्ची हुन सक्थिन्, पिकासो बन्न सक्थिन् । सरकार ! निर्मला अर्थात् नानीहरू देशका भविश्य हुन् । भविश्यको सुन्दर संसार श्रृष्टि गर्ने सर्जक हुन् । उनीहरूको सुरक्षा गर सरकार । उनीहरू बलात्कृत हुनबाट बचाऊ । उनीहरू अपहरण हुनबाट बचाउ । उनीहरू मारिनबाट रोक । उनीहरूमाथि एसिड आक्रमण हुन नदेऊ । सरकार ! नारी हिंसा हद भयो । नारी हिंसा रोक ।

प्रधानमन्त्रीज्यू ! निर्मलाको हत्यारालाई कार्बाही गर्दा के तपाईंको सिंहासन संकटमा पर्छ ? पर्छ भने पनि तपाईंले निर्मलालाई न्याय दिनैपर्छ । तपाईंले अपराधी पत्ता लाग्न बाह्र बर्ष लाग्नसक्छ भनेर गैरजिम्मेवार जबाफ दिन पाउनुहुन्न । यो न्याय र अन्यायको लडाईं हो । निर्मला एउटी पात्र हुन् । समाजमा अन्यायमा पिल्सिरहेका हजारौं- लाखौं निर्मलाहरू छन् । उनीहरूले राज्यबाट न्याय पाउनैपर्छ ।

राणाकालमा अरूणको जलराशीमा योगमाया र उनका सयौं अनुयायीहरूले जलसमाधि लिएझैं आज नेपाली नारीहरूले जलसमाधि लिनेवाला छैनन् । बरू एक्काईसौं शताब्दीको महाभारत लड्न तयार छन् ।

नागरिकलाई ढाँट्नु र ठग्नुको पनि त सीमा हुन्छ । घटना घट्यो साउन ११ गते । आन्दोलनको आँधी सामना गर्न नसकेर २५ दिनपछि भदौ ४ गते मानसिक सन्तुलन गुमाएको ब्यक्तिलाई अपराधी यही हो भन्दै सार्वजनिक गर्छ सरकार । नागरिकलाई भेडो सम्झेको कि भेडो बनाउन खोजेको ? कञ्चनपुरलगायत देशभरि ‘निर्मलाका निम्ति न्याय’ भन्दै सडकमा न्याय खोज्न आएका लाखौं नागरिकहरू पागल हुन् ? ‘निर्मलाका निम्ति न्याय’ भन्दै जीवन बलिदान गर्ने सन्नि खुना सन्काहा हुन् ? जवाफ चाहियो प्रधानमन्त्रीज्यू ।

सधैँ हामी सरकारको चटक हेर्न अभिशप्त छैनौं । गृहमन्त्रीज्यू ! जनताको कठघरामा उभिएर जवाफ दिनुस् बम दिदीबहिनीलाई समाउँदै छाड्दै किन गरेको ? प्रमाण नष्ट गर्ने प्रहरीलाई बेलैमा बर्खास्त किन नगरेको ? त्यति कमजोर उच्चस्तरीय छानविन समिति किन बनाएको ?

सरकार ! एउटा सामान्य मान्छेले पनि बुझ्ने कुरा के हो भने जसको घरमा १० गते निर्मला गइन्, उनीहरूलाई घटनाबारे केही न केही पक्कै थाहा छ । उनीहरू कहाँ छन् अहिले ? उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्दैन ?

प्रमाण नष्ट गर्ने प्रहरीहरूलाई जागिरबाट बर्खास्त गर्नु विभागीय कार्वाही हो । उनीहरूको विभागीय कार्वाहीले निर्मलाले न्याय पाउँछिन् ? के उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्दैन ? के दुईजना प्रहरीको जागिरसँग निर्मलाको न्याय साट्न खोजेको हो ? गम्भीर शंका उत्पन्न भएको छ ।

प्रधानमन्त्रीज्यू ! तपाईंको सात महिना आन्तरिक कचिङल र उखानटुक्कामै बिते । तपाईंको सात महिने कार्यकाललाई हामी नागरिकले कसरी सम्झने ? जस दिएन भन्नुहुन्छ । सहयोग गरेन भन्नुहुन्छ । गुनासाका गीत गाउँदै हिँड्नुहुन्छ । एकचोटि आफूले गरेका कामहरू सम्झिहेर्नुस् त !

तपाईं कहिले पञ्चायती शैलीमा प्रतिपक्षीहरूलाई ठेगान लगाउन खोज्नुहुन्छ, कहिले कालो अरिंगाल बनेर बिरोधीहरूलाई टोक भन्नुहुन्छ । संसार हल्लाउने स्वरमा ३३ किलो सुन तस्करी समाउने शंखघोष गर्नुहुन्छ । ठूलो माछा र सानो माछाको कुरा आएपछि एकाएक कुरबाट हात झिक्नुहुन्छ । सार्वजनिक यातायातको सिन्डिकेट हटाउने घोषणा गर्नुहुन्छ । तर, अन्त्यमा आफैँले निर्णय सामसुम पार्नुहुन्छ । कम्युनिस्ट हुँ भन्दै शिक्षा र स्वास्थ्यमा खुलेआम ब्यापार गर्नुहुन्छ । महंगी, कालाबजारी, कमिसन, भ्रष्टाचार, बलात्कार, हत्या, एसीड आक्रमण र महिलाहिंसाको त कुरै नगरौं । यी ‘महान काम’ अरू कसैले गरेका हुन् र प्रधानमन्त्रीज्यू ?

तपाईंले दिनदिनै सपनाको सूची थपेर देश समृद्ध हुँदैन । देशमा शान्ति सुरक्षा आउँदैन । कृपया, अहिले रेल र पानीजहाजको कुरा छाडिदिनुस् । घरघरमा ग्यास पाइपको कुरा पनि बन्द गर्नुस् । सबभन्दा पहिला कम्तिमा ढुक्कसँग बाँच्न त दिनुस् । त्यसपछि बाँकी कुरा गर्दै गरौंला । अब तपाईंको उखानटुक्काले देश बन्दैन ।

सुझाव छ प्रधानमन्त्रीज्यू तपाईंलाई- बोल्नुभन्दा अघि २० चोटि सोचेर मात्र बोल्ने गर्नुस् । आफूले बोलेको कुरा बिष पिएर भए पनि पूरा गर्नुस् ।

अन्तमा,

प्रिय बहिनी निर्मला ! नागरिकहरू सधैँ निम्छरो बनिरहँदैनन् अब । तिमीले न्याय पाउनु पर्छ । हामीले न्याय पाउनुपर्छ । राज्यले नागरिकलाई न्याय दिनैपर्छ । तिम्रो न्यायको निम्ति, हाम्रो न्यायको निम्ति हामी घर बाहिर निस्किसकेका छौं । हामी मैदानमा छौं । विश्वास गर बहिनी, अब हामी न्याय नलिई रित्तो हात घर र्फकदैनौं । तिम्रो साथमा हामी छौं । न्याय मर्न दिदैनौँ । हामी अन्तसम्म भनिरहने छौं । भन्ने मात्र होइन, लडिरहने छौं । निर्मलाको निम्ति न्याय ! हाम्रो निम्ति न्याय !! नेपालीको निम्ति न्याय !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment