१७ कात्तिक, महोत्तरी । शनिबार महोत्तरी आएका दुई मन्त्रीले यहाँको रेलवेको अनुगमन गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बर्दिवास–३ गौरीडाँडामा बर्दिवास नगरका बासिन्दासँगको रेल्वे जग्गाको मुआव्जा निर्धारणबारेको छलफलमा पनि सहभागी भए ।
भेलामा मन्त्री महासेठले रेल्वेका लागिको जग्गाको मुआव्जाको बिषय जग्गा बेच्न ग्राहकसँग मोलमोलाइ गर्ने तरिकाले नभइ मेरो ठाउँमा राष्ट्रिय गौरवको महत्वपूर्ण काम हुँदैछ र म त्यसमा सहभागी हुँदैछु भन्ने सोचले गर्न जग्गाधनीलाई आग्रह गरे ।
बर्दिवास–जयनगर रेल्वेको ६९ किलोमिटर दुरीमध्ये भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको १८ किलोमिटर दुरीभित्र पर्ने रेलका लागि रोक्का गरिसकिएको १५७ बिघा जग्गाको मुआव्जा निर्धारण हुन बाँकी छ । मन्त्रीहरुको यो अनुगमन निरीक्षणमा रेल्वे विभागका महानिर्देशक बलराम मिश्रसहितका अधिकारीको पनि सहभागिता थियो ।
अनुगमनपछि भंगाहा नगरपालिकाको सीतापुर बजारमा आयोजित कार्यक्रममा मन्त्री महासेठले अबको दुई बर्षभित्रै महोत्तरीको बर्दिवासदेखि जनकपुर हुँदै जयनगरसम्मको ब्रोडगेज रेल सेवा सञ्चालन भइसक्ने बताए ।
‘धनुषाको कुर्थादेखि जयनगरसम्मको रेल सेवा त यही आउने मङ्सिरभित्रै सञ्चालन हुनेछ,’ मन्त्री माहासेठले भने, ‘कुर्थादेखि भङ्गाहाको बिजलपुरामा पाँच महिनाभित्र र भङ्गाहाबाट बर्दिवाससम्म २०७७ को मंसिरभित्रै रेल सेवा सञ्चालन भइसक्ने छ ।’
यद्यपी भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको जग्गा मुआव्जाको कुरा नटुङ्गिएकाले काम गतिमा बढाउन समस्या भएको मन्त्री महासेठको भनाइ थियो । मुआव्जाबारे तत्काल सिफारिस गरि पठाउन जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा मुल्याङ्कन समिति र स्थानीय तहका प्रमुखहरुलाई मन्त्री महासेठले निर्देशन दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले बर्तमान सरकार मुलुकको समृद्धि अभियानलाई केन्द्रमा राखेर अघि बढेको बताए । अब मुलुकमा माध्यमिक तहको शिक्षालाई सीपमुखी बनाउन यसै शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम बनाइएको मन्त्री पोखरेलको भनाइ छ ।
‘तपाईंहरु पनि आफ्ना ठाउँका माध्यमिक बिद्यालयमा कुन बिषयको ब्यावसायिक शिक्षाको पठनपाठन गराउने हो, सल्लाहमा जुट्नुहोस्’ स्थानीयलाई उनले भने, ‘अब परम्परागत शिक्षाले समृद्धि अभियान अघि बढ्न सक्दैन ।’
प्रतिक्रिया 4