Comments Add Comment

राष्ट्रिय छात्रा भलिबलको उपाधि न्यू डाईमण्डको पोल्टामा

१८ कात्तिक, बुटवल । बुटवलमा सम्पन्न एभरेष्ट कप राष्ट्रिय जुनियर छात्रा भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड एकेडेमीको पोल्टामा परेको छ ।

शनिबार भएको फाइनलमा आयोजक एभरेष्ट मावि बुटवललाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि हात पारेको हो ।

उपाधिसँगै न्यू डायमण्ड नगद ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । एभरेष्ट उपविजेतामा चित्त बुझाउँदै नगद २५ हजार कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएको छ ।

तेस्रो स्थानको खेलमा टप्स मावि पोखराले जानकी मावि चितवनलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । टप्स १२ हजार, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएको छ भने सान्त्वना स्थान हासिल गरेको जानकी ५ हजार, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा उत्कृष्ट लिभेरो एभरेष्टका यमकली कवँर मगर, उत्कृष्ट स्टाइकर एभेरेष्टकै पुनम चन्द, उत्कृष्ट ब्लकर जानकी मावि चितवनकी मोनिका महतो, उत्कृष्ट सर्भर टप्स मावि पोखराकी ममता दमौरा, उत्कृष्ट सेटर न्यु डायमण्डकी अनुशा सुनुवार र बेष्ट प्लेयर न्यु डायमण्डकै झरना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक न्यू डायमण्डका कुमार राई नगद ५ हजार र कपसहित प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रदेश ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए ।

कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लेकनाथ ज्ञवाली, प्याब्सन प्रदेश ५ का अध्यक्ष कृष्णप्रसाद खनाल, रुपन्देहीका पूर्व जि.शि.अ. टेकबहादुर थापा, नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने लगायतले खेल क्षेत्रको विकासमा सबैको सहकार्य आवश्यक भएको बताए ।

प्रतियोगितामा काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगञ्ज, कञ्चनपुर, चितवन, काभ्रे र रुपन्देहीका गरी १६ समूहको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment