Comments Add Comment

काठमाडौंलाई ६ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश

१८ कात्तिक, काठमाडौं । चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो ।

काठमाडौं रोयल्सले दिएको ९५ रनको सामान्य चुनौती चितवन राइनोजले १८.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । चितवनका लागि स्मित पटेलले ३८ र हरिशंकर शाहले २६ रन बनाए । त्यस्तै आरिफ शेखले अविजित २० रन बनाए । काठमडौंमाथि जित हात पारेपनि चितवनको सुरुवाती भने खराब भएको थियो । २ रन हुदा १ विकेट गुमाएको चितवनले ३१ रन हुदा ३ विकेट गुमाएको थियो ।

काठमाडौंका लागि सुसन भारीले ३ विकेट लिए । त्यस्तै, पवन सर्राफले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन ३ बल बाँकी छदा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । काठमाडौं सस्तैमा समेटिएपछि चितवनले सामान्य चुनौति पाएको थियो । काठमाडौंका कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । तर उनले ३५ बलमा सामाना गरेर २ चौका प्रहार गरेका थिए । त्यस्तै, जयकृशन कोल्सवालाले २५ रन बनाए । उनले ३७ बलको सामाना गर्दै २ चौका प्रहार गरेका थिए । कप्तान ज्ञानेन्द्र र कोल्सवालाबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ सुन्नी पटेलले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ९ रन खर्चेर उत्कृष्ट बलिङ गरे । त्यस्तै, स्मित पटेल र भुवन कार्कीले समान २-२ विकेट लिए ।

सर्वाधिक पुरस्कार राशीको पीपीएलको उपाधिका लागि अब चितवनले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा र चितवनबीचको खेल मंगलबार हुनेछ । लिगको शीर्ष स्थानमा रहदै पोखरा पल्टनभने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment