Comments Add Comment

लोमान्थाङमा सेनाको क्याम्प

१९ कात्तिक, मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरिएको हो ।

जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ । क्याम्प रहेको स्थान समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको छ ।

सेनाको क्याम्प राख्न एक हजार २१७ रोपनी जग्गाको व्यवस्थापन गरी भवनलगायतका पूर्वाधार निर्माण गरिएको छ । क्याम्पमार्फत सुरक्षा गतिविधिसँगै उच्च भूगोलको सैनिक तालीम सञ्चालन र विपद् व्यवस्थापनसम्बन्धी गतिविधि हुने जनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले आवश्यक जग्गा र पूर्वाधारको व्यवस्थापन गरेपछि क्याम्प राखिएको बताए । क्याम्प स्थापना भएपछि उपल्लो मुस्ताङमा सुरक्षाको पहुँच बढ्ने र विपद् व्यवस्थापनमा सहयोग पुग्ने प्रजिअ क्षेत्रीको भनाइ छ ।

सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरेनीयम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूतिको सन्देश प्रवाह हुने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment