Comments Add Comment

‘भाइ मसला’ किन्दै हुनुहुन्छ ? बढाउनुभो व्यापार घाटा !

२० कात्तिक, काठमाडौं । नेपालका मौलिक चाडपर्वमा घुसेको व्यापारीकरणले कसरी देश र जनतालाई टाट पल्टाउन थालेका छन् भन्ने कुराको विश्लेषण गर्ने जिम्मा अर्थशास्त्रीको हो । हामीले यहाँ तिहारमा प्रयोग हुने भाइमसलाका बारेमा एउटा सामाग्री पस्केका छौं ।

अचेल तिहारमा सप्तरंगी टीकाको सरदामसँगै सबैले किन्ने अर्को कुरा हो- ‘भाइ मसला’ । पछिल्लो केही वर्षयता ‘भाइ मसला’ को प्रयोग फेसनकै रुपमा अघि बढेको छ ।

भाइमसलाको बढ्दो फेसनले व्यापार घाटालाई बढाउँदै नेपालको ठूलो धनराशी विदेशतर्फ बहाव त भएको छ नै, यसको प्रयोगले तिहारजस्तो परम्परागत एवं मौलिक चाडपर्वलाई खर्चिलो बनाउन भूमिका खेलिरहेको छ ।

फुटपाथदेखि जुत्ता पसलसम्म भाइमसला

किराना र मसलाजन्य उपभोग्य सामाग्रीका बिक्रेताकहाँ त भाइ मसला पाइने नै भयो । तर, विक्री अत्याधिक हुने र टन्न मुनाफा हुने देखेर अन्य व्यवसाय गर्दै आएकाहरुले पनि यतिबेला आ-आफ्नो पसल अगाडि भाइ मसलाका प्याकेट थुपारेका छन् ।

काठमाडौंको सुन्धारा, न्युरोड, खिचापोखरीका फुटपाथदेखि असन र भोटाहिटीका जुत्तापसलेले पनि भाइ मसलाको व्यापार गरेका छन् ।

कस्मेटिक, कपडा, भाँडावर्तन, फेन्सी पसल सञ्चालकले समेत भाइ मसलालाई कमाउने ‘सिजनल व्यापार’ बनाएका छन् अहिले । सडकमा फुटकर सामग्री बेच्नेले छुटाएका छैनन् भाइ मसला ।

फूटपाथदेखि अन्य र मसलाजन्य पसलका अगाडि राखेका भाइमसलामा उपभोक्ताको भिड पनि उत्तिकै छ ।

‘जुत्ता धेरै बिक्दैन योबेला, चल्ने चिजको व्यापार त गर्नै पर्यो नि’, असनका एक जुत्ता पसलले अनलाइनखबरसँग भने ।

२० हजारसम्मका भाइमसला !

भाइ मसलाको प्याकेटको मूल्य पनि फरक छ । सोमबार दिउँसोभर बजार डुल्दा फूटपाथमा २५ देखि ३५० सम्मका भाइमसलाका प्याकेट भेटिए भने विभिन्न पसलमा सोही दरदेखि ४ हजार २ सय ५० सम्मका भाइ मसलाका प्याकेट पाइन्छ ।

अन्य ठूला डिपार्टमेन्ट स्टोर र मलहरुमा जाने हो भने डालीमा महंगा चकलेट र मदिरासमेत राखेर १५ देखि २० हजार रुपैयाँसम्मका भाइ मसला बेच्नका लागि तयार छन् ।

प्याकेटभित्र राखिएका मसलाजन्य सामाग्रीको परिमाण र अन्य वस्तु पनि थप्दा यसको मूल्य महंगो पर्न जाने व्यापारीहरु बताउँछन् ।

उपभोक्तालाई पनि एउटा एउटा वस्तु किन्ने झण्झट गर्नुभन्दा तयारी भाइ मसलाको प्याकेट खरिद गर्नै सजिलो लाग्ने हुँदा किन्ने र बेच्नेको लय मिलेको छ ।

कसरी चल्यो ‘भाइ मसला’को चलन ?

नेवारी समुदायमा दाजुभाइको पूजा गरेपछि ‘मसिपोका’ अर्थात मसलाको पोका दिने चलन छ । मसिपोकाकै रुप हो अहिलेको ‘भाइ मसला’ ।

व्यापारीले नेवारी संस्कृतिलाई व्यापारीकरण गरेसँगै उपभोक्तामा ‘भाइ मसला’को फेसन सुरु भएको हो । अन्य समुदायमा हेर्ने हो भने, पहिलेपहिले दिदीबहिनीले दाजुभाइलाई भाइटीकाको निम्तोका रुपमा सुपारी दिन्थे भने टीका लगाएपछि कसैकसैले पान र ल्वाङ मात्र दिने चलन थियो ।

पान, ल्वाङ लगायतका मसलाजन्य वस्तु साटासाट गर्ने मुगलहरुको चलन मल्लकाल हुँदै राणाकाल, शाहबंशीय राजाहरु हुँदै सर्वसाधारणसम्म आइपुगेको संस्कृतिविद् जगमान गुरुङ बताउँछन् ।

स्वदेशमा उत्पादन नहुने नभएकाले पहिले पहिले अहिलेको जस्तो काजु, छोकडा, पेस्ता लगायतका मसला सबैको पहुँचमा हुँदैनथ्यो । तर, अहिले अवस्था त्यस्तो छैन । विश्वका जुनसुकै कुनाबाट पनि हरेक वस्तु आयात गर्न सकिने अवस्था छ अहिले ।

परम्परालाई बढ्दो आधुनिकताले व्यवसायिकता र फेसनमा रुपान्तरण गर्छ भन्ने उदाहरण अहिलेको ‘भाइ मसला’को फेसनले प्रष्ट पारेको छ ।

खुद्रामा छुट्टा छुट्टै बेच्दा भन्दा प्याकेट बनाएर बेच्दा फाइदा हुने भएकाले पनि यसको चर्को व्यवसायीकरण भएको पाइन्छ । भाइ मसला भनेर पाइने प्याकेटमा १६ वटा मसलाजन्य वस्तु हुन्छन् ।

ल्वाङ, सुकमेल, मिस्री, छोकडा, किसमीस, काजु, बदाम, ओखर, अन्जिर, खुर्पानी, दालचिनी, सुपारी, मखना लगायतका मसलाजन्य सामग्रीसहित चकेट र अन्य वस्तु समेत राखेर भाइमसलाको विभिन्न साइज र मूल्यका प्याकेट बजारमा उपलब्ध छन् ।

२० करोड रुपैयाँ बाहिरिन्छ

नुनदेखि सुनसम्म आयातमा निर्भर भनेझैं भाइ मसलामा प्रयोग हुने ल्वाङदेखि पेस्तासम्म भारतसहित वाहृय मुलुकबाटै आउनेे गरेको छ ।

चालु आर्थिक वर्षको तीन महिनाको तथ्याकं हेर्दा यो अवधिमा २० करोड ६ लाख रुपैयाँ बराबरको भाइ मसला आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार भारतसहित, चीन, अफगानिस्तान, भियतनाम, सिंगापुर, अमेरिका लगायतका देशबाट ४ हजार ४ सय ३६ टन भाइ मसलामा प्रयोग हुने यी मसला आयात भएको छ ।

ओखर मात्रै १ सय ९८ टन आयात भएको विभागको तथ्याकंले देखाउँछ । जसको मूल्य हेर्ने हो भने ५ करोड ४९ लाख रुपैयाँ स्वदेशबाट बाहिरिएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बदाम पाँच करोड ९८ लाखको आयात भएको छ भने दुई करोड ३७ लाख मूल्य बराबरको नरिवल विदेशबाटै नेपाल भित्रिएको छ ।

यस्तै ७८ लाख बराबरको ३ सय १४ टन काजु र तीन करोड ४४ लाख बराबरको सुकुमेल आयात भएको विभागले जनाएको छ ।

यस्ता तयारी भाइ मसलाका प्याकेटमा कतिपय व्यापारीले सडेगलेका गुणस्तरहीन वस्तुसमेत मिसावट गर्ने गरेका छन् ।

दशैंमा झारा टार्ने गरी भएको बजार अनुगमनपछि सरकारी अनुगमन टोलीहरु तिहार लागिसक्दा पनि बजारतिर झरेका छैनन् । योबेला राष्ट्रवादी भनिएको कम्युनिष्ट सरकारको बजार पूर्णरुपमा व्यापारीहरुको कब्जामा गएको छ ।

विदेशी सामान पोको पारेर बनाइने भाइ मसलाले भित्र्याएको आर्थिक विसंगतिलाई कम गर्न हामी सबैले आफ्नै देशमा पाकेका सुन्तला लगायतका फलफूलहरुको प्रयोगलाई पो प्राथमिकता दिने हो कि ?

फाेटाेहरूः चन्द्र अाले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment