Comments Add Comment

वीरगञ्ज भन्सारबाट भित्रियो करिव पाँच करोडको स्याउ र केरा

२० काठमाडौं । दशैं तिहार, छठ पर्वलाई लक्षित गरेर वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षमा फलफूल आयातमा वृद्धि भएको छ ।  वीरगञ्ज भन्सार कार्यालयको तथ्याङक अनुसार साउनदेखि यता ४ करोड ७५ लाख मुल्य बराबरको नेपालमै उत्पादन गर्न सकिने केरा र स्याउ मात्रै भित्रिएको छ ।

देशको मुख्य भन्सार नाका हुँदै भन्सार राजश्व बुझाएर ४ करोड ७५ लाख मुल्य बराबरको स्याउ र केरा भित्रिएको हो ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवका अनुसार चालु आर्थिक वर्ष ०७५/७६ को साउनदेखि हालसम्म ३ करोड १० लाख मूल्य बराबरको ६ लाख ९१ हृजार केजी स्याउ र १ करोड ६५ लाख मूल्य बरारबरको २१ लाख ५० हजार किलो केरा आयात भएको छ ।

२०७४/०७५ को सोही अवधिमा वीरगन्ज नाका हुँदै ४ करोड २० लाख मूल्य बराबरकोस्याउ र केरा भारतबाट आयात गरिएको थियो ।  जसमा १ करोड ३८ लाख मूल्य बराबरको ८ लाख ११ हजार किलो केरा छ भने २ करोड ४२ लाख मुल्य बराबरको ६ लाख १३ हजार किलो स्याउ आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार फलफुल आयात वर्षेनी बढ्दै गएको छ र भन्सार कार्यालयले राम्रो राजश्व संकलन गरिरहेको छ ।  ‘ फलफूलमा पहिला ५ प्रतिशतको हाराहारीमा कर लगाउने गरिएको थियो, अहिले अगि्रम आय कर पनि त्यतिकै मात्रामा तिर्नुपर्ने हुन्छ’, उनले भने, ‘यसले गर्दा फलफुल आयातबाट राजश्व असुली सकारात्मक नै देखिन्छ ।’

वीरगञ्ज भन्सार नाका हुँदै स्याउ केराका अलावा सिजन अनुसार सुन्तला, अंगुर, अनार पनि आयात हुने गरेको छ ।  वीरगन्ज नाका हुँदै भारतबाट आयात हुने केरा मध्ये हरियो र लामो आकारको केरा भारतको आसामबाट र पहेलो साना आकारको केरा हाजीपुर र मोजफरपुरबाट आयात गर्ने गरिएको छ ।

स्याउ कास्मिरबाट आयात गरिन्छ । तर वीरगन्ज लगायत यस क्षेत्रमा पछिल्लो समय भारतीय स्याउ भन्दा पनि चीनको स्याउले बजार ओगट्न थालेको व्यापारीहरु बताउँछन् ।  कास्मिरको स्याउले २५ प्रतिशत र चीनबाट काठमाडौं हुँदै आयात गरिएको स्याउले ७५ प्रतिशत बजार हिस्सा ओगटेको व्यापारीहरु बताउँछन् ।

मर्का परेको व्यापारीहरुको गुनासो

वीरगञ्जका व्यापारीहरुले भने आफूहरु दोहोरो मारमा परेको बताएका छन् ।  एकातिर भन्सारमा बढी राजश्व तिर्नु परेको र अर्कोतिर दिनहुँ मुख्य नाका हुँदै साईकलमा फलफूल खुलेआम भित्रने गरेको उनीहरुको भनाइ छ । तरकारी तथा फलफूल व्यवसायी संघ वीरगञ्जका कोषाध्यक्ष सुरेन्द्र प्रसादले फलफूलमा भन्सार बढाईएको गुनासो गरे ।

‘६ महिना पहिला एक कार्टुन अनारको ४० रुपैयाँ भारु भन्सार लाग्थ्यो, अहिले ६० रुपैंयाँ तिर्नु परेको छ’, उनले भने, ‘नेपालमा प्रयाप्त मात्रामा फलफूलको उत्पादन नहुने भएकोले फलफूल आयात गर्नुपर्ने बाध्यता छ । एकातिर साईकलमा खुलेआम भित्रिरहेको छ, अर्कोतिर भन्सार दर बढाएका कारण हामी दोहोरो मर्कामा छौं ।’

एकैपटक २०/२५ कार्टुन फलफुल साईकलमा बोकेर दैनिक सयौंको संख्यामा भारतीय व्यापारीहरु वीरगञ्जमा फलफूल बिक्रि गर्न आउने गरेको दावी उनीहरुको छ ।

तरकारी तथा फलफूल व्यवसायी संघका सचिव ग्याँसुदिन मियाँले यसले गर्दा भन्सार तिरेर फलफूल आयात गर्ने थोक विक्रेताहरु मर्कामा परेको गुनासो गरे । ‘

लुकाई छिपाई मात्रै नभएर वीरगञ्ज भन्सार नाकामा सशस्त्र प्रहरी, प्रहरी र भन्सारका कर्मचारीलाई रकम दिएर खुलेआम साईकलमा फलफूल भित्र्याउने गरिन्छ ।

‘उनीहरु सडकमै राखेर बेचिदिन्छन्’, उनले भने, ‘यसले गर्दा भन्सार तिर्ने, रुम भाडामा लिएर व्यापार व्यवसाय गर्नेहरु धराशायी बन्दै गईरहेका छन् ।’

भन्सार छलेर फलफूल ल्याएपनि त्यस्ता व्यापारीले उपभोक्तालाई पनि सस्तोमा फलफूल नदिने गरेको दावी उनको छ । समस्याको बारेमा अर्थ मन्त्रालयमा पुगेर जानकारी गराएको भएपनि कुनै सुनुवाई नभएको गुनासो वीरगञ्जका फलफूल व्यापारीहरुले गरेका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका अधिकारीहरुले भने मुख्य नाका हुँदै फलफूल तस्करी हुने संभावना नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment