Comments Add Comment

लक्ष्मी पूजामा विजुलीको माग प्रक्षेपितभन्दा १७० मेगावाट कम

२१ कात्तिक, काठमाडौं । विद्युत आपूर्तिका हिसाबले मुलुकभर नै सबैभन्दा धेरै माग हुने दिन हो लक्ष्मी पूजा ।  त्यसैले नेपाल विद्युत प्राधिकरण पनि मास्टर प्लान नै बनाएर लक्ष्मी पूजामा विजुली सहज आपूर्ति गराउन जुट्ने गरेको छ ।

लोडसेडिङ हटेको केहि वर्षयता पनि प्राधिकरणलाई लक्ष्मी पूजाका दिन माग पूर्ति गर्न हम्मेहम्मे पर्ने गरेको थियो । सोहि कारण प्राधिकरणले लक्ष्मी पूजाका दिन नियमित भन्दा थप कति माग हुन्छ भन्ने प्रक्षेपण गरेर त्यसको पूर्तिका लागि योजना बनाउने गरेको थियो ।

तर, प्राधिकरणको तथ्याकं अनुसार वर्षेनी लक्ष्मी पूजाका दिन विद्युतको माग घट्दै गएको छ ।  यस वर्षको लक्ष्मी पूजा अर्थात बुधबारका लागि प्राधिकरणले १२ सय ७५ मेगावाट माग हुने प्रक्षेपण गरेको थियो ।

तर, प्राधिकरणको प्रक्षेपणभन्दा बुधबार साँझ ६ बजे १७० मेगावाट कम अर्थात ११ सय ५ मेगावाट उच्चतम् लोड भएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।  अघिल्लो वर्षको लक्ष्मी पूजामा ११ सय ६५ मेगावाट उच्चतम् माग थियो ।

लक्ष्मी पूजामा सबभन्दा धेरै विद्युत खपत हुने काठमाडौंमा बुधबार २९० दशमलब ५ मेगावाट उच्चतम् माग रहृयो ।  यसको आपूर्तिमा प्राधिकरण मातहतका आयोजनाबाट ४ सय ३९ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ३४१ मेगावाटले पूर्ति गरेको घिसिङले बताए ।

उनका अनुसार सबभन्दा धेरै माग हुने लक्ष्मी पूजामा यसवर्ष ३ सय २४ मेगावाट विद्युत आयात गर्दा पुग्यो ।  बुधबार काठमाडौंको स्युचाटारस्थिति प्राधिकरणको भारप्रेषण केन्द्रमा पुगेका कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले पनि साथ दिएकाले आपूर्ति सहज हुँदै गएको सुनाए ।

उनका अनुसार यसरी माग घट्नुमा बढ्दो एलइडी बल्बको प्रयोग र अन्य कम उर्जा खपत गर्ने विद्युतीय सामग्रीको उपभोग बढ्दै जाँदा लोड पनि कम हुँदै गएको छ ।
लक्ष्मी पूजा दिन धेरै उद्योग, कलकारखाना बन्द भएकाले पनि ३ मेगावाट बराबरको लोड नपरेको उनले बताए ।

‘यसवर्ष तिहारअघि नै तराइका जिल्लामा चिसो बढेकाले पंखा, एसी जस्ता बढि विद्युत खपत गर्ने सामान चल्न बन्द त्यसैले पनि लोड कम भयो’, उनले भने ।  माग व्यवस्थापनमा कुनै समस्या नभएपछि यसवर्षको तिहारको चुनौतिलाई पनि प्राधिकरणले सहजै पार लगाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment