Comments Add Comment

मुख्यमन्त्री राईले भने, ‘पत्रकार कुटिएको घटनामा मेरो संलग्नता छैन’

२५ कात्तिक, अमेरिका । अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले संलग्नता नै नभएको घटनामा नाम जोडेर बदनाम गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बैंककमा उपचार गर्ने भन्दै मुख्यमन्त्री राई अमेरिका पुगेको समाचार प्रकाशमा आएपछि पत्रकार कुटिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री राईले घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन् ।

व्यक्तिगत भ्रमणका लागि अमेरिका पुगेका मुख्यमन्त्री राईले शनिबार बिहान पत्रकारहरुसंगको कुराकानीका क्रममा पत्रकार लोकमणि रार्इमाथि भएको कुटपिटको घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो मात्र नभई सहयोगीको समेत संलग्नता नरहेको बताए ।

‘बाल्टिमोरमा शहरमा रहेका बेला पत्रकार कुटिएको घटनामा जबर्जस्ती हामीलाई तानिएको छ, हुँदै नभएको घटनामा नाम जोडिँदा अचम्मित छु’, बैंकक फर्किनुअघि मुख्यमन्त्री राईले घटनाबारे प्रष्ट पार्दै भने ।

स्वास्थ परिक्षणका लागि बैंकक आएको र परिक्षणपछि रिपोर्ट आउन एक साता लाग्ने भएकाले व्यक्तिगत भेटघाटका लागि अमेरिका आएको मुख्यमन्त्री राईको भनाइ छ । तर राई बैंकक उपचार गर्ने प्रचार गरेर सुटुक्क अमेरिका पुगेको प्रचारमा आएको थियो ।

न्यूयोर्कमा पिटाइ खाएको भनिएका पत्रकार लोकमणि राइको नाम आफूले सुनेको भए पनि नचिनेको मुख्यमन्त्री राईको भनाइ छ ।

कुन पत्रकारले अमेरिकामा के समाचार लेखे या कहाँ लेखे भन्ने विषयमा आफू अनविज्ञ रहेको भन्दै उनले संलग्नता नभएको घटनामा जोडेर प्रचारमा ल्याउनु पित पत्रकारिताको पराकाष्ठ भएको बताए ।

मुख्यमन्त्री राईले प्रदेश १ मन्त्रिपरिषद् बैठकबाट भ्रमण स्वीकृत गरेको प्रष्ट पार्दै नियोजित प्रचारमा कुनै सत्यता नरहेको बताए । नितान्त राजनीतिक पूर्वाग्रहका आधारमा गलत प्रचार गरिएको मुख्यमन्त्री राईको आरोप छ । उनले अमेरिकामा बसेर राजनीति नगर्न समेत सुझाए ।

घटनामा सहभागी भनिएका उमेश राई नेकपाको कार्यकर्ता नरहेको र आफूले चिन्दासमेत नचिन्ने मुख्यमन्त्री राईको भनाइ छ ।

घटनामा नाम जोडिएका उमेश राइले लोकमणि र आफ्नो विवाद ठूलो र राजनीतिक विषय नभएको र आफूहरू पहिलेदेखि सँगै बस्ने साथी रहेको बताए ।

‘मलाई नेकपाको कार्यकर्ता र समाचार हेरेर मान्छे पिट्यो भनिएको रहेछ,’ राईले भने, ‘प्रचार गरिएका कुरा सबै गलत हुन् । सामान्य विवादमा लोकमणि जाइलाग्न आएपछि सामान्य धक्का मुक्का भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment