Comments Add Comment

ठूलो प्रदेशको ठूलै सकसः नाम र राजधानी तोक्ने जिम्मा ओली-प्रचण्डलाई !

२५ कात्तिक, काठमाडौं । स्रोत साधन र प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो प्रदेशको नाम र राजधानी तोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई संकट परेको छ ।

प्रदेश ३ को राजधानी र नाम टुंगो लगाएर मात्र प्रदेशसभा बैठक बोलाउने तयारी सरकारको छ ।

सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव गरिएको छ । प्रदेशको नाम भने प्रस्तुत भएको छैन ।

देशको राजधानी समेत रहेको यो प्रदेशको नाम र राजधानीको टुंगो नेकपाको शीर्ष नेतृत्वबाटै लगाइने स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश राजधानी काभ्रेपलान्चोक वा भक्तपुर कायम गर्न चाहन्छन् ।

तर, अर्का अध्यक्ष प्रचण्ड चितवनबाट निर्वाचित भएकाले त्यहाँको मनोविज्ञानमा छन् । उनले अहिलेको हेटौंडालाई नै कायम गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ तर, नेकपाका बहुसंख्यक प्रदेशसभा सदस्यहरु हेटौंडाको विपक्षमा छन् ।

तिहारअघि नेकपाका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, सहइञ्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले दुवै अध्यक्षलाई सामूहिक रुपमा भेटेका थिए । ईञ्चार्ज तथा प्रदेशसभा सदस्य शाक्यले राजधानी काभ्रे कायम गर्नुपर्ने धारणा राख्दा ओली मौन बसेको एक सहभागीले बताए ।
प्रदेश ३ को ११० सदस्यीय प्रदेशसभामा काठमाडौं उपत्यकाबाट निर्वाचित सदस्यहरुनै लगभग बहुमतमा छन् ।

प्रत्यक्ष निर्वाचित ६६ मध्ये ३३ जना उपत्यकाबाट निर्वाचित छन् । समानुपातिक समेत जोड्दा उनीहरुको बाहुल्य छ । त्यसबाहेक सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट र धादिङको मत पनि हेटौंडा हुनु हुँदैन भन्नेछ ।

प्रदेशसभामा सम्भावित राजधानीका लागि काभ्रे, भक्तपुर, नुवाकोट, हेटौंडा र चितवनको नाम प्रस्ताव गरिएको छ । तर अहिले नेकपाभित्र हेटौंडा कि काभ्रे भन्ने बहस छ ।

राजधानीको निर्णय नेकपाको केन्द्रबाटै हुने प्रमुख प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयालले बताए । उनले भने, ‘हामी अबको प्रदेशसभा बैठकअघि नै नाम र राजधानीको टुंगो लगाउने गरि पार्टीमा छलफल गरिरहेका छौं । मूल पार्टीको निर्णयमै सबै संसदीय अंगहरु चल्ने हुन् । त्यसैले पार्टीले निर्णय गरेपछि प्रदेशसभाबाट बैधानिक प्रक्रियाबाटै प्रदेशको राजधानी र नामको टुंगो लगाउँछौं ।’

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भने छठपछि प्रदेशसभा बैठक बस्ने जानकारी दिए । प्रदेश सरकारलाई नाम र राजधानीको टुंगो लगाउन आफूले आग्रह गरिएको भन्दै उनले त्यसपछि बैठक राख्दा सहज हुने प्रतिक्रिया दिए ।

प्रदेश सरकारले पनि नाम र राजधानी टुंग्याएरमात्र प्रदेशसभा बैठक बस्नु उपयुक्त हुने महसुस गरेको पर्यटन तथा सामाजिक विकासमन्त्री अरुण नेपालले बताए । यसका लागि पार्टीमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।

नेकपा स्रोतका अनुसार नाम र राजधानीको टुंगो सचिवालय वा स्थायी कमिटी बैठकबाटै लगाइनेछ । राजधानी हेटौंडा राख्ने वा अन्यत्र लैजाने भन्ने निर्णयको दीर्घकालीन असरबारे विचार गरिने र त्यसको जिम्मेवारी पार्टीले लिनुपर्ने भएकाले कम्तिमा स्थायी कमिटी तहमा छलफल हुनुपर्ने एक नेताले बताए ।

मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडाकै जनप्रतिनिधि भएकाले उनलाई अस्थायी राजधानी स्थायी कायम गर्नुपर्ने चुनौति छ । यसबीचमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले पटकपटक काभ्रे राजधानी लैजाने भनेर भाषण गर्दा आफूलाई अप्ठ्यारो परेको भन्दै उनले जथाभाबी नबोल्न निर्देशन दिएका थिए ।मुख्यमन्त्रीले राजधानीबारे नबोल्न मन्त्री र प्रदेशसभा सदस्यहरुलाई समेत आग्रह गरेका छन् ।

प्रदेशसभामा मतदान हुँदा दुई तिहाइ मत काभ्रेको पक्षमा जाने अवस्था छ । काभ्रेका प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, चन्द्र लामा, रत्न ढकाल र बसुन्धरा हुमागाईले लिखित रुपमा काभ्रेको माग गरेका छन् । संघीय सरकारका सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाको लबिङ शीर्ष तहमै पुगेको छ । धुलिखेल वा बनेपा हुँदा सबैलाई पायक पर्ने भन्दै अन्य जिल्लाका सांसदको जोड पनि काभ्रेमै छ ।

नाममा पनि विवाद

प्रदेशको नाममा पनि नेकपाभित्र एकमत छैन । तत्कालिन माओवादीका प्रदेशसभा सदस्यहरुले नेवा ताम्सालिङ प्रदेश राख्नुपर्ने बताएका छन् । तर, प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जातको नाम नराख्ने भन्दै वाग्मती प्रदेश राख्दा त्यसले समग्र वाग्मती सभ्यताको अर्थ लगाउने बताएकी छन् ।

नेकपा स्रोतका अनुसार प्रदेश इञ्चार्ज शाक्य र सचिव आनन्द पोखरेल राजधानी काभ्रे र नाम वाग्मती हुनुपर्ने पक्षमा छन् । प्रदेश अध्यक्ष नारायण दाहाल भने राजधानी हेटौंडा वा चितवनको पक्षमा छन् । सहइञ्चार्ज हितबहादुर तामाङ राजधानी काभ्रे नाम नेवा ताम्सालिङ हुनुपर्ने पक्षमा छन् ।

प्रदेश कमिटी र प्रदेशसभा संसदीय दललमा एकमत नभएकाले पार्टी केन्द्रले नै यो विषय टुंगो लगाउनुपर्ने फुयालले बताए । नेकपाभित्र अजयक्रान्ति शाक्य लगायत केही सांसदले प्रदेशको नाम नेपाल मण्डल हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । यसले समग्र १३ जिल्लाको प्राचिन भूगोल जनाउने शाक्यको दाबी छ ।

केही सांसदले राजधानी प्रदेश वा गौरीशंकर प्रदेशको प्रस्ताव पनि गरेका छन् । स्रोतका अनुसार राजधानी प्रदेशको नाम वागमतीमा सहमति हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment