Comments Add Comment

धन कमाउन गएका सापकोटा मिर्गौला रोग बोकेर फर्किए

नवलपरासी, २६ कात्तिक । धन कमाउन साउदी अरब गएका कावासोती १२ का ३६ बर्षीय गणेश सापकोटा रोग बोकेर फर्किएका छन् । उनको दुवै मिर्गौलाले काम नगर्ने भएको छ ।

झण्डै १० बर्ष साउदीमा विताएका सापकोटा अब नेपालमै केही गर्छु भनेर नेपाल फर्केपछि रोग लागेको थाहा पाएका हुन् । साउदीबाट घर फर्केपछि उनलाई आफ्नो शरीर गल्दै गएको अनूभुति भयो । ‘विस्तारै रोगले च्याप्न थाल्यो के भएको रैछ भनेर चेक गर्दा थाहा भो दुवै मिर्गौला फेल भएको छ ।’

सापकोटाको अहिले भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत छन् । अहिलेसम्म स्वास्थ्यजाँच र खान बस्नमा उनको चार लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ ।

मिर्गौला प्रत्यारोपण गर्दासम्म १५ लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले अनुमान गरेका छन् । उनलाई ६३ वर्षका बुबा कृष्णप्रसाद सापकोटाले मिर्गौला दिने भएका छन् । तर प्रत्यारोपणका लागि खर्च नहुँदा समस्या परेको छ । सापकोटा भन्छन् ‘अहिलेसम्म साढे चार लाखको हाराहारीमा खर्च भइसकेको छ, ४/५ दिनमा अप्रेशन हुने तयारी छ । अप्रेशन गर्ने दिन नै ३/४ लाख खर्च लाग्छ ।’

३६ बर्षीय सापकोटाले १० बर्ष साउदीमा कमाएको पैसा घर ऋण तिर्न, घरका विरामी परिवारलाई उपचार गर्न र घर खर्च चलाउनमै सकिएको बताउँछन् । ‘परदेशको जीवन कति नै हुन्छ र कमाई घर खर्च चलाउनै पर्यो, घरमा अरु पनि विरामी हुनुहुन्छ कमाएको उपचार गर्दै खर्च भयो । अहिले म आफै विरामी परें’ उनले भने ।

उनलाई अहिलेसम्म कतारमा रहेका नवलपरासीका युवाहरुले ३० हजार नेपाली रुपैयाँ, चितवन घर भई हाल हङ्गकङ्ग बस्दै आएका कृष्ण गुरुङले एक लाख ६५ हजार नेपाली रुपैयाँ सहयोग गरेका छन् ।

जापानमा रहेका नवलपरासीका युवाहरुले नवलपरासी समाज जापानद्वारा एक लाख ९ हजार नेपाली रुपैयाँ पठाएको संयोजक यादव केसीले बताए । यसमा ३५ जना युवाहरुले उक्त रकम पठाएका हुन् ।
सापकोटाको उपचारको लागि उनकै नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ३२०००२८२१३१० मा रकम जम्मा गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment