Comments Add Comment

साना क्लबविरुद्ध किन कमजोर बार्सिलोना ?

२६ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगामा आइतबार राति रियल बेटिस क्याम्प नाउमा छिर्नुअघिसम्म बार्सिलोनाले कति गोल हान्ला भन्ने बहस ठूलो थियो । बार्सिलोनाले तीन गोल हान्ने विश्लेषकहरुको अनुमान त सही देखियो तर रियल बेटिसले चार गोल हानेर महत्वपूर्ण तीन अंक जित्यो ।

बार्सिलोना घरेलु मैदानमा दुई वर्षपछि पराजित मात्र भएन, यो सिजन कमजोर भनिएका टिमसँगको कमजोर प्रदर्शनलाई प्रमाणित ग¥यो । दुई वर्षअघि घरेलु मैदानमा अलाभेससँग २–१ ले हारेको बार्सिलोना र अहिले रियल बेटिससँग ४–३ ले हारेको बार्सिलोनामा धेरै नै अन्तर देखियो ।

चोटका कारण झण्डै तीन हप्ताको आरामपछि टिममा फर्किएका लियोनल मेस्सीले एक गोल पेनाल्टीमा गरे, अर्को गोलका लागि आर्टुरो भिडालले उत्कृष्ट पास मिलाइदिए । जसका लागि मेस्सीले बललाई पोस्टको दिशा दिन मात्रै बाँकी थियो । मेस्सीले एकल प्रयासमा बनाएका केही राम्रा अवसर सदुपयोग भएन ।

हार र जित भन्दा पनि बार्सिलोनाका लागि यो सिजन चिन्ताको विषय कमजोर देखिएको डिफेन्स नै हो । ला लिगामा १२ खेलमा ७ जित, ३ बराबरी र २ हारसहित २४ अंक बनाएको बार्सिलोनाले यो सिजन लगातार १० खेलमा गोल खाएको छ ।

पहिलो खेलमा अलाभेसलाई ३–० ले र दोस्रोमा भायाडोलिडलाई १–० ले हराएपछि बार्सिलोनाले हरेक खेलमा गोल खाएको छ । ला लिगामा १२ खेलमा ३४ गोल गरेर १८ गोल खाएको बार्सिलोनाको प्रदर्शन साना क्लबसँग नै खराब छ ।

बार्सिलोनाले हुएस्कासँग २, रियल सोसिडाडसँग १, जिरोनासँग २, लेगानेससँग २, एथ्लेटिको बिल्बाओसँग १, भ्यालेन्सियासँग १, सेभिल्लासँग २, रियल मड्रिडसँग १, रायो भालेकानोसँग २ र रियल बेटिसँग ४ गोल खायो ।

यसअघि १९९८ मा लुइस भान गाल प्रशिक्षक हुँदा बार्सिलोनाले लगातार १२ खेलमा गोल खाएको थियो । यो सिजन एथ्लेटिको मड्रिड, भिल्लारियल र इस्पान्योलसँग गोल खाएमा बार्सिलोनाले त्यो खराब कीर्तिमान तोड्ने छ ।

सेभिल्ला, इन्टर मिलान, रियल मड्रिड, टोटनह्यामसँग खेल्दा बार्सिलोनाको खेल जस्तो देखिएको थियो अरु क्लबसँग त्यो देखिएन । जुन असाध्यै अपत्यारिलो छ । किन यस्तो भइरहेको छ त ? उत्तर सजिलो छ, महत्व दिइएका ठूला खेलमा मात्रै टिम प्रेरित भइरहेको छ ।

रियल बेटिससँगकै खेल हेर्ने हो भने पनि २ गोलले पछि परेपछि बार्सिलोनाले दोस्रो हाफमा त्यो ‘प्रेरणा’ देखाएको थियो । जसले गर्दा दोस्रो हाफमा तीन गोल गर्न सक्यो ।

स्पेनिस ला लिगामा यो सिजन बार्सिलोनाको प्रदर्शन साना क्लबसँग किन राम्रो भइरहेको छैन भनेर सोच्न प्रशिक्षक एर्नेस्टो भालभर्देले ढिला गरिसकेका छन् ।

केही खेलको नतिजा जे जस्तो भए पनि ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले च्याम्पियन्स लिगमा समेत राम्रो गर्ने हो भने प्रशिक्षक भालभर्देले केही नयाँ सोच विकास गर्नुपर्ने नै देखिन्छ । बार्सिलोनाको खराब अवस्था धेरैजस्तो ४–३–३ को फर्मेसनमा नै देखिएको छ ।

मेस्सी घाइते रहँदा भालभर्देले ४–४–२ को फर्मेसनमा राम्रो नतिजा निकालिरहेका थिए । मिडफिल्डमा स्थायी खेलाडीको खोजीमा रहेका भालभर्देका लागि यही नै उत्कृष्ट फर्मेसन बन्न सक्छ । अवस्था हेरेर निर्णय लिनुपर्नेमा भालभर्देले खेलाडी हेरेर निर्णय लिइरहेको फुटबल विश्लेषकहरु बताउँछन् ।

रियल बेटिससँगको खेलपछि प्रशिक्षक भालभर्देले आफूहरुको पहिलो हाफ खराब हुँदा हारेको बताए पनि अवस्था त्यति मात्रै होइन । पहिलो हाफको सुरुमा आक्रामक देखिएको बार्सिलोना गोल खाएपछि नै सुस्ताएको थियो । दोस्रो हाफमा पनि बार्सिलोनाले खाएका दुई गोल राम्रा थिएनन् ।

‘जुनसुकै समयमा पनि खेलमा फर्कन कठिन हुन्छ । हाम्रो पहिलो हाफ राम्रो भएन, त्यसैको फाइदा उनीहरुले लिए । हामीले अट्याकमा जस्तो गर्नुपर्ने हो त्यस्तो गर्न सकेनौं’ भालभर्देले भने, ‘अब हामीले फरक रुपमा सोच्नुपर्ने बेला आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment