Comments Add Comment

अर्को वर्ष गैंडाको गणना

२७ कात्तिक, काठमाडौं । अर्को वर्ष नेपालमा गैंडाको गणना गरिने भएको छ । सन् २०१९ को सुरुमै गणना सुरु हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए ।

‘अर्को वर्ष गैंडाको गणना गर्ने सोच बनाएका छौं । अहिले आर्थिक स्रोतहरु खोजी गर्दैछौं,’ उनले अनलाइनखबरसँग भने ।

यसअघि सन् २०१५ मा नेपालमा गैंडाको गणना गरिएको थियो । त्यतिबेला नेपालमा गैंडाको संख्या ६४५ थियो । तिमध्ये सबैभन्दा धेरै चितवनमा ६०५ वटा थिए । हाल चितवन, पर्सा, शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाहरु छन् । अहिले गैंडाको संख्या बढेको अनुमान छ ।

सन् २०१९ मा हुने गैंडाको गणनालाई महत्वपूर्ण मानिएको छ । किनभने राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुले कति वटासम्म गैंडालाई धान्न सक्छ भनेर बुझ्नका लागि पनि गणना जरुरी रहेको खड्का बताउँछन् ।

विश्वमै दुर्लभ एकसिंगे गैंडा नेपालमा पाइन्छ जुन पर्यटकको मुख्य आकर्षण हो । त्यसैले एकसिंगे गैंडाको प्रभावकारी संरक्षणका लागि सरकारले सन् २०१७ देखि २०२१ सम्म पाँच वर्षे कार्ययोजना अनुसार काम गरिरहेको छ । यसका लागि झन्डै ५६ करोड खर्च हुने अनुमान छ ।

हाल नेपालमा चोरी शिकारीको कारणले भन्दा प्राकृतिक कारणले गैंडाहरुको मृत्यु हुने गरेको छ । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा प्राकृतिक कारणले मरेको तथ्यांक छ । यो तथ्यांक निकुञ्जले अपेक्षा गरेको भन्दा धेरै हो ।

निकुञ्जले दिएको जानकारी अनुसार गत वर्ष कालगतिले ८, जुधेर ४, बाढीमा परेर ४, बाघको आक्रमणबाट ४, रोगका कारणले ३, ब्याउन नसकेर १ र कारण नखुलेका २ गरी २६ गैंडाको मृत्यु भएको थियो । त्यसमा भाले १२, पोथी १० र नखुलेको ४ गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा २५ वटा गैँडा मरेका थिए । त्योमध्ये एउटा गैंडा तस्करले मारेका थिए । निकुञ्ज कार्यालयको तथ्यांक अनुसार सन् २०१४ मा ८ वटा, २०१५ मा १५ वटा, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंँडा मरेका छन् ।

सबैभन्दा बढी सन् २००२ मा ३६ वटा, सन् २००३ मा ३० वटा, सन् २००५ मा १६ वटा र सन् २००० मा १५ वटा गैँडा चोरीशिकारीका कारण मारिएका थिए ।

यो पनि पढ्नुहोस्

नेपालले चीनलाई उपहार दिएका सबै गैंडा स्वस्थ, पार्कमा राखियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment