+
+
Shares

सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते ८:२७
Photo Credit : Aljazeera

१ साउन, काठमाडौं । इजरायलले सिरियाको रक्षा मन्त्रालयमा आक्रमण गरेको छ । बीबीसीका अनुसार इजरायली सेनाले बुधबार राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय र दक्षिणी भूभागमा रहेका सरकारी कार्यालयहरु माथि निशाना बनाएको थियो । यो आक्रमणबाट कम्तिमा तीन जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहुले सीरियामा ड्रुज समुदायलाई जोगाउन र सशस्त्र गिरोहलाई अन्त्य गर्ने उद्देश्यले आक्रमण गरेको जिकिर गरेका छन् ।

सिरियाको ड्रुज र आदिवासी बद्दु समूहबीच साम्प्रदायिक हिंसा भड्किएको छ । उनीहरुबिचको संघर्षमा हालसम्म करिब ३०० जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ । यही संघर्षको बीचमा इजरायलले ड्रुजलाई जोगाउन भन्दै आक्रमण गरेको हो ।

इजरायली सेनाका लेफ्टिनेन्ट जनरल एयाल जामिरले आक्रमणपछि भनेका छन्, ‘हामी सिमापार शत्रुहरूको स्थायी उपस्थिति रोक्न, इजरायली नागरिकहरूको रक्षा गर्न र ड्रूजÞ नागरिकहरूलाई क्षति हुन नदिन निर्णायक रूपमा कदम चालिरहेका छौं ।’

इजरायल–ड्रुज सम्बन्ध

सिरियामा ड्रुज समुदाय आत्मरक्षा, क्षेत्रीय सुरक्षा र समुदायको अस्तित्वका लागि लडिरहेका छन् । यी समूहहरू सरकारले गरेको अन्याय, अत्याचार भ्रष्टाचार वा सैन्य जबर्जस्तीको विरोधमा पनि उत्रिन्छन् ।

इजरायलले ड्रुजको समर्थन र सिरियाको शासकलाई सबक सिकाउन आक्रमण गरेको जनाएको छ ।

सिरियामा ड्रुजहरूको धेरैजसो जनसंख्या दक्षिणी क्षेत्र सुवेइदामा छ । ड्रुज मुख्य रूपमा सिरिया, लेबनान, इजरायल र जोर्डनमा बसोबास गर्छन् ।

इजरायलमा १ लाख बढी ड्रुज समुदायका बासिन्दाको बसोबास रहेको अनुमान छ । उनीहरूमध्ये अधिकांशले इजरायली सैन्य सेवामा समेत सेवा दिएका छन् । यसैले इजरायलको सरकार र सेनातर्फ उनीहरू बफादार देखिन्छन् ।

उनीहरु आफ्नो गाउँ र परिवारलाई इस्लामिक स्टेट (आईएसआई) वा अन्य चरमपन्थीहरूबाट जोगाउन विभिन्न नामबाट सशस्त्र समूह खडा गरेका छन् ।

सिरियाले गर्‍यो इजरायलको आलोचना, अमेरिकाको समर्थन

सिरियाले भने इजरायलले धोकापूर्ण तरिकाले आक्रमण गरेको आरोप लगाएको छ । यसैगरी अमेरिकाले यो लडाइँ शान्तिमा परिणत हुने विश्वास व्यक्त गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियामा भइरहेको हिंसाबाट चिन्तित रहेको र यो छिटै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।  उनले शान्ति कायम गर्नका लाग केही कदम उठाएको एक्समा लेखेका छन् ।

सिरियाले हालको संकट शान्तिपूर्ण ढंगले समाधान गर्ने अमेरिकाको प्रयासको स्वागत गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?