Comments Add Comment

जापानमा नेपाली कामदार पठाउनेबारे छलफल हुन्छ : मन्त्री ज्ञवाली

२८ कात्तिक, काठमाडौं । जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारी दिलाउनेबारे छलफल हुने बताए ।

जापानी विदेशमन्त्रीको निमन्त्रणामा मंसिर २ गतेदेखि एक साता लामो भ्रमणका क्रममा ज्ञवाली जापान जाँदैछन् । सरकारी तहबाटै समझदारी गरेर जापानको श्रम बजारमा नेपाली कामदार पठाउनेबारे छलफल भइरहेको उनले बताए ।

मन्त्री ज्ञवालीले कुवेत लगायत खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको रोक भने तत्काल खुलाउने अवस्था नरहेको बताए । उनले ती मुलुकबाट नयाँ व्यवस्था सहित घरेलु कामदार सम्बन्धी सम्झौता गर्न प्रस्ताव आएकाले श्रम मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए ।

घरेलु कामदार पठाउन रोकिदा अवैध बाटोबाट महिलाहरु श्रम गन्तव्यमा जाने क्रममा जोखिम बढेको उनले स्वीकार गरे । नेपाली महिला थप जोखिममा नपर्ने गरिमात्र घरेलु कामदार पठाउन स्वीकृति दिनुपर्ने उनले बताए ।

राजदूत नियुक्ति छिट्टै

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि छिट्टै पठाउने बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि (राजदूत) खाली रहेको भन्दै त्यो पनि छिट्टै नियुक्त गरिने जानकारी दिए । ‘सकेसम्म राजदूतावासहरु खाली नहुन भन्ने हुन्छ । तर, कहिलेकाहीँ काम गर्दा गर्दै भ्याइन्न’, मन्त्री ज्ञवाली भन्छन्, ‘बाँकीमा पनि क्रमश गछौं ।’

यसअघि यही कात्तिक २५ गते मात्रै सरकारले भारत, मलेसिया र युएईका लागि क्रमश निलाम्बर आचार्य, उदयराज पाण्डे र कृष्ण ढकाललाई राजदूत सिफारिस गरेको छ । तर, राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि पद रिक्त छ ।

राजदूत रिक्त हुनुभन्दा तीन महिना पहिले नयाँ नियुक्तिको प्रक्रिया सुरु गर्नुपर्ने प्रचलन छ । ‘ढिलाई हुनुहुँदैन भनेर हामीले निर्देशिकामा राजदूत रिक्त हुनुभन्दा तीन महिना पहिले नै निर्णय गर्ने गरी निर्देशिका बनाएका छौं’ उनले भने ।

सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णयबारे पत्रकारले सोधेको प्रश्नमा मन्त्री ज्ञवालीले त्यो स्वभाविक भएको बताए । मन्त्रालयको कामका लागि सरकारले फिर्ता बोलाउन सक्ने उनको भनाइ थियो । स्रोतका अनुसार राईलाई संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधिमा पठाउन फिर्ता बोलाइएको हो ।

चिनिया पर्यटनमन्त्रीको नेपाल भ्रमण उपलब्धीमूलक

मन्त्री ज्ञवालीले चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङको नेपाल भ्रमण उपलब्धीमूलक रहेको बताए ।

लु को नेपाल भ्रमणले नेपालको सन् २०२० को भ्रमण वर्षलाई मद्दत पु¥याउने उनले बताए । बुधबार बिहान चिनियाँ पर्यटन तथा संस्कृतिमन्त्री लु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment