Comments Add Comment

गर्भावस्थामा प्लाष्टिकको प्रयोगले बच्चालाई असर, हुनसक्छ शारीरिक अपाङ्गता

आँखा चिम्लेर एकपटक सोचौं त, प्लाष्टिकको प्रयोग बिना हाम्रो दैनिकी चल्छ ?

बिहान उठ्नसाथ मनतातो पानी पिउँछौं । उक्त पानी प्लाष्टिकको जार वा ट्यांकीमा भण्डारण गरिएको हो । प्लाष्टिकमा प्याकेजिङ गरिएको दुध पिउँछौं । प्लाष्टिककै बोत्तलमा पानी भरेर छोराछोरीलाई विद्यालय पठाउँछौं । प्लाष्टिकको बोत्तलमा राखिएको दाल-चामल पकाउँछौं । बजारदेखि भान्सासम्म प्लाष्टिक नै प्लाष्टिक छ । अर्थात हामी प्लाष्टिकको घेराबन्दीमा छौं ।

दैनिक प्रयोगको लागि प्लाष्टिक छरितो र सस्तो साधन पनि हो । चाहे बजारबाट सब्जी ल्याउन होस् वा घिउ, दही, नुन राख्न, प्लाष्टिककै झोला, बट्टा प्रयोग गरिन्छ । भान्सामा एक नजर लगाउनुहोस् त, तेल, आँटा, चिनी, ब्रेड, बटर, जाम, सस आदि सबैकुरा प्लाष्टिकको भाँडामा प्याक गरिएका छन् । बजारमा पनि प्लाष्टिकमै प्याक गरिएर आउँछ ।

तर, प्लाष्टिकमा बन्द गरिएको, प्लाष्टिकमा भण्डारण गरिएको, प्लाष्टिकमा राखिएको खानेकुरा एकदम हानिकारक हुन्छ । यसको हानी तत्काल देखिदैन । त्यही कारण प्लाष्टिकको प्रयोगप्रति हामी उति सचेत र सावधान हुँदैनौं । तर, यसको दीर्घकालिन असर थाहा पाउने हो भने, प्लाष्टिक हाम्रो दैनिकीमा रोग बनेर भित्रिएको छ ।

एक अध्ययनका अनुसार पानीमा नघुल्ने र बायोकेमिकल एक्टिभ नहुने कारणले शुद्ध प्लाष्टिक कम विषालु हुन्छ तर, जब यसमा अर्को किसिमको प्लाष्टिक र रंगहरु मिसाइन्छ यो हानीकारक साबित हुन सक्छ ।

गर्मीको मौसममा ती केमिकल खेलौना वा अन्य उत्पादनहरुबाट पग्लेर बाहिर निस्कन सक्छन् । यो खतरालाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाले बच्चाको खेलौना र चाइल्ड केयर प्रोडक्टहरुमा यस खालको प्लाष्टिकको प्रयोलाई सीमित गरेको छ ।

यसैगरी यूरोपले पनि सन् २००५ मै यसमाथि प्रतिबन्ध लगाएको थियो । पछि जापान समेत अन्य ९ देशहरुले पनि यसमाथि प्रतिबन्ध लगाएका छन् ।

यसै त हामी सबै मानिस पानीको लागि बोतल वा खाना राख्नको लागि प्लाष्टिकको लञ्चबक्सको प्रयोग गर्छौं तर, यसबाट हुने हानीको बारेमा हामी अनभिज्ञ छौं ।

प्लाष्टिकले मानव स्वास्थ्यमा यसरी असर गर्छ

सहज रुपमा पाइने प्लाष्टिकको भाँडाले मानव स्वास्थ्यमा खतरनाक असर गर्न सक्छ । विशेषगरि प्लाष्टिकको भाँडामा प्रयोग हुने रसायनले बालबालिका, गर्भवती महिला र रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरुलाई बढी असर गर्छ ।

साना बच्चाहरुको रोगप्रतिरोधी प्रणाली कमजोर हुने भएकाले प्लाष्टिकको प्रयोगले उनीहरुलाई धेरै हानी गर्छ ।

त्यस्तै गर्भवती महिलाको पेट भित्रको बच्चालाई पनि प्लाष्टिकको भाँडाको धेरै प्रयोगले असर गर्न सक्छ । जन्मने बच्चामा यसले शारीरिक अपांगता, मस्तिस्क घात, मुटुरोग देखा पर्न सक्छ ।

प्लाष्टिकमा हुने रसायनको कारण महिलाहरुमा स्तन क्यान्सर पनि देखिन सक्छ । पुरुषहरुमा भने मधुमेह, मुटुरोग, घाँटीको क्यान्सर र प्रजजन क्षमतामा असर गर्न सक्छ ।

त्यसैले प्लाष्टिकको भाँडाहरुको प्रयोगमा कमी ल्याएमा वातावरणलाई स्वच्छ बनाउने मात्रै होइन मानव स्वास्थ्य पनि राम्रो बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment