Comments Add Comment

राजदूतमा सिफारिस अञ्जान शाक्य को हुन् ?

२९ कात्तिक, काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर चार दिन अघि बसेको मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गरे ।

जसमध्ये एक थियो, इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गर्ने ।

पूर्वमन्त्री र राप्रपाका नेता समेत रहेका थापालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएका थिए ।

कांग्रेस र तत्कालीन माओवादीको गठबन्धन सरकारका बेला राप्रपाको कोटामा राजदूत बनेका थापालाई फिर्ता बोलाउनु स्वभाविक भएको सत्तारुढ नेकपाका नेताहरु बताउँछन् । तर, रिक्त पदमा शाक्यको सिफारिसमा भने ‘राजदूत नै बनाएको हो र’ भन्ने प्रतिक्रिया दिएका छन् ।

को हुन् शाक्य ?

यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो साधै आफू भन्दा

बोलको चर्चित गीतकी गायिका हुन् शाक्य । साथै प्रदेश ३ का नेकपा (तत्कालीन एमालेबाट निर्वाचित) का सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् । तर, त्यही कारण उनी इजरायलका लागि राजदूत सिफारिस भएकी भने होइनन् ।

नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् ।

प्रधानमन्त्री ओलीसँगै अञ्जान शाक्य ।

तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् ।

नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो ।

शाक्य नेकपाको संगठनमा भने क्रियाशील छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment