Comments Add Comment

गायक-गायिकालाई सुन्ने कि हेर्ने ?

टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेउ
टुटिसकेको मायालाई साथी एकफेर गाँसीदेउ

माथि उल्लेखित गीत निकै पुरानो हो, तर नयाँ पुस्ताका संगीतप्रेमीमाझ पनि उत्तिकै जीवन्त छ । यस गीतका गायक बच्चु कैलाशलाई अहिलेको पुस्ताका कतिले चिनेका होलान् ?

जतिबेला बच्चुले यो गीत गाए, मोबाइलको आविष्कारै भएको थिएन । यूट्युव त कल्पनामै थिएन । सन् २०११ मा आएर ‘हिमाली स्वरहरु’ नामक च्यानलबाट यो गीत यूट्यूव अपलोड गरियो, जसमा बच्चु कैलाशको एउटा ब्ल्याक एन्ड ह्वाइट फोटो प्रयोग गरिएको छ । धेरै दर्शकले बच्चुलाई यही एउटा तस्वीरमा देखेका होलान् र गीत सुन्दै उनका बारेमा कल्पना गर्लान् ।

रेडियो नेपाल र एफएमहरुको एकछत्र बजार रहँदासम्म गायक-गायिका स्रोताका लागि कल्पनामा सीमित थिए । उनीहरुको स्वरकै आधारमा अनुहार कल्पिन्थे । अनुहार नदेखाए पनि गायक-गायिका कम चर्चित भने थिएनन् ।

तर, अहिले समय बदलिएको छ । डिजिटल युगमा प्रवेशसँगै आज गीत सुन्नेभन्दा पनि हेर्ने चिज भएको छ । मोबाइलमा युट्युव खोल्नेवित्तिकै छ्यास्छ्यास्ती म्युजिक भिडियोहरु हेर्न पाइन्छ ।

भिडियोको लोकपि्रयतासँगै गायक-गायिकामा पनि अनुहार देखाउने मोह ह्वात्तै बढेको छ ।

इन्दिराको कम्मर हिट, मिलन मोडलिङमा फिट

‘उध्रेको चोली छ है त्यो पनि लाइन्छ’ बोलको गीत चलचित्र ‘लुट’मा समावेश छ । यो गीतमा आवाज दिँदा इन्दिरा जोशी खासै परिचित थिइनन् । यो गीतको भिडियोमा नायिका सुष्मा कार्कीलाई दर्शकले हेर्न पाउँछन् । तर, गीतमा नदेखिएकी गायिका इन्दिरा रातारात हिट भइन् ।

यो गीत हिट भएपछि इन्दिरालाई आफ्नो गीतमा आफैं मोडलिङ गर्ने लहड चल्यो । उनले केही आफ्ना गीतमा आफै मोडलिङ गरिन् । यसपछि त दर्शकको ध्यान इन्दिराको स्वरमा भन्दा फिगरमा केन्द्रित  भयो । उनको कम्मर लच्काइमा नै दर्शक रमाउन थाले ।

तपाईंले चलचित्र ‘नोट बुक’मा समावेश ‘गाला रातै गाला रातै’ बोलको गीत त पक्कै सुन्नुभएकै होला । यो गीतको भिडियोमा नायिका नीता ढुंगाना देखिएकी छिन् । तर, यसमा स्वर दिएकी गायिका मिलन अमात्य हिट भइन् । यसपछि उनले नेपाली चलचित्रको पाश्र्व गायनमा आफूलाई स्थापित नै गराइन् । उनको स्वरको जादु देश तथा विदेशमा चल्यो ।

मिलनलाई अब यतिले मात्र पुगेन । उनले आफ्नो मोटो ज्यान घटाइन् । तर, फिट रहन होइन, आफ्नो गीतमा आफैं मोडलिङ गर्न । त्यसपछि उनले मोडलिङ गरेको ‘लठ्ठै बनायो’ बोलको गीत बजारमा आयो । गीतले भन्दा उनको फिट फिगरले बढी चर्चा पायो । किनकि, दर्शकले उनको स्वरमा डुब्नै पाएनन् । बरु उनको सुन्दरतामा डुबे ।

मिलनले नै आवाज दिएको र मोडलिङ गरेको ‘विश्व सुन्दरी’ गीतको कथा पनि उस्तै छ । जब मिलन सुनिन भन्दा हेरिन थालिन्, उनको क्रेज ह्वात्तै खस्कियो । चलचित्र पाश्र्व गायनमा अहिले उनको त्यति चर्चा छैन ।

मिलन र इन्दिरा त प्रतिनिधि पात्र मात्र हुन् । अहिले, अधिकांश गायक-गायिकाले आफ्नै युटुब च्यानल खोलेका छन् । युटयुब च्यानलका लागि आफै गीत गाउने, आफैं मोडलिङ गर्ने र भिडियो बुस्ट गरेर भ्युजको पछाडि कुद्ने महामारी नै चलेको छ । यसरी बुस्टमा रमाएको प्रतिभा कति लामो समयसम्म टिक्न सक्ला त ?

किन आफैं मोडलिङ ?

गायक प्रमोद खरेलले आफूले गाएका धेरै गीतको भिडियोमा लिप्सिङ गरेका छन् भने कतिपय गीतमा मोडलिङ पनि गरेका छन् । यो विषयमा प्रमोद भन्छन्- ‘सायद, प्रविधिको विकास भएर पनि हुन सक्छ, अहिले मानिसले गीत सुन्ने र हेर्ने भनेको नै युटुबमा हो । त्यसैले पनि समयको माग अनुसार चलेको चलन हो ।’

गायक युवराज चौलागाईंले पछिल्लो समयमा आफूले स्वर भरेको गीतमा आफै मोडलिङ गर्ने गरेका छन् । युवराज यसलाई सकारात्मक र नकारात्मक दुबै तरिकाले हेर्छन् । उनी भन्छन्- ‘आफैंले मोडलिङ गर्नु नै गलत होइन । तर, आफूले अभिनय नै गर्न नसक्ने गीतमा जबर्जस्ती मोडलिङ गर्नु भने गलत हो ।’

अहिले जोकोही पनि दर्शक माझ चिनिन चाहने भएकाले पनि भिडियोमा देखिन खोज्नु स्वभाविक भएको युवराज बताउँछन् ।

आफ्नो गीतको भिडियोमा आफैं देखिने गायिकामा सहिमा श्रेष्ठ पनि पर्छिन् । उनी, सुरुवातदेखि नै सकी-नसकी आफैं अभिनय गरिरहेकी छिन् । सहिमाले यसलाई रहर र बाध्यताको रुपमा व्याख्या गरिन् । उनले भनिन्- ‘हामी गीत गाउनमा मात्रै सीमित भयौं भने स्टेज कार्यक्रममा पुग्दा दर्शकले चिन्नु नै हुँदैन । यसैले पनि देखिनुपरेको हो । अर्कोतिर, व्यवसायिक मोडलहरुको माग धान्न पनि मुश्किल छ । त्यसैले, मोडलिङ आफै गरिन्छ ।’

धेरैको देखिने रहर

म्यूजिक भिडियोमा आफैं मोडल बन्ने प्रवृत्ति बढ्नुमा गायक-गायिकाको देखिने रहरले काम गरेको छ । भिडियोमा आफैं देखिँदा देश तथा विदेशमा स्टेज शोका लागि माग आउने उनीहरुको सोच छ ।

आजकल १० प्रतिशत म्युजिक भिडियो र गीतलाई छाड्ने हो भने ९० प्रतिशत त रहर पूरा गर्नकै लागि बनेका छन् । युटुबमा भिडियो हालेर बुस्ट गर्नेवित्तिकै दर्शकले चिनिहाल्छन् र आफू सेलिव्रेटी भइन्छ भन्ने भ्रममा छन् धेरै कलाकार ।

देखिने रहरले पछिल्लो समयमा चलेका गायक-गायिकालाई समेत गाँजेको छ । अन्यथा रामकृष्ण ढकाल, प्रमोद खरेल, शिव परियार, दिपक बज्राचार्य लगायतका गायकहरु आफै मोडल बन्नुको अर्को कारण देखिँदैन ।

अहिले त झन्, आफ्नो गीतमा उत्तेजक हाउभाउसहित मोडलिङ गर्ने प्रचलन बढेको छ । स्वरका पुजारी गायक गायिकामा अनावश्यक रुपमा बढेको यस्तो चाहनाले उनीहरुको स्वर भुत्ते हुन थालेको छ ।

नाम उल्लेख नगर्ने शर्तमा केही निर्देशकहरु, गायक-गायिकाले जर्बजस्ती अभिनय गरेको स्वीकार गर्छन् । कतिपय अवस्थामा त आवाज भर्नेलाई लिएर म्युजिक भिडियो बनाउन नै मुश्किल पर्ने उनीहरुको बुझाइ छ ।

म्युजिक भिडियो निर्देशक निशान घिमिरेको बुझाइमा धेरै गायक-गायिका पैसा बचाउन र पर्दामा देखिने लोभमा आफै मोडलिङ गरिरहेका छन् । उनले अनलाइनखबरसँग भने- ‘१० प्रतिशतलाई छाड्ने हो भने ९० प्रतिशत रहरले मोडल बनेका छन् । व्यवसायिक मोडलहरुलाई लिँदा म्यूजिक भिडियो महंगो पर्न जान्छ । त्यसैले उनीहरुले यसमा दोहोरो फाइदा देखेका छन् । तर, ९० प्रतिशत गायक-गायिकालाई अभिनय गराउन साह्रै नै सकस हुन्छ ।’

अर्का चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काको भनाइ पनि निशानको जस्तै छ । निकेश भन्छन्- ‘भिडियो बनाउँदा यत्रो लगानी अरुमाथि किन गर्ने भन्ने सोच पलाउन थालेको छ ।’

निकेशका अनुसार, यसरी गायक-गायिकाले जबरजस्ती आफैं अभिनय गर्दा निर्देशकको सोच अनुसारको भिडियो बनिरहेको छैन । उनले भने- ‘हामीले एउटा राम्रो प्लट बनाउछौं, तर गायक-गायिका आफै खेल्ने भनेपछि प्लट परिवर्तन गर्नुपर्छ । राम्रो बनाउने भन्दा पनि उनीहरुलाई सजिलोसँग कसरी अभिनय गराउन सकिन्छ भनेर सोच्नुपर्ने हुन्छ । त्यसैले पनि भनेजस्तो भिडियो बन्दैन ।’

गायक-गायिका आफै मोडल बन्नुका पछाडि व्यवसायिक मोडलहरुले चर्को पारिश्रमिक माग्नु पनि एउटा कारण हो । निकेशका अनुसार, अहिले चलेका मोडलहरुले एउटा भिडियोको ५० हजार माग्छन् । अर्कोतिर, उल्टै पैसा लगानी गरेर मोडल बन्नेहरु पनि छन् । यसले पनि भिडियोको गुणस्तर घटिरहेको छ ।

गीत लोकपि्रय हुन शब्द, संगीत र स्वर नै अब्बल हुनुपर्छ । त्यसपछि मात्र भिडियोको कुरा आउँछ । गीत गतिलो भएन भने जति तामझामको भिडियो भए पनि दर्शकले हेर्दैनन् । त्यसैले गायक-गायिकाले मोडलिङ छोडेर आफ्नो गायकीमै केन्द्रित  हुने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment