Comments Add Comment

पोखराका होटलमा ७० प्रतिशत अकुपेन्सी

३० कात्तिक, पोखरा । दशैं तिहार अघिसम्म आधा खाली रहेका पोखराका होटलहरुमा पाहुनाको संख्या क्षमताको ७० प्रतिशतसम्म पुगेको छ । दशैं तिहारको समयमा अकुपेन्सी ह्वात्तै बढेको र यो क्रम अझै रहेको होटल व्यवसायीहरुले बताएका छन् ।

पर्यटन क्षेत्रमा अक्टोबर र नोभेम्वर पिक सिजन मानिन्छ । तर यस वर्ष अक्टोबरको शुरुवातमा पर्यटक कम आउँदा होटल व्यवसायीहरु निराश भएका थिए । तर अक्टोबर अन्तिमदेखि पर्यटकको चाप ह्वात्तै बढेपछि आफूहरु उत्साहित भएको व्यवसायीहरुले बताएका छन् । तर अघिल्लो सिजनको जस्तो यसवर्ष अझै अकुपेन्सी नपुगेको पश्चिमाञ्चल होटल संघले जनाएको छ ।

पोखराका अधिकांश होटलमा ७० प्रतिशतसम्म अकुपेन्सी रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । नाम चलेका होटलहरुमा शत प्रतिशत र अन्य होटलमा कम्तीमा पनि ७० प्रशितशत अकुपेन्सी रहेको उनको भनाइ छ । उनका अनुसार पोखरामा दशैं र तिहारको बीचमा आन्तरिक पर्यटकको चाप बढी थियो ।

तर अहिले विदेशी पर्यटकको संख्या धेरै छ । दशैं र तिहारको समयमा विदाको मौका छोपेर घुम्न आउने कारण आन्तरिक पर्यटकको संख्या धेरै हुने उनले प्रष्ट्याए । अघिल्लो वर्ष ९० प्रतिशतसम्म पुगेको अकुपेन्सी अहिले ७० प्रतिशतमा थामिएको उनले बताए । अहिले भएका पर्यटकमध्ये बाह्य पर्यटक ७० प्रतिशत र आन्तरिक ३० प्रतिशत रहेको उनले जानकारी दिए ।

पोखरामा सञ्चालित एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डमा ९० प्रतिशत अकुपेन्सी रहेको छ । होटल पोखरा ग्राण्डका सिनियर सेल्स म्यानेजर कमल शेरचनका अनुसार स्वदेशी विदेशी दुबै खासका पर्यटकको आगमन अहिले बढेको छ ।

पोखराको अर्को चर्चित माउण्ट कैलाश रिसोर्टमा पनि अहिले ७० प्रतिशत अकुपेन्सी रहेको छ । केही दिन अघिसम्म ७५ प्रतिशत अकुपेन्सी रहे पनि अहिले केहि सुस्ताउँदै गएको माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईले बताए । उनका अनुसार काठमाडौंबाट पोखरा आउने सडक निर्माणाधीन अवस्थामा रहँदा यात्रा लामो र झञ्झटिलो हुने भन्दै बिदेशी पर्यटक कम आउने गरेका हुन् ।

लेकसाइडको बीच भागमा रहेको होटल डोनस्टीमा पनि अहिले ८० प्रतिशत अकुपेन्सी रहेको छ । होटलका सञ्चालक अशोक लामा रुम्बाका अनुसार दशैं र तिहारको बिचमा आन्तरिक पर्यटक धेरै भए पनि अहिले विदेशी पर्यटक बढी छन् ।

पश्चिमाञ्चल होटल संघमा आबद्ध करीब ४ सय होटलमा १० हजार कोठा र २० हजार बेड रहेको संघले जनाएको छ । यसबाहेक होटल संघमा आबद्ध नभएका करिब उत्तिकै संख्यामा होटल तथा रिसोर्टहरु पनि छन् ।

होटल संघका अध्यक्ष विकल तुलाचनले पर्यटकको बसाइ छोट्टिदा होटलहरुमा अकुपेन्सी सोंचेजस्तो नपुगेको बताए । विदेशी पर्यटक आएलगत्तै पदयात्रामा जाने र फर्किएकै दिन वा त्यसको भोलिपल्टै काठमाडौं फर्किदा पोखरा बसाई कम हुनेगरेको उनले बताए । उनले पर्यटकको आगमनमा वृद्धि ल्याउने हो भने अब पदयात्राका लागि नयाँ नयाँ रुटहरुको खोजी गर्नु बताए । साथै पर्यटनकै नयाँ गन्तव्य पनि थप्दै जानुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment