+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.3)
VS
८७ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कर दिवसः वीरगञ्जमा बाजागाजासहित प्रभातफेरि

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १ गते १३:०४

१ मंसिर, वीरगञ्ज । राष्ट्रिय कर दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरि निकालिएको छ । कार्यक्रममा सहभागी सरोकारवालाले विभिन्न पेशा र व्यवसायमा आवद्ध मानिसहरुलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । अझैपनि धेरै मानिसहरु करको दायरामा आउन बाँकी रहेको र राज्यले करको दायरामा ल्याउन पहलकदमी गर्नुपर्ने उनीहरुको जोड थियो ।

दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय वीरगञ्जले आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले कर लिने व्यवहारमा परिवर्तन आइसकेकाले सबैपक्षले सहयोग गर्नुपर्ने बताए । ‘पहिला जसरी पनि नगद होस् वा जिन्सी कर लिने भन्ने चलन थियो,’ उनले भने, ‘अब यसमा परिवर्तन आएको छ । करदाताले खुशी खुशी कर तिरुन्, सहभागीता जनाउन्, सम्पत्तिको पारदर्शीता कायम गरुन् भन्ने भावना राखिन्छ ।’

राज्यलाई कर नतिर्दा तत्कालका लागि फाइदाजस्तो देखिएपनि पछि ऋणको भारी आफ्नै थाप्लोमा आउने उनको तर्क छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्याम प्रसाद भण्डारीले कर नतिरे राज्यबाट पाउने सुरक्षा र सुविधा पाउन कठिन हुने जानकारी गराए । उनले स्वेच्छिक रुपमा कर तिर्ने बानीको विकास हुन आवश्यक रहेकोमा जोड दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल केडियाले कर कार्यालय र करदाताबीचमा दुरी घट्दै जानु सकारात्मक भएको टिप्पणी गरे । ‘हाम्रो हजुरबुवाहरु भन्नुहुन्थ्यो, कर कम लिउन् भनेर कर कार्यालयमा जाने समयमा सम्पत्ती भएका मानिस पनि फाटेको कपडा, चप्पल समेत नलगाई पुग्थे,’ उनले भने, ‘अहिले त्यस्तो अवस्था त छैन तर करदाता स्वयं कार्यालय नगएर प्रतिनीधि पठाइन्छ, करदाता स्वयं कर कार्यालय जानुपर्छ ।’

नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले पर्सा जिल्लामा उद्योगी, व्यवसायी र विभिन्न पेशामा आवद्ध १० प्रतिशत मानिस मात्रै करको दायरामा रहदा समेत सरोकारवाला गम्भिर हुन नसक्नु दुःखद भएको बताए ।

यस्तो छ साताव्यापी कार्यक्रम

आन्तरिक राजश्व कार्यालय वीरगञ्जले राष्ट्रिय कर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम तय गरेको छ । सोहीअनुसार आज बिहान वीरगञ्जमा बाजागाजा सहित प्रभातफेरि निकालिएको हो । ‘करः समृद्ध नेपाल र सुखी नेपालीको भर’ भन्ने नाराका साथ वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरि माईस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुँदै कर कार्यालयमा पुगेर समारोहमा परिणत भएको थियो ।

प्रभातफेरिमा सहभागीले ‘वास्तविक मूल्य उल्लेख गरी विजक जारी गरौं’, ‘करको चर्चा घर घरमा गरौं’, ‘करसँग डर होइन, भर गरौं’, ‘यथार्थ कर तिरौं ढुक्कसँग कारोबार गरौं’, ‘हाम्रो पौरख, हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’, ‘कर अनिवार्य सत्य हो, विकास, शान्ति र समृद्धिको प्रतीक हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रभातफेरिमा विद्यार्थी, उद्योगी, व्यापारी, सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी सहभागी भएका थिए ।

त्यसबाहेक शनिबार नै पोखरीया बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया, वीरगञ्ज उद्योग वाणिज्य र आन्तरिक राजश्व कार्यालयबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता राखिएको छ ।

त्यसैगरी आइतबार रेडियो संवाद कार्यक्रम, सोमबार रक्तदान, मंगलबार करदाता शिक्षा तथा अन्तरक्रिया, बुधबार उच्च मावि तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता, बिहीबार कविता प्रतियोगिता र शुक्रबार समापन कार्यक्रम आयोजना गरी करदातालाई सम्मान गर्ने कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?