Comments Add Comment

मानव वस्ती छिर्न पल्कियो गैँडा !

१, मंसिर, चितवन । पछिल्ला दिनमा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रबाट दुर्लभ एकसिंगे गैँडा मानव बस्तीमा छिर्न पल्केका छन् ।

पहिला–पहिला मानिसले लगाएका अन्न खान रातको समयमा आउने गैँडा हिजोआज दिउँसै वस्तीसम्म आइपुग्छन् । कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएर वस्ती छिरेको एउटा गैँडा पूर्व राजमार्ग भएर लस्कियो । बाटोमा भेटेका घरपालुवा पशुचौपाया र सवारी साधनलाई हान्दै धकेल्दै अघि बढ्यो । यस क्रममा तीन व्यक्ति र अनेकन चौपाया घाइते भए ।

चितवनको व्यापारिक केन्द्र नारायणगढ बजारबाट करिब एक किलोमिटर तल बारम्बार गैँडा आउने गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले दिउँसै पनि वडा कार्यालय वरपर गैँडा देखिने गरेको बताए । नारायणगढ बजारको बेलचोक र बाह्रघरे क्षेत्रमा नियमितजसो रातको समयमा गैँडा आउने गर्छ ।

कहिले एक्लै त कहिले सानो वच्चासहित गैँडा सडकमा निस्कदा त्रास छाउँछ । तर, गैँडा वस्तीमा आउँदा हुने जोखिमप्रति सरकारी निकायको ध्यान गएको छैन ।

नारायणढमा मात्रै होइन, पर्यटकीय केन्द्र सौराहाका मूल सडकमा पनि गैँडा आउने गरेका छन् ।

सौराहामा तीन ठाउँबाट गैँडा आउने र डुल्ने गरेका छन् । गैँडा देखेर रमाउने, सेल्फी खिच्नेहरुको भीड लाग्छ । सडकमा गैँडा देख्दा पर्यटकहरु दंग गर्ने गरेको स्थानीय व्यवसायी पूर्ण रिजालले बताए । ‘हामीलाई त बानी परिसक्यौं । गैँंडासँग हाम्रो पुरानो चिनजान जस्तो भइसक्यो । न यहाँका मानिससँग गैँडा डराउँछ, न त गैंडासँग स्थानीय’ रिजाल भन्छन् ।

गैँडा आउँदा नजिकैबाट भिडियो खिचेर फेसबुकमा हाल्ने गर्दछन् रिजाल । केही समय अगाडि नारायणगढमा देखिएका गैंडासँग पनि मानिसहरु झुम्मिए र फोटो खिचेर फेसबुकमा राखे । गैँडा देख्दा रोमाञ्चक लागे पनि हिंस्रक जनावर भएकोले जुनसुकै बेला पनि दुर्घटना हुन सक्नेतर्फ सतर्कता देखिँदैन ।

वस्तीमा गैँडा आउनु एकछिनको रमाइलो भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे बताउँछन् ।

गैंडाले आक्रमण गरेमा मान्छेको ज्यान नै जान सक्छ । आक्रोशित स्थानीयले गैंडामाथि आक्रमण गर्न सक्छन् । बच्चासहित आउने गैँडा झन् खतरनाक हुन्छ । मान्छेलाई देख्ने बित्तिकै आक्रमण गर्न सक्छ । त्यसैले मानववस्तीमा गैँडा आउनु राम्रो नभएको बताउँछन् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल ।

गैँडा देखेपछि होहल्ला गर्ने, पिट्ने, लखेट्ने जस्ता कार्य भूलेर पनि गर्न नहुने उनको भनाइ छ । बसितमा गैँडा देखे प्रहरी वा निकुञ्जमा खबर गर्न पनि उनले आग्रह गरे । अर्यालले भने, ‘गैँडा रिसायो भने एक मिनेट पनि लाग्दैन मान्छे मार्न ।’

किन आउँछन् मानववस्तीमा गैँडा ?

नारायणगढको पुल्चोकबाट नगर वन क्षेत्र डेढ किलोमिटर पर छ । यहाँ नियमित गैँडा आउन थालेका छन् ।

पहिला यहाँ गैँडा देख्ने नगरेको स्थानीय बताउँछन् । नगरवनसम्म गैँडा आए पनि बजार नै भने निस्कदैनथे । यहाँको नगर वन नजिकै नदी किनारसँग जोडिएका सामुदायिक वनहरु छन् । वनहरूमा गैँडाहरु बाक्लै देखिन थालेका छन् ।

नारायणी नदी किनारको सिमसार क्षेत्रमा गैँडा आउन थालेको संरक्षणकर्मीहरु बताउँछन् । निकुञ्जभित्र सुख्खापन बढ्दै जानु, घाँसे मैदान आवश्यकताअनुसार व्यवस्थापन हुन नसक्नु, घाँसे मैदानलाई माइकेनिया नामको अतिक्रमित झारले ढाक्नु, दलदल र पानीको स्रोत कम हुँदै जाँदा गैँडा मानव वस्तीमा पस्न थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

वस्ती नजिक गैँडा देखिनु अवसर र चुनौती दुवै भएको उनको भनाइ छ । ढकालले भने, ‘गैँडा हेर्न पाउनु राम्रो हो तर, उचित व्यवस्थापन नहुँदा क्षति पनि हुन सक्छ ।’

बस्ती र निकुञ्ज एवम् मध्यवर्ती क्षेत्रमा आवातजावत रोक्ने गरी बार लगाउन सके यो समस्या कम हुने उनको भनाइ छ । स्थानीय तहहरूसँग समन्वय गरेर प्राविधिक सहायता निकुञ्जले गर्न सक्ने ढकालले आंैल्याए । उनका अनुसार निकुञ्जभित्र पनि गैँडाको वासस्थान व्यवस्थापनमा सुधारको प्रयास भइरहेको छ ।

आहारा र बासस्थानको उचित प्रबन्ध नहुँदा गैँडा मानववस्तीमा प्रवेश गर्न थालेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लले बताए ।

गैँडा बढे कि ?

गैंडाको संख्या नै बढी भएका कारण वस्तीमा आउन थालेका त होइनन् भन्ने जिज्ञासा पनि उत्पन्न भएको छ ।

तीन वर्षअगाडि सन् २०१५ मा गरिएको गैँडा गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैँडा थिए । २०१९ को सुरूमै गैँडा गणना सुरू गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।

निकुञ्जको कुल क्षेत्रफल र त्यसभित्र गैँडा रमाउने भूभागको एकीन जानकारी छैन । कति क्षेत्रफलको वासस्थानभित्र कतिसम्म गैँडा रहन्छन् भन्ने अध्ययन पनि भएको छैन । क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने गैँडा र मानव दुवैको सुरक्षाका लागि निकुञ्जले तत्काल कदम चाल्नुपर्ने बताउँछन् ।

पूर्वी क्षेत्रमा स्थानान्तरण प्रयास

पछिल्ला बर्षहरूमा पूर्वी क्षेत्रहरुबाट गैँडा क्रमशः पश्चिम क्षेत्रतर्फ सर्न थालेका छन् । पूर्वमा पहिला भेटिने गैँडा हिजोआज खासै नपाइने निकुञ्जले बताएको छ । तर, गैँडा पश्चिममा केन्द्रीत हुँदा वस्तीमा पस्ने क्रम बढ्न सक्ने देखिएको छ ।

धेरै गैँडा एकै ठाँउमा हुँदा आपसमा जुध्न पनि सक्छन् । गत बर्ष मात्रै आपसमा जुधेर चार गैँडा मरेका थिए ।

निकुञ्जले पश्चिमका गैँडा पूर्वमा स्थानान्तरण गर्ने तयारी थालेको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । सन् २०१९ मा गरिने गैँडा गणनाका क्रममा कुन क्षेत्रमा कति गैँडा छन् पत्ता लाग्ने र त्यसपछि स्थानान्तरणको काम गरिने उनको भनाई छ । स्थानान्तरण अघि पूर्वी क्षेत्रमा वासस्थान सुधार, चरिचरन निर्माणका कामहरु गरिने जानकारी प्रमुख ढकालले दिए ।

पाँच बर्षे कार्ययोजना

वासस्थान सुधार गर्दै गैँडाको संरक्षण गर्न सरकारले गत बर्ष पाँच बर्षे कार्ययोजना ल्याएको छ ।

झन्डै ५६ करोड रकम खर्चिने गरी सरकारले ल्याएको कार्यक्रम २०२१ सम्म चल्नेछ । कार्ययोजनामा निकुञ्जको कोर र मध्यवर्ती क्षेत्रमा गैंडाका लागि बासस्थान क्षेत्र बढाउने, घाँसे मैदान तयार गर्ने, पानीका घोल तयार गर्ने, मिचाहा प्रजातिका बिरुवा रोक्ने र अतिक्रमण हटाएर बासस्थान बढाउने लगायत छन् । मिचाहा प्रजातिको बिरुवाका कारण निकुञ्जको घाँसे मैदान, आहार र घोल क्षेत्र घटदै गएको छ । घोलहरु हिउँदमा सुक्दै गएका छन् । निकुञ्जले बर्षमा दुईदेखि पाँचसय हेक्टर घाँसे क्षेत्रमात्रै तयार गर्न सकेको छ ।

त्यसभन्दा बढि काम गर्न नसकिएको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन् । ‘पहिला खडखडाई खुल्ने, चरीचरन हुने, घाँस काट्ने काम हुँदा गैंडाका घाँसे मैदानहरु सुरक्षित हुन्थे तर अहिले त्यस्तो छैन’ ढकालले भने, ‘वासस्थान माँसिदै गएको छ । जति बनाउनुपर्ने हो त्यो हामीले गर्न सकेका छैनौं ।’

कार्ययोजनामा सरकारबाट दिइने क्षतिपूर्ति र राहतलाई प्रभावकारी बनाउने उल्लेख छ । गैंडाको वैज्ञानिक अध्ययन–अनुसन्धान र अनुगमनलाई प्राथमिकतामा राखिएको छ । गैंडाको संख्या वृद्धि गर्न तथा वैज्ञानिक व्यवस्थापन गर्न कम संख्या भएका क्षेत्रमा स्थानान्तरण गर्दै लैजाने कार्यक्रमसमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment