Comments Add Comment

डोटीमा महिला हिंसाका घटनाहरुमा कमी

२ मंसिर, डोटी । डोटीमा महिलामाथि हुने हिंसाका घटनाहरुमा कमी आएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीको अभिलेख अनुसार बिगत तीन वर्षको तथ्याङ्कमा महिलामाथि हुने हिंसाका घटनाहरुमा कमी आएको पाइएको हो ।

आर्थिक वर्ष०७२/७३ मा जिल्लामा लैङ्गकि हिंसा सम्वन्धी ४४ घटना भएका थिए । आर्थिक वर्ष ०७३/७४ मा लैङ्गकि हिंसाका घटना २५ भएका थिए ।

गत आर्थिक वर्षमा लैङ्गकि हिंसा सम्वन्धी १३ घटना मात्रै भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले जानकारी दिए । धामीका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा लैङ्गकि हिंसा सम्बन्धी दुईवटा घटना दर्ता भएका छन् ।

यस्तै, महिलामाथि हुने घरेलु हिंसामा पनि कमी आएको देखिएको छ । ०७२/७३ मा ७७ घरेलु हिंसाका घटना भएका थिए भने ०७३/७४ मा ४५ घटना भएका थिए ।

आर्थिक वर्ष ०७४/७५ मा ३७ वटा घरेलु हिंसाका घटनाहरु भएका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा घरेलु हिंसा सम्वन्धी चार घटना दर्ता भएका छन् ।

‘महिलामाथि हुने हिंसाका घटनाहरु बढी जसो मदिराका कारण हुने गर्छन’ प्रहरी नायव उपरीक्षक धामीले भने ‘बिभिन्न निकायहरु र प्रहरी आफैले पनि टोलटोलमा मदिराबिरुद्धका सचेतनामूलक अभियानहरु सञ्चालन गरेका कारण यस्ता घटनामा कमी आएको हुन सक्छ ।’ उनले डोटीमा हुने अधिकांश घटनाहरुको जरिय मदिरानै भएको देखिएकाले मदिरा नियन्त्रण गर्नका लागि सवैको पहल हुनु पर्ने बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले मानवअधिकार वर्ष पुस्तक २०१९ को पूर्व समीक्षाका लागि आयोजना गरेको एक कार्यक्रममा प्रहरी नायव उपरीक्षकले २०७२ साल साउनदेखि २०७५ कात्तिकसम्म ३१ जनाले आत्महत्या गरेको बताए । उनले भने ‘चालु आर्थिक बर्षको पहिलो चौमासिकमा मात्रै चार जनाले आत्महत्या गरेका छन्, प्रारम्भिक आँकडा हेर्दा आत्महत्याको संख्या गत वर्षको तुलनामा बढी हुने देखिन्छ ।’

गत आर्थिक वर्षमा झुण्डिएर आठ र बिष सेवन गरेर दुई गरी १० जनाले आत्महत्या गरेका थिए । यसवर्ष आत्महत्या गर्नेहरुमा दुई जनाले झुण्डिएर र दुई जनाले बिष सेवन गरेर आत्महत्या गरेका छन् ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जवरजस्तीकरणीका चार मुद्धा दर्ता भएका छन् । जवरजस्ती करणी उद्योगमा दुई घटना दर्ता भएका छन् । यस अवधिमा कर्तव्य ज्यानमा एक मुद्धा दर्ता भएको छ । यस अवधीमा १४ जना हराएकामा आठ जना अझै फेला नपरेको प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले मानवअधिकारको संरक्षणका लागि सवै क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने विचार व्यक्त गरे । उनले भने, ‘कानूनको सबैले पालना गर्ने हो भने मानवअधिकारका घटनाहरुमा आफै कमी आउँछ ।’

कार्यक्रमका सहभागीहरुले मानवअधिकार वर्ष पुस्तकमा जिल्लाको स्वास्थ्य, शिक्षा, खाद्य अधिकारको बिषयमा पनि उल्लेख गर्नु पर्ने सुझाव दिएका थिए । सो अवसरमा सन २०१८ मा जिल्लामा भएका १२ मानवअधिकार हनन्का घटनाहरुमाथि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment