+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

रवीन्द्र मिश्रलाई खुलापत्र

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते ८:१८

मिश्रजी, आउनुस् हातेमालो गरौं !

चर्चित पूर्वपत्रकार रविन्द्र मिश्रजी, सबै मान्छेको एक दिनमा २४ घण्टा हुन्छ । कोही दिनमा सक्रिय हुन्छन्, कोही रातमा । कहिले उज्यालोमा अनुकूल पर्छ, कहिले अँध्यारोमा । मध्यरातमा लेखियो वा मध्यदिनमा भन्ने कच्चा तर्क भन्दा कन्टेन्ट तथ्यपरक छ कि छैन, विषय सान्दर्भिक छ कि छैन भन्ने बहसमा आउनुस् । यसो गर्दा विषय अलि गहकिलो होला ।

हालसालैको एक लेखमा तपाईंले मौसम अनुसार बोल्नुपर्छ/चल्नुपर्छ भन्नुभएको रहेछ। अरूमा बोल्ने विषय र बेलाको कमनसेन्स नभएको लेख्नुभएको रहेछ । तपाईंको कोणबाट त्यो ठिकै हो, त्यसमा तपाईं पारंगत नै हुनुहुन्छ । तपाईं मौसम, आँधी,हुरी बतास, छाल, तापक्रम, प्रकोप सबै नापजोख गरेरै राजनीतिमा छिर्नुभएको हो । सत्य तीतो र एन्टीकरेन्ट हुन्छ प्रायजसो ।

यो संसारमा सबै मृदुभाषी र कर्णप्रीय बन्न खोज्ने हो भने सत्य कुराचाहिँ कसले बोल्छ होला ? कसले लेख्छ होला उत्पीडितको आवाज, जसलाई सधैंभरि सत्ताको डण्डाले थिचिराखेको हुन्छ ?

रामायण पढे रामको बखान, महाभारत हेरे कृष्णको महिमा, विष्णुपुराण सुने विष्णुको गुणगान ! तत्तत् पात्र महान् लाग्छन् । राजनीतिमा त्यस्तो हुन्न मिश्रजी, कर्णप्रीय होस् वा नहोस् निरन्तर आफ्नो कुरा राख्नु नै पर्छ, चाहे तपाईं एक्लो पर्नु किन नपरोस् । बहुदलकालमा दलीय व्यवस्थाको, शाही शासनमा शाही सत्ताको, गणतन्त्रमा गणतन्त्रकै वकालत गरेजस्तो कहाँ हो र राजनीतिक दृष्टिकोण भनेको ?

तपाईंले पुस्तक नै लेख्नुभएको छ ‘खान पुगोस्,दिन पुगोस्’ शीर्षकमा । राजनीतिमा तपाईँले भन्दै गरेको लोक कल्याणकारी राज्य सहितको इन्ट्री पनि त्यही मान्यतामा भएको हो । तपाईं समतामूलक समृद्धि होइन, परोपकारमा विश्वास गर्नुहुन्छ । यो दुनियाँमा कसैले केही दिनका लागि कोही न कोहीले हात थाप्ने हुनैपर्छ । सधैंभरि राज्यमा कोही न कोही माग्ने भइराख्नुपर्ने र तपाईं आफू चाहिं टन्न अघाएर दानदातव्यमा मखलेल हुने भूमिकाको कामना गर्नुहुन्छ । के तपाईं सम्पन्नहरूको उच्छिष्ठबाट गुजारा चलाउन तयार हुनुपर्ने एउटा पंक्तिसहितको राज्यको कल्पनाबाटै देश बन्छ भन्ने सपना देखिराख्नुभएको छ ? यो असमानता र सामन्ती सोच मात्र होइन, भाग्यवाद माथिको अकण्टक मोह पनि हो ।

भाग्यवादले भगवान भरोसामा छोडिदिन्छ सबथोक । कर्म नगरी मुलुक बन्दैन भन्ने कुरा मलाईभन्दा बढ्ता तपाईँलाई थाहा होला ।यही विन्दुबाट तपाईँ सच्चिनु जरूरी छ ।

‘हामी टायर बाल्ने राजनीति होइन,फूल रोप्ने राजनीति गर्छौं’ भन्ने तपाईँहरूको मीठो उद्घोषबाट म पनि निकै सम्मोहित भएँ । त्यो सम्मोहनबाट त्यतिबेला छुटकारा पाएँ, जब तपाईँहरूले परिवर्तनका खातिर भएको वलिदानीहरूलाई फगत हिंसाको रूपमा किटान गर्दै सत्तोसराप गर्न थाल्नुभो । सम्झनुस् त मिश्रजी, यही देशमा पाँचजना मान्छे सँगै हिंड्न नपाइने समय थियो । सम्झँदा हिजोअस्ति जस्तो लाग्छ । परिवर्तनका लागि सबैखाले संघर्ष नगरेको भए यसरी बोल्न, लेख्न पनि पाइन्थ्यो होला र ? रत्नपार्कमा घाम ताप्दै धर्ना बसेर र माइतीघर मण्डलामा प्लेकार्ड देखाएर आएको हो त यो परिवर्तन ?

आज धेरैजसो  राजनीतिक पार्टी परिवर्तन जोगाउँदै समृद्ध राष्ट्र निर्माणमा लागौं भन्ने ठाउँमा आइपुगेका छन् । त्यसको बाटो कस्तो हुने भन्ने बहस मात्र छ । तपाईँले भनेको कुनै नयाँ कुरा यो होइन । तपाईं न हिजोको संघर्षमा हुनुहन्थ्यो, न समृद्धिको पहिलो स्वप्नद्रष्टा नै हुनुहुन्छ ।

यो संसारमा सबै पत्रु र म चाहिं सर्वगुण सम्पन्न मान्छे भन्ने तपाईँलाई लागेको छ भने तपाईं नेता बन्ने बाटोमै हुनुहुन्न । तपाईंलाई लागेको होला, अरू सबैको लुगामा धेरथोर दाग छ, मेरो सफा छ । तपाईंलाई थाहै छ, खेतको हिलोमा गाडिएर काम गर्नेकै लुगामा हिलो लाग्छ । डिलमा बसेर रमिता हेर्नेको लुगामा केही लाग्दैन । कसैले केही गरेकै छैनन् भन्दै गरेकै कामलाई पनि ओझेलमा पार्ने तपाईंको कुटिल प्रयासलाई एकछिन मान्ने हो भने पनि तपाईंलाई पनि प्रश्न गर्न सकिन्छ‘देशका लागि तपाईंले चाहिं के गर्नुभो ?’ तपाईं भन्दा कनिष्ठ पत्रकार, कलाकारले पनि राष्ट्रका लागि धेरै उदाहरणीय काम गरेको हामीले देखेकै छौं ।

पुराना विचार, परिपाटी, व्यवस्थाले अब चल्दैन भन्ने तपाईंको निष्कर्ष हो भने आउनुस् छलफल गरौं, हामी पनि त्यही भन्दैछौं। तपाईं कति रूपान्तरित हुनुपर्ने, हामी कति हुनुपर्ने बहस गरौं । मिल्ने जति कुरा सँगसँगै लिएर जाऔँ । तपाईंलाई नेता नै मानौंला, तर तपाईंको दृष्टिकोण आधारभूत हिसाबले नै बदलिनुपर्छ । अहिले वैकल्पिक राजनीतिको सफलताको जस लिने होड होइन, मेहनत गर्ने बेला हो । के तपाईं छलफल, रूपान्तरण र सहकार्यमा पनि विश्वास गर्नुहुन्छ ?

(जेकेन्द्र श्रेष्ठ नयाँ शक्ति पार्टीका विद्यार्थी फ्रयाक्सन इन्चार्ज हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?