+
+
Shares

ट्याङ्कर चालकको आन्दोलन फिर्ता, पेट्रोलपम्पमा शिलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते ११:३९

४ मंसिर, विराटनगर । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् ।

बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए । ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन ढुवानी ठप्प पारेका थिए ।

ट्याङ्कर चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने, नेपाली ट्याङ्कर चालकमाथिको दुर्व्यवहार रोकिनुपर्ने, चालकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेका थिए । सोमबार भारतको जोगवनीमा नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा भारतीय पक्षले गल्ती स्वीकार गर्दै आगामी दिनमा नेपाली चालकमाथि दुर्व्यवहार नगर्ने प्रतिबद्धता जनाएपछि सोमबार साँझबाट इन्धन ढुवानी सुचारु भएको हो ।

वार्तामा विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारी, नेपाल आयल निगम प्रदेश नं १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादव, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घका अध्यक्ष गुणराज निरौला र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ प्रदेश नं १ का अध्यक्ष केशव आचार्य सहभागी थिए । आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुनाका साथै नेपालबाट इन्धन लिन गएका १७० ट्याङ्कर भारतको बथनाहा, मीरगञ्ज र जोगवनीमै रोकिएका थिए ।

पेट्रोलपम्पमा शिलबन्दी

आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ बिक्री वितरणमा अनियमिता एवं ठगी गर्ने ओखलढुङ्गाको खुश्वु इन्धन सप्लायर्समा शिलबन्दी गरी कारोवार रोक्का गरिएको छ ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शम्भु झाको नेतृत्वमा खटिएको टोलीले सो सप्लायर्सको उपकरणमा सफ्टवेयर (चिप्स) प्रयोग गरी पेट्रोलियम पदार्थ तोकिएकोे भन्दा कम तौलमा बिक्री गरेको भेट्टिएपछि शिलबन्दी गरिएको हो । प्रमुख झाका अनुसार कृष्णराम मकाजुद्वारा सञ्चालित सो सप्लायर्सको उपकरण जाँच गर्दा प्रति पाँच लिटर डिजलमा २८० मिलिलिटर तथा पाँच लिटर पेट्रोलमा १३५ मिलिलिटर कम गरी बिक्री वितरण गरेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?