Comments Add Comment

विजयको हत्यारा पत्ता लगाउन माग गर्दै धनगढी बन्द

४ मंसिर, कैलाली । गत शुक्रबार मृत्यु भएका विजय थापाको हत्या भएको भन्दै मंगलबार धनगढी बन्द गराएका छन् । प्रहरी नै हत्यारा जोगाउन लागेको भन्दै आफन्त र स्थानीयले कैलाली बन्द गराएका हुन् ।

धनगढीका पसलहरु बन्द भएका छन् तर शैक्षिक संस्थाहरु भने खुला रहेको छ । धनगढीबाट छुट्ने लामो तथा छोटो दुरिका सार्वजनिक यातायातहरु पूर्णरुपमा ठप्प रहेका छन् । धनगढी बाहेकका अन्य स्थानका बजार पसलहरु भने खुला नै रहेका छन् ।

कात्तिक ३० गते धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीमा रहेको प्रदेश प्रमुखको कार्यालय नजिकै रहेको कलश होटेल पछाडि राति करिब ९ बजे सोही ठाउँका २७ वर्षीय विजय थापा रक्ताम्य अवस्थामा फेला परेका थिए ।

थापालाई सोही ठाउँका आशिष सेठीले उचाल्दै गरेको अवस्थामा स्थानीयले देखेपछि नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

रक्ताम्य अवस्थामा रहेका थापाको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा सोही राति नै मृत्यु भएको थियो । हत्या गरेको आशंकामा प्रहरीले सेठीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सेठीले भने सँगै लागूऔषध सेवन गरेको र थापा छतबाट तल झर्ने क्रममा लडेपछि उनलाई उपचारका गर्न नजिकै रहेको नवजिवन अस्पतालमा लैजान लागेको बयान दिएको प्रहरीले बताएको छ ।

मृतक थापाको पोष्टमार्टमको रिपोर्ट अनुसार टाउकोमा गहिरो चोट लागेर उनको मृत्यु भएको उल्लेख छ । थापाका आफन्तहरुले भने हत्यारालाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने जनाएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले भने अनुसन्धान गरिरहेको भन्दै सत्यतथ्य पत्ता लगाएर हत्यारा सार्वजनिक हुने बताए । जोकोही भएपनि कानूनको दायरामा आउने डीएसपी वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment