Comments Add Comment

प्रकृतिको वरदान : पोखरा, घान्द्रुक र ल्वाङ

४ मंसिर, काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भएर पनि नेपालले पर्याप्त संख्यामा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकेको छैन । यसको एउटा कारणका रुपमा नेपाललाई विदेशीहरुसामु चिनाउने श्रव्यदृष्य सामग्रीकै अभाव रहनुलाई समेत मानिन्छ ।

यसैलाई मध्यनजर गर्दै पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल एट्थ वोन्डरको टिमले विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि डकुमेन्ट्री निर्माण गर्न थालेको छ ।

यही सिलसिलामा ‘हेवन इज मिथ नेपाल इज रियल’ नामको भिडियो श्रृंखलाअन्तरगत दोस्रो एपिसोड सार्वजनिक गरिएको छ । दोस्रो एपिसोडमा पोखरा, घान्द्रुक र ल्वाङ गरी तीन ठाउँ समेटिएका छन् ।

यी तीनवटै स्थान आ–आफ्नै विशेषताहरुले भरिपूर्ण छन् । प्राकृतिक रमणियताले मात्र नभएर सांस्कृतिक विविधताले समेत यी स्थानलाई चिनाएका छन् ।

हेर्नुहोस् भिडियो

पोखरा सहर बन्जी जम्प, प्याराग्लाइडिङ, फेवा ताल बोटिङ, अल्ट्रा लाइट जस्ता चाखलाग्दा एड्भेन्चरले भरिपूर्ण छ । यस्तै पुरातन गुफाहरु, डेभिड फल्स, विश्व शान्ति स्तुपा आदि यहाँका रमणीय स्थलहरु हुन्, जसको सदृष्य वर्णन डकुमेन्ट्रीमा गरिएको छ ।

त्यस्तै ल्वाङ गाउँ र त्यहाँका स्थानीय वासिन्दाले सञ्चालनमा ल्याएको ल्वाङ सामुदायिक होमस्टेमा केही दिन बिताएको अनुभव भिडियोमा समेटिएको छ । ल्वाङ गाउँको प्राकृतिक सुन्दरतासँगै मौलिक खानेकुराहरुको स्वाद लिनु निकै आनन्ददायी हुन्छ ।

अर्कोतिर विभिन्न गुरुङ समुदायका कयौं स–साना बस्ति, टोलहरु तथा गाउँहरु मिलेर बनेको घान्द्रुक गाउँ प्रकृतिको अनुपम उपहार हो । त्यहाँबाट मिर्मिरे बिहानीमा बाहिर निस्किँदा माछापुछ्रे, गंगापूर्ण, हिमचुली र अन्नपूर्ण जस्ता चम्किरहने हिमाल देख्न पाइन्छ ।

यी तीन स्थान समेटेर बनाइएको भिडियोर्लाइ फोर ए. एम. प्रोडक्सनले छायांकन गरेको हो भने यसका न्यारेटर सुजन निरौला हुन् । नेपाली भाषामा न्यारेसन गरिएको भए पनि अंग्रेजीमा सबटाइटल दिइएको हुनाले विदेशीहरुलाई बुझन सहज हुनेछ ।

तस्वीर सौजन्य : Nepal 8th Wonder

हेर्नुहोस् तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment