Comments Add Comment

छापामा आजः तरकारी मासेर घरबारी, गाउँमा बसाइँ सरे ३० हजार !

५ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा १२ वर्षअघि भएको विस्तृत शान्ति सम्झौता परेको छ । पत्रपत्रिकाहरुले शान्ति सम्झौतापछिका १२ वर्षको समीक्षा गर्दै द्वन्द्वपीडितका समस्या र राहत वितरणबारे सोधीखोजी गरेका छन् ।

क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा ५७ लाखमा अनुबन्धित भएका छन् । पीएसएलमा भएको क्रिकेटर सन्दीप लामिछानेको छनोटलाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् ।

पत्रपत्रिकाकै पहिलो पृष्ठमा गरीबी निवारण कोष विघटन भएकोदेखि कोरला नाकामा चीनले पूर्वाधार बनाउने भएको, राष्ट्रिय पार्क निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता भएकोसम्मका खबर छन् । राजपा संयोजकको जिम्मेवारी चक्रिय प्रणाली अनुसार राजेन्द्र महतोले पाएको समाचारलाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले समेटेका छन् ।

खेतीयोग्य जमिन मासेर भइरहेको शहरीकरणको प्रवृत्ति झल्काउने तस्वीर आज कान्तिपुरले छापेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२, मनोहरामा काठमाडौं उपत्यका विकास प्राधिकरणले १२ वर्ष लगाएर बनाएको दिव्यश्वरी जग्गा एकीकरण गरी प्लट्रि गरिएको छ । तरकारी उब्जाउ हुने यो उर्वर भूमि विकास र आवास योजनाका नाममा सडक र बिजुलीका खम्बाले भरिएको छ । कान्तिपुरका अनुसार यहाँको ५ सय ५१ रोपनी खेतीयोग्य जमिन कंक्रिट बन्दैछ । भवन निर्माण र प्लटिङले उपत्यकाका खुला जग्गा र खेतीयोग्य उर्वरभूमि करिब–करिब सकिएका छन् ।

गोकर्णस्थित राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनी डेढ वर्षदेखि सम्पर्कविहीन भएकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ पहिलो पृष्ठमा समेटेको छ ।

समाचार अनुसार, ठेकेदार सम्पर्कविहीन भएपछि पार्कका अलपत्र छाडिएका भौतिक संरचनासमेत भत्कने अवस्थामा पुगेका छन् ।

सरकारले पार्क निर्माणका लागि ४६ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ प्रतिशत रकम ठेकेदारले भुक्तानी लिइसकेका छन् । ६ सय ५० रोपनी जग्गामा पार्क निर्माण कार्य गर्न लागिएको भए पनि ठेकेदारका कारण अलपत्र परेको छ ।

कान्तिपुरमै द्वन्द्वपीडितले न्याय नपाएको खबरसँगै गाउँमा बसाइँ सरी जानेले ३० हजार पाउने भएको समाचार पनि छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि नवलपरासीको बौदीकाली गाउँपालिकाले जुक्ति निकालेर अन्यत्रबाट बसाइँ सरी आउनेलाई भत्ता दिने निर्णय गरेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

समाचार अनुसार बाक्लो बस्तीमा रहन चाहनेलाई २५ र पातलो बस्तीमा बस्न चाहनेलाई ३० हजार रुपैयाँ भत्ता दिइने छ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पूर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो ।

केही दिनदेखि सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक पाटा–पक्ष केलाउँदै आएको नयाँ पत्रिकाले आज पनि यही बहसलाई निरन्तरता दिएको छ । नयाँ पत्रिका लेख्छ– सामाजिक र राजनीतिक न्यायका लागि विश्वभरि विद्रोही विगलु पनि बन्न सफल भएको छ सामाजिक सञ्जाल ।’

नयाँ पत्रिकामै त्रिभुवन विश्वविद्यालयमा सेमेस्टर प्रणालीमा पढाइ हुने विषयको नतिजामा सुधार हुँदै गर्दा वार्षिक प्रणालीको नतिजा भने नाजुक देखिएको समाचार पनि छ ।

समाचार अनुसार वार्षिक प्रणालीमा पढाइ भएका स्नातक तहका विषयमा उत्तीर्ण १५ देखि ४५ प्रतिशतसम्म मात्रै आउँदा सेमेस्टर लागू गरिएका स्नातकोत्तर तहका विषयमा ४५ देखि ९० प्रतिशतसम्म उत्तीर्ण नतिजा आएको छ ।

काठमाडौंको खानेपानी अभाव झल्काउने तस्वीर छापेको अन्नपूर्णले ‘स्यावास सन्दीप’ शीर्षक दिएर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा अनुबन्ध भएको समाचार लेखेको छ ।

वाइड बडी खरिद प्रकरण लेखा समितिमा पुगेकोदेखि पप्पुले नयाँ ठेक्का नपाउनेसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा अटाएका छन् ।

गरिब जनताका लागि काम गर्न गठित गरिबी निवारण कोष विघटन भएको विषयमाथि राजधानीले समाचार लेखेको छ । पदाधिकारीबीचको विवाद र राजनीतिक हस्तक्षेपका कारण कोष विघटन हुन पुगेको हो ।

शान्ति प्रक्रियाका १२ वर्षमा राहतका नाममा मात्रै १८ अर्ब खर्च भएको नागरिकले लेखेको छ भने गोरखापत्रले हाई प्रोफाइलले नै पुस्तकालयबाट पुस्तक लिएर फिर्ता नगरेकोलाई एंकर बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment