+
+
Shares

मन्त्री विष्टको प्रश्न : उहाँका श्रीमानलाई कहिले झिकाइदिनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते १:३०

५ मंसिर, काठमाडौं । चितवनकी पूजा तामाङ आफ्ना बिरामी पतिलाई साउदी अरबबाट झिकाउने विषयमा ताकेता गर्न बुधबार दूधे बच्चा च्यापेर वैदेशिक रोजगार विभाग पुगेकी थिइन् । म्यानपावर कम्पनी र विभागले अनेक बहाना गर्दै उनलाई धेरै दिनदेखि झुलाइरहेका थिए ।

बुधबार भने पूजाले संयोगबस श्रममन्त्री गोकर्ण बिष्टलाई नै गुनासो सुनाउने मौका पाइन् । मन्त्री बिष्ट बुधबार बुद्धनगरस्थित विभागको कार्यालयमा अनुगमनका लागि पुगेका थिए, जहाँ पूजासँग भेट भयो । पूजा बच्चा च्यापेर त्यहाँ पुगेकी थिइन् । मन्त्री विष्ट पनि कार्यालयका सबै कार्यकक्षहरुको अवलोकन गर्न विभागमा पुगेका थिए ।

विभागको अनुसन्धान शाखाअघि बच्चा च्यापेर भ¥याङ छेवैमा उभिएकी थिइन् पूजा । उनले सुरुमा मन्त्रीका सामुन्ने जाने आँट गरिनन् । तर, पूजा सामुन्ने मन्त्री बिष्ट आफैं पुगे र सोधे– ‘तपाई के समस्या परेर आउनुभयो ?’

पूजाले आफ्नो ब्यथा सुनाउनै थाल्दा छेउमा रहेका एक व्यक्तिले उनलाई रोक्न खोजे । ती व्यक्ति पूजाका श्रीमानलाई विदेश पठाउने म्यानपावरका सञ्चालक रहेछन् ।

मन्त्री विष्टले पूजालाई सोधे, ‘श्रीमानलाई झिकाउन विभागमा निवेदन दिनुभएको छ ?’ जवाफमा उनले निवेदन दिएको कैयौं दिन बितिसकेको बताइन् ।

पूजाले दिएको निवेदनको दर्ता नम्बर तत्काल उपलब्ध गराउन मन्त्री विष्टले विभागका कर्मचारीलाई निर्देशन दिए ।

अगाडि उभिएका म्यानपावरका प्रतिनिधिलाई चिनेपछि मन्त्री विष्टले सोधे, ‘तपाईंले कहिलेसम्म उहाँका श्रीमानलाई स्वदेश झिकाइ दिनुहुन्छ ?’ अक्मकाउँदै म्यानपावरवालाले करिब एक महिना लाग्ने बताए ।

पूजाले आफ्ना बिरामी श्रीमान साह्रै आत्तिएको भन्दै एक महिना कुर्न नसक्ने बताइन् । अनि, मन्त्री विष्टले पनि ‘किन चाहियो एक महिना ?’ भन्दै मेनपावरवालालाई थर्काए ।
रोजगारदाता कम्पनीले नै एक महिनाभित्र पठाइदिन्छु भनेकाले समय लाग्ने मेनपावरका प्रतिनिधिको जवाफ थियो ।

पूजालाई मेनपावरवालाले यस्तो भाका कयौंपटक दिएका रहे । मेनपावरवालाले एक हप्ता एक हप्ता भनेरै लामो समयदेखि झुलाएको मन्त्रीसामू उनले दुखेसो पोखिन् ।
विष्टले म्यानपावरका प्रतिनिधिलाई भने, ‘बच्चासहित धाइरहनुभएको छ, अलिकति पनि मानवीयता छैन ?’

मेनपावरवाला वहाना बनाउन खोज्दै थिए । तर, मन्त्री विष्टले झन् कडा हुँदै ‘अरु बेसी कुरा हैन’ भनेपछि उनी चुप भए ।

मन्त्रीले पूजाका श्रीमानलाई स्वदेश झिकाउन तत्कालै पहल हुने आश्वासन दिए ।

मन्त्री बिष्टलाई ओखलढुंगाका दुर्गा कार्कीले पनि आफ्नो समस्या सुनाउन भ्याए ।

साउदी अरबमा अलपत्र परेको आफ्नो भाइको उद्धारमा कठिनाइ परेको गुनासो उनले मन्त्रीका सामुन्ने राखे ।

‘जटिल छ भन्दाभन्दै सरकारले साउदीमा रोजगारीका किन स्वीकृति दिइरहेको छ’ भन्दै उनले मन्त्रीलाई प्रश्न गरे ।

दुई महिनादेखि आफ्नो भाइ साउदीमा घाइते अवस्थामा रहेको र नेपाल झिकाउन महिनौंदेखि धाउँदा पनि केही नभएको उनको भनाई थियो । मन्त्री बिष्टले सम्बन्धित पीडितको फाइल आफूसमक्ष ल्याउन निर्देशन दिए ।

त्यसैगरी बाग्लुङका इन्द्र कार्कीले पनि मन्त्रीसमक्ष आफ्ना गुनासो राखे । रसिया पठाउने नाममा बाग्लुङका एक दलालले उनीसँग ५ लाख ठगेका रहेछन् । उनले न्यायका लागि मन्त्रीसँग गुहार मागे ।

श्रम सचिव महेश दाहालले पनि उनको उजुरीलाई तत्काल दर्ता गरेर कारवाही अघि बढाउन निर्देशन दिए ।

मन्त्री बिष्टले अनुगमनका क्रममा विभागका कर्मचारीलाई परादर्शी ढंगले काम गर्न निर्देशन दिएका छन् । ‘यहाँ विकृत छ भनेर गुनासो सुनिन्छ । हामी वैदेशिक रोजगार क्षेत्र व्यवस्थित जर्न आएका हौं,’ उनले भने, ‘तपाईंहरु मिलापत्रका नाममा लाखौं ठगिएका व्यक्तिहरुलाई हजार क्षतिपूर्ति दिलाएर दोषीलाई उन्मुक्ति नदिनुस् ।’

उनले विभागमा फर्छ्योट हुन बाँकी रहेका सबै उजुरीहरुलाई तत्काल टुंगोमा पुर्‍याउन पनि निर्देशन दिए । उजुरीहरुको सुनुवाई तत्कालै गर्न र व्यक्तिगत ठगीका हकमा विवरण तयार गरेर गृह मन्त्रालयमार्फत समन्वय गरी पक्राउको अभियान चलाउन आवश्यक देखिएको उनले बताए ।

‘के–के समस्या छन् मन्त्रालयमा एकीकृत गरेर पठाउनुस्, तर, पीडितलाई न्याय दिन ढिलाइ नहोस्,’ उनले कर्मचारीलाई भने, ‘दूध र पानी छुट्याएर काम गर्नुस् । पीडामा परेकालाई थप पीडित हुने गरी काम नहोस् ।’

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?