Comments Add Comment

कहिलेदेखि पूर्ण सञ्चालनमा हुन्छ कलंकीको अण्डरपास ?

७ मंसिर, काठमाडौं । कलंकी अण्डर पास सडक पूर्णरुपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ ।

चीन सरकारको सहयोगमा संघाई कम्पनीले निर्माण गरिरहेको चक्रपथ सुधार परियोजना अन्तर्गतको कलंकी अण्डरपास आंशिक खुला रहेपनि पूर्णरुपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको हो ।
अण्डरपासमा अहिले अन्तिम चरणको काम भइरहेको छ । चक्रपथ सुधार परियोजनाका प्रमुख सुजन खनालका अनुसार आउँदो डिसेम्बर ५ अगावै अण्डरपास संघाई कम्पनीले नेपाललाई हस्तान्तरण गरेर पूर्ण सञ्चालनमा आउनेछ ।

अण्डरपासको औपचारिक हस्तान्तरणका लागि चीनले उच्च तहका अधिकारी आउने स्रोतले बतायो ।

कुल ८ सय मिटर लामो अण्डरपासमा अहिले रङ्गरोगन गर्न वाल (भित्ता) सफा गर्ने काम भइरहेको छ । अण्डरपासमा बत्ती जडानको काम समेत भइसकेको छ । चिनियाँ इञ्जीनियरसहितको निर्माण टोली अण्डरपासको फिनिसिङको काम सक्न खटिरहेका छन् ।

हाल दिउँसोमा काम भइरहेकाले अण्डरपास रातीमा भने खुला गरिएको छ । विहान ७ बजदेखि बेलुकी ५ बजेसम्म अण्डरपासमा सवारी साधनको आवागमन रोकेर काम भइरहेको परियोजना प्रमुख खनालले अनलाइनखबरलाई जानकारी दिए ।

दिउँसोको समयमा अण्डरपास बन्दा हुँदा कलंकीचोकमा हुने घण्टौंको जामको समस्या पुनः बल्झिएको छ ।  सन् २०१६ मा शुरु गरिएको अण्डरपास ६ महिना भित्र पुरा गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनीले भूकम्प र नाकाबन्दीको कारण देखाउँदै निर्माण कार्य लम्ब्याएको छ ।

चीन सरकारको सहयोगमा निमार्ण भइरहेको चक्रपथ सुधार परियोजना अन्तर्गतको यो अन्डरपास नेपालकै पहिलो आधुनिक पूर्वाधार हो । अन्डरपास पूर्णरुपमा सञ्चालनमा आएपछि कलंकीमा हुने घण्टौं जाम पूर्ण रुपमा हट्ने विश्वास लिइएको छ ।

अण्डरपास निर्माणपछि बल्खुबाट सितापाइला तिर जाने गाडीहरु अन्डरपासको तलतिरबाट सिधै जानेछन् । जसका कारण अहिले कलंकीमा लामो समय जाम खेप्नु पर्ने बाध्यता हट्ने छ ।  त्यस्तै थानकोटबाट सोल्टीमोड चोकतिर जाने गाडीहरु पनि विना अवरोध कलंकी चोक वारपार गर्न पाउनेछन् ।

चीन सरकारको ५ अर्ब रुपैयाँको अनुदान सहयोगमा चक्रपथ विस्तारको काम भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment