७ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले किष्ट बैंक घोटाला प्रकरणमा पक्राउ परेका दुई अधिकारीलाई पुनः नियन्त्रणमा लिएको छ ।
बैंकका तत्कालीन नायब महाप्रबन्धक बाल नरसिंह घर्ती (बीएन घर्ती) र उच्च तहका कर्मचारी प्रगुन श्रेष्ठलाई पक्राउ गरेको हो ।
ब्यूरो स्रोतका अनुसार उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । यद्यपि, के कसुरमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो भन्ने खुलाइएको छैन ।
सीआईबीका एक अधिकारीले भने शनिबार वा आइतबार उनीहरुको कसुरबारे सार्वजनिक गरिने जानकारी दिए । प्रकरणमा थप केही अधिकारीहरुलाई समेत शंकाको घेरामा राखेर निगरानी भइरहेको स्रोतको भनाइ छ ।
जम्को प्रकाशन प्रालिलाई कमसल धितोको अधिक मूल्यांकन गरी बैंकको कर्जा लगानी नीति विपरित अधिकतम सीमाभन्दा बढी १२ करोड रुपैयाँ कर्जा प्रदान गरिएको थियो । कर्जा रकम परियोजनामा खर्च नगरी दुरुपयोग गरी बैंकिङ कसुर गरेकोले उनीहरुलाई यसअघि ०७० साल मंसिर पहिलो साता सीआईबीले नै पक्राउ गरेको थियो ।
अघिल्लो महिना प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलार्इ भारतमा पक्राउ गरेर ल्याएको थियो । ज्ञवालीसहित र उनकी श्रीमती गौरी खनाललाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजायँ सुनाइएको थियो । साथै, १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
प्रतिक्रिया 4