Comments Add Comment

‘३२ मिनेटवाला’ अभिभावकः बच्चाका लागि एकदम खतरनाक

हामीले अघिल्लो लेखमा ‘हेलिकोप्टर प्यारेन्टिङ’को बारेमा एक सामाग्री पेश गर्‍यौं । यसको अर्थ भनेको हरक्षण बालबच्चाको निगरानी गर्नु, ख्याल राख्नु भन्ने थियो । यसको अर्थ यो होइन कि, बच्चाको ख्याल राख्नै हुँदैन । बच्चाको उचित ख्याल राख्नुपर्छ र आवश्यक अनुसार स्वतन्त्रता पनि दिनुपर्छ । बुवाआमाले चौविसै घण्टा निगरानी राख्नु, बच्चाको हरेक काममा आफु सहयोगी बन्नु उचित होइन । त्यस किसिमको व्यवहारले बच्चाहरु असक्षम हुँदै जान्छन् । उनीहरुको आत्मविश्वास कमजोर हुन्छ ।

तर, बच्चासँग आमाबुवाको समुचित सामिप्यता भने आवश्यक हुन्छ । यो भनेको बच्चासँग विताउने ‘क्वालिटी टाइम’ हो । बच्चालाई निगारनी गर्ने होइन, बरु बच्चासँग रमाउने हो । बच्चाका लागि बच्चा जस्तै बन्ने हो । यो प्रसंग किनपनि अहिले जोड्न आवश्यक छ भने, अहिलेका कति अभिभावकलाई बच्चासँग खेल्ने समय छैन । बच्चासँग उनीहरु टाढिदै गएका छन् ।

एक नयाँ अध्ययनको निचोड एकदम निरासजनक छ । अध्ययनले भन्छ, ‘अभिभावकले बच्चालाई यति बेवास्ता गरिरहेका छन् कि, उनीहरुका लागि दिनमा मात्र ३२ मिनेट समय दिइरहेका छन् ।’

अर्थात २४ घण्टामा केवल ३२ मिनेट । त्यसमा पनि खेलकुद, खानपान, पढाई, होमवर्कमा यत्तिका समय व्यतित हुने गरेका छन् । जबकी अभिभावकले त्यो भन्दा बढी समय फेसबुक चलाउन, साथीभाईसँग गफ गर्न, मदिरापान गर्न, गीत सुन्न, टेलिशृंखला हेर्नमा खर्च गरिरहेका छन् ।

बुवाआमाले अरु कुराको लागि जति समय खर्च गरिरहेका छन् के त्यसको थोरै अंश पनि बच्चाका लागि छुट्याउन सकिरहेका छैनन् ? किन बच्चाहरु यति अपहेलित भइरहेका छन् ?

आखिर यसको नतिजा भयानक छ । अहिलेका बालबालिकाहरु एक्लिदै गएका छन् । घरभित्रै पनि । यसले उनीहरुमा निरासा, तनाव र डिप्रेसनको अवस्थामा पुर्‍याइरहेको छ ।

आमाबुवाले के ठान्छन् भने, ‘बच्चाका लागि सबैकुरा पुरा गरेको छु । राम्रो स्कुलमा पढाएको छु । लुगाफाटोमा कमी हुन दिएको छैन । भरपेट र मिठोमसिनो खान दिएको छु । खेल्ने कुरा दिएको छु । बेलाबखत घुमफिरमा लगेको छु ।’ तर, के यी कुरा पर्याप्त छन् ?

जबकी बच्चाका लागि यी संसाधनभन्दा बढी जरुरी आमाबुवाको समय हो । जब आमाबुवाले बच्चासँग क्वालिटी टाइम बिताउँदैनन्, बच्चाहरुको समुचित विकासमा अवरोध पुग्छ । बच्चामा मानसिक जटिलता देखिन सक्छ । उनीहरुको वौद्धिक क्षमता कमजोर हुन्छ ।

बच्चाको समय चोरी

मील डेलिभरी सर्भिस फार्म मन्चरीको यो सर्वे करीब २ हजार बढी अभिभावकमाथि गरिएको थियो । सर्वेक्षणमा अभिभावकले के स्विकार गरे भने, आफ्नो निजी समय निकाल्नका लागि उनीहरु बच्चाको समय चोर्ने गर्छन् । अर्थात बच्चालाई दिनुपर्ने समय बचाएर उनीहरु आफ्नो लागि खर्च गर्छन् ।

जस्तो कि, बच्चासँग खेल्ने, रमाउने, कुराकानी गर्ने समय घटाउने । त्यसबाट बचेको समय आफ्नो लागि खर्च गर्ने ।

धेरै अभिभावक कामबाट फर्केपछि पनि बच्चासँग समय विताउँदैनन् । उनीहरु आफ्नै काममा खर्चन्छन् । फेसबुक चलाउँछन्, टिभी हेर्छन् ।

बच्चासँग खेल्ने, रमाउने भन्दा पनि उनीहरु कसरी बच्चाको होमवर्क सकाएर, खानपान गराएर सुताउने भन्ने ध्याउन्नमा रहन्छन् । जब बच्चा सुत्छन्, उनीहरु फेरी आफ्नै दुनियामा मग्न हुन्छन् । जबकी बच्चा सुताइसकेपछि जुन समय बाँकी रहन्छ, त्यो समय उनीहरुले अरु बढी स्वतन्त्र अनुभव गर्छन् । यसबाट के बुझिन्छ भने, अभिभावकले बच्चालाई आफ्नो बोझ पनि ठानिरहेका छन् । त्यही कारण बच्चासँग खेल्नु, रमाउनु उनीहरुले गाह्रो मानिरहेका छन् ।

किनमेल जरुरी वा बच्चा ?

सर्वेक्षणमा के पाइएको छ भने, अधिकांश अभिभावक बच्चालाई सप्ताहमा करिब दुई पटक आउटिङ एक्टिभिटिज अर्थात वाहिरी घुमफिर, खेलकुद आदिमा लान इच्छुक हुँदैनन् । जबकी यो भन्दा बढी समय त उनीहरुले अनलाइन सपिङ वा ग्रोसरी स्टोर्समा बिताइरहेका हुन्छन् । यही कारण उनीहरुले प्रतिदिन औसत चार/पाँच पटक बच्चालाई गाली गर्ने, कुटपिट गर्ने गर्छन्, बच्चाको लापरवाही वा गल्तीको कारण ।

यो सर्वेले के पनि बताएको छ भने, आमाबुवा व्यस्त हुँदा उनीहरुको बच्चाको खानपानमा पनि नकारात्मक असर परिरहेको छ । अरु कामको चक्करमा अभिभावकले बर्षमा कति छाक त राम्रो खानेकुरा ख्वाउनै सकिरहेका हुँदैनन् । काम, धपेडी र थकानको कारण कतिपय अभिभावकले छोराछोरीलाई बाहिरको खानेकुरा जंकफूड तथा फास्डफुड खान बाध्य तुल्याउँछन् ।

व्यस्त दिनचर्याको साइड इफेक्ट

अधिकांश अभिभावकले किन बच्चालाई दिनमा ३२ मिनेट मात्र समय दिन्छन् ? यसको जवाफमा उनीहरु आफ्नो ‘व्यस्त दिनचर्या’लाई दोष दिन्छन् ।

तर, सोचनिय कुरा के छ भने, जब आज आमाबुवाले बच्चालाई समय दिन सक्दैनन्, भोलि त्यही आमाबुवाले पछुताउने मौका पनि पाउँदैनन् । बुढ्यौली उमेरमा उनीहरुलाई आफ्नो त्यही बच्चा थप बोझिलो बन्न सक्छ ।

किनभने आमाबुवाले सही समय बच्चासँग बिताउन नसकेपछि बच्चाहरु एक्लिन्छन् । उनीहरुको शारीरिक, मानसिक विकासमा ठेस पुग्छ । साथै बुवाआमासँग उनीहरुको भावनात्मक अट्याचमेन्ट पनि हुँदैन । यसको असर ति आमाबुवाले बुढेसकालमा भोग्नुपर्छ ।

त्यसो भए के गर्ने त ?

समाधान सजिलो छ । केवल तपाई आफु प्रतिवद्ध हुनुपर्छ । किनभने तपाईसँग बच्चाका लागि समय नभएको होइन । बरु आफुलाई भुलाउने वाहाना बढी भएको हो । तपाई दिनमा कति फेसबुक चलाउनुहुन्छ ? कति अरुसँग कुरा गर्नुहुन्छ ? कति टेलिभिजन हेरेर बस्नुहुन्छ ? कति रेष्टुरेन्ट वा सिनेमाघरमा विताउनुहुन्छ ? त्यो समय बच्चाका लागि छुट्याउनुहोस् ।

घरभित्रको काम खासगरी खाना पकाउने, सरसफाई गर्ने, बगैंचाको काम, फूलमा पानी हाल्ने, गोडमेल गर्ने काममा आफुसँगै बच्चालाई पनि खटाउनुहोस् । यसले बच्चासँग तपाईको समय लम्बिएर जान्छन् । बच्चाको समग्र विकासका लागि यो कुरा एकदम महत्वपूर्ण छ ।

(माथि उल्लेखित सर्भेक्षण नेपालको होइन । यद्यपी उक्त सर्वेको प्रकृति र त्यसको निचोड हाम्रो समाजसँग हुबहु मेल खान्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment