Comments Add Comment

हातहतियार ओसारपसार बढेसँगै पूर्वमा बढ्यो सुरक्षा थ्रेट

१० मंसिर, मोरङ । खुला सिमानाका कारण पूर्वी नेपालमा सुरक्षा चुनौती बढेको छ । खुला सीमाबाट हतियार ओसारपसारमा वृद्धि हुन थालेपछि सुरक्षा थ्रेट बढेको हो ।

गत मंगलबार याता मात्र प्रहरीले विराटनगरबाट दुई हतियारसहित चारजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगरबाट मेड इन युएसए लेखिएको पेस्तोल र केही गोलीसहित चार जना भरियालाई नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुसन्धान व्यूरोसहितको टोलीले शनिवार साझ भारतबाट पेस्तोल बोकेर आएका २ जनालाई विराटनगर बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

बसपार्कबाट काठमाडौं जाने तयारी गरिरहेका दुई व्यक्तिलाई हतियारसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

शनिबार साझ नै सुनसरीको सिमावर्ती घुस्की क्षेत्रबाट भारततर्फ जाँदै गरेको मोटरसाइकलबाट भारतीय सीमा सुरक्षा बल एसएसबी कटुवा पेस्तोल बरामद गरेको छ ।
मदिरा र हतियार लिएर जादै गरेका व्यक्तीले बाटोमा एसएसबी देखेपछि मोटरसाइकल छाडेर नेपालतर्फ भागेका थिए ।

शनिबार पक्राउ परेकाहरुको नाम गोप्य राखेको प्रहरीले गत सोमबार र मंगलबार पनि दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो ।

गत सोमबार विराटनगर कोशी प्रोजेक्टबाट उदयपुरका मन्दिप तामाङलाई हतियार र केही गोलीसहित पक्राउ गरिएको थियो ।

पक्राउ परेका तामाङले हतियार सुनसरी खनारका सुशील साहलाई बुझाउन ल्याएको पत्तो पाएपछि प्रहरीले मंगलबार साहलाई पक्रउ गरेको थियो । बुधवार बिहान सुनसरी दुहबी नगरपालिका ९ मा महम्मद फिदा हुसेनको गोली हानी हत्या भएको थियो ।

खुला सिमाका कारण हतियार आयात बढेपछि सीआईबीको टोली पूर्वमा आएको छ । दुईसाता यता सीआईबीसहितको टोलीले अनुसन्धान गरिरहेको छ ।

कुन प्रयोजनका लागि हतियार आयात गरिएको हो भन्ने बिषयमा प्रहरीले केही खुलाएको छैन् । संवेदनशिल घटना भएकाले पक्राउ परेकाहरुको नाम गोप्य राखेर अनुसन्धान जारी राखेको मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले जानकारी दिए ।

अबैध हतियार कारोवारीको चेन पत्ता लगाउन शुक्ष्म रुपमा अनुसन्धान गरेको बताउँदै उनले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको बताए । अनुसन्धान जारी रहेकाले अन्य व्यक्ति पनि पक्राउ पर्ने सम्भावना रहेको बताए ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरु हतियार ल्याउने पूर्‍याउने भरिया मात्र हुन् । केन्द्रीय अनुसन्धान व्यूरो सहितको टोलीले हतियार कारोवारीको चेन पत्ता लगाउन अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका अभियुक्तहरूले पेस्तोल पुर्‍याए वापत निश्चित रकम लिने गरेको बयान दिएका छन् । ‘कतै अपराधिक घटना घटाउन ल्याउन खोजेको जस्तो देखिन्छ ।’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ‘हामी सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले दुईसाता अघि सुनसरीको दुई छुट्टा-छुट्टै स्थानबाट पेस्तोलसहित ३ जना पक्राउ गरेको थियो । शसस्त्र प्रहरी बल बीओपी भाण्टावारी सुनसरी र सिमा प्रहरी चौकी भाण्टावारीको टोलीले १ थान स्वचालित पेस्तोलसहित भारत बिहार भिमनगर-४ सुपोलका रंजित कुमार मुखियालाई पक्राउ गरेको थियो ।

बिआर ५० एफ ३२०६ नम्बरको मोटरसाइकलमा सवार मुखियाको शरीर खानतलासी गर्ने क्रममा १ थान सानो चाईनिज पेस्तोल १ थान खाली म्याग्जिन फेला परेको थियो ।

बिओपी श्रीपुरबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले सुनसरीको कोशी गाउँपालिका-६ ढट्टा टोलमा पनि १ थान स्वचालित पेस्तोलसहित २ जना पक्राउ गरेको थियो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको मोटरसाईकल चेकजाँच गर्ने भारत सुपौल भवानिपुरका विवेक यादव र भारत सितापुर ८ का सुरेशकुमार गोहितलाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको थियो ।

पछिल्लो पाच महिनामा प्रदेश १ बाट ७ वटा अबैध हतियार सहित १० जना विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment