Comments Add Comment

विराटनगरमा अनलाइनबाटै अदालतको सेवा लिनेहरु बढे

१० मंसिर, विराटनगर । विराटनगरका अदालतमा सूचना प्रविधिको प्रयोगले सर्वसाधारणलाई सेवा लिन सजिलो भएको छ । अहिले सेवाग्राहीले अनलाइनबाटै म्याद तामेली, तारेख लिने, दैनिक तथा साप्ताहिक पेशी सूची हेर्ने, आदेश र फैसलाको जानकारी लिने गरेका छन् ।

उच्च अदालतका सूचना प्रविधि अधिकृत ऋषिकेशकुमार झाले अनलाइनबाट सेवा लिनेहरुको संख्या बढेको बताए । अदालतले सबै फाँटमा दक्ष प्राविधिकको दरबन्दी व्यवस्था गरेको छ । सबै इजलास अगाडि वा परिसरमा डिस्प्ले मनिटर राखेर मुद्दाको अवस्थाबारे जानकारी गराउन थालेको छ । त्यसका लागि अदालत परिसरमा ४ वटा डिस्प्ले मनिटर जडान गरिएको छ ।

पहिले मुद्दामा संलग्न कानुन व्यवसायी र वादी प्रतिवादीहरुको मुद्दाको आदेश वा फैसलाका बारेमा जानकारी लिन अदालतमै पुग्नुपर्ने अवस्था अहिले हटेको छ ।

उच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले इन्टरनेटको प्रयोगले अदालतको कामकारबाही छिटो भएको बताए । उनले आजकल इन्टरनेट सेवा विस्तार भएपछि सबैले घर वा कार्यालयमा बसीबसी हातमा रहेको मोवाइल वा कमप्युटर मार्फत फैसालको बारेमा सहजै रुपमा जानकारी लिने गरेका जानकारी दिए ।

अनलाइनबाटै म्याद तामेली र तारेख

सेवाग्राहीले अनलाइनबाटै म्याद तामेली गर्न र तारेख लिन पाउनेछन् , त्यसका लागि पहिले मुद्दा दर्ता भएको अदालतमा आफनो फोटोसहितको बयोडाटा भर्नुपर्छ । बायोडाटा भरिसकेपछि सेवाग्राहीले सम्बन्धित जिल्ला अदालतमा निबेदन दिएपछि अनलाइनबाटै तारेख र म्याद तामेली हुन्छ ।

हाल उच्च अदालत विराटनगरमा मात्र हप्तामा ६० देखि ७० जनाले अनलाइनबाटै म्याद तामेली गर्ने र तारेख लिने काम गरिरहेका उच्च अदालतका अभिलेख फाँटका नायव सुव्वा ओमराज सुवेदीले जानकारी दिए ।

अदालतले मुद्दाको जानकारी लिन आदेश र फैसला हेर्नका लागि सर्वसाधारणका लागि निशुल्क बेवपेज उपलब्ध गराएको छ । तर अनलाइनबाट म्याद तामेली गर्न र तारेख लिन चाहिँ आन्तरिक सफ्टवेयर प्रयोग गर्ने गरेको छ ।

वकपत्र, मुद्दाको दर्ता र सुनवाइलगायतका सेवाका लागि भने सेवाग्राही अदालतमै पुग्नुपर्नेछ । कानुनी बिषय अध्ययन गर्ने, दस्तावेज खोज्ने, पढ्ने र जाहेरी, निबेदन र फिरादपत्र आदि विभिन्न लिखतहरु तयार पार्नका लागि पनि सहयोग पुग्न थालेको छ ।

अधिवक्त्ता पुरुषोत्तम नेपालले अदालतको वेवसाइटमा खोलेर कुन तहको कुन अदालतमा मुद्दाको पेशी मिति, सरेको विवरण, आदेश वा फैसला कहिले कुन इजलासबाट भयो भन्ने पनि सहजै जानकारी पाइने भएकाले सहज भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment