 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरको ब्राइट भिजन ल कलेजको नमूना अदालत अभ्यासमा उच्च अदालत विराटनगरका दुई न्यायाधीशले डमी न्यायाधीशको भूमिका निर्वाह गरेका छन्।
- न्यायाधीशले नमूना अदालतमा भूमिका निर्वाह गरेपछि स्वार्थ बाझिने स्थानमा जानु नहुने भन्दै विवाद र आलोचना भएको छ।
- उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई नमूना अदालत अभ्यासको कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए।
१५ साउन, विराटनगर । उच्च अदालतमा बहालवाला न्यायाधीश नै एक कलेजको नमूना अदालतमा डमी (नमूना) न्यायाधीशका रुपमा देखा परेका छन् ।
उच्च अदालत विराटनगरका दुई न्यायाधीशले विराटनगरको ब्राइट भिजन ल कलेजको नमूना अदालत अभ्यासमा आफूहरुलाई डमी न्यायधीशका रुपमा प्रस्तुत गरे । घटना बुधबारको हो ।
विराटनगरको ब्राइट भिजन कलेजले आयोजना गरेको मुट कोर्ट(नमूना अदालत) प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह प्रतिस्पर्धामा थियो ।
बुधबारको फाइनलमा उच्च अदालत विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोला, कृपासुर कार्की नमूना न्यायाधीशको भूमिकामा देखिए । उनीहरुसँगै वरिष्ठ अधिवक्ता शान्तिराम भण्डारी पनि नमूना न्यायाधीशको भूमिकामा थिए ।
तीन जना व्यक्ति नमूना अदालतको पूर्ण इजलासमा थिए । काल्पनिक घटनालाई मुद्दा बनाएर विद्यार्थीहरूले न्यायाधीशका अगाडि बहस गरेका थिए । विद्यार्थीको प्रस्तुतीका आधारमा बास्तोला, कार्की र भण्डारीको पूर्ण इजलासले विजेता, उपविजेता घोषणा गरेको थियो ।
वरिष्ठ अधिवक्ता चूडामणि आचार्य उक्त कलेजका सञ्चालक समेत हुन् । कलेज प्रमुखसमेत रहेका आचार्यले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिनका लागि नमूना कलेजको प्रतियोगिता आयोजना गरेको बताए ।
कानून व्यवसायीले सञ्चालन गरेको निजी कलेजको कार्यक्रममा न्यायाधीश नै नमूनाको रुपमा प्रस्तुत भएपछि त्यसमाथि टिकाटिप्पणी शुरु भएको छ ।
‘श्रीमान(न्यायाधीश) नै कलेज गएर नमूना बेञ्चको न्यायाधीश बन्न मिल्छ कि मिल्दैन ? यो बहसको विषय हो, तर स्वार्थ बाझिने स्थानमा जानु हुन्न भन्ने प्रतिक्रिया छ,’ उच्च अदालत स्रोतले भन्यो, ‘अदालतमा बहस गरिरहने कानून व्यवसायीले सञ्चालन गरेको संस्थामा न्यायाधीश नमूना इजलासमा देखिन जानु उचित हुँदैनथ्यो ।’
कलेजको नमूना इजलासको अभ्यास हेर्न उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई प्रमुख अतिथिको रुपमा उपस्थीत भएका थिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4