Comments Add Comment

‘च्याम्पियन्स लिगमा युभेन्टसको बाधक बार्सिलोना’

११ मंसिर, काठमाडौं । इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले च्याम्पियन्स लिगको सबैभन्दा बलियो टिम स्पेनिस क्लब बार्सिलोना रहेको बताएका छन् ।

गएको सिजन रियल मड्रिड बलियो टिमभन्दा उपाधि नै जितेको सम्झँदै उनले यो पटक त्यस्तो नहोस् भन्ने कामना पनि गरे । यो सिजन बार्सिलोना दुई खेलअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

एलेग्रीले आफूहरु च्याम्पियन्स लिगमा एकपछि अर्को खेललाई विचार गर्दै बढ्ने बताउँदै भने, ‘हामी एकपछि अर्को खेलमा राम्रो गर्दै बढ्न चाहन्छौँ । हरेक वर्ष सबै क्लबको चाहना च्याम्पियन्स लिग जित्ने नै हुन्छ । यसपटक बार्सिलोनाको सम्भावना बलियो देखेको छु ।’

पछिल्लो पटक १९९५/०९६ को च्याम्पियन्स लिग जितेको युभेन्टस त्यसपछि पाँच पटक फाइनलमा पराजित भइसकेको छ । पछिल्लो पटक २०१४/०१५ को च्याम्पियन्स लिग फाइनलमा बार्सिलोनासँग र २०१६/०१७ मा रियल मड्रिडसँग हारेको युभेन्टसका लागि यो पटक पनि स्पेनिस क्लब नै मुख्य चुनौती रहेको एलेग्रीको भनाइ छ ।

पछिल्लो दुई फाइनलमा पराजित हुँदा पनि युभेन्टसका प्रशिक्षक एलेग्री नै थिए । च्याम्पियन्स लिग इतिहासमै सबैभन्दा धेरै ७ पटक फाइनलमा पराजित भएको युभेन्टसले दुई पटक उपाधि जितेको छ । यसपटक रियल मड्रिडबाट क्रिष्टियानो रोनाल्डो युभेन्टस आएकाले च्याम्पियन्स लिगमा धेरैको ध्यान युभेन्टसतिर नै छ ।

जारी सिजन सिरी ए मा १३ खेलमा १२ खेल जितेर १ खेल बराबरी गरेको युभेन्टसले अपराजित यात्रा बनाइरहेको छ । दोस्रोमा रहेको नापोलीसँग नै ८ अंकको अग्रता बनाएको युभेन्टस सिरी एमा सन्तुलित पनि छ । त्यही लय च्याम्पियन्स लिग देखाइरहन सके एलेग्रीले भनेजस्तो डर पनि रहने छैन ।

‘च्याम्पियन्स लिगमा मात्रै होइन । सिरी ए मा अझै धेरै खेल खेल्न बाँकी नै छ । सिजिनको अन्त्यसम्ममा कति कठीन खेलहरु पनि आउने छन् । रोमा, इन्टर मिलान, एटलान्टा, साम्पोडारिया जस्ता टिमसँग सहज कहिल्यै हुँदैन’ उनले भने, ‘तर च्याम्पियन्स लिग एकपटकमा एक खेललाई मात्रै ध्यान दिनुपर्छ । अहिले हामी अन्तिम १६ मा जान चाहन्छौँ र क्वार्टरफाइनल, सेमिफाइनल अनि फाइनल । अहिलेदेखि नै फाइनल सोचेका छैनौँ ।’

उनले स्पेनिस क्लब बार्सिलोना यो सिजन राम्रो रहेको भन्दै भने, ‘मेरो व्यक्तिगत विचारमा यो पटक सबैभन्दा राम्रो टिम बार्सिलोना हो जस्तो लाग्छ । गएको वर्ष मैले रियल मड्रिड राम्रो भनेको थिएँ, अन्तिममा जित्यो नै । यसपटक बार्सिलोनासँग त्यस्तो भने नहोस् ।’

बार्सिलोना र रियल मड्रिड मात्रै होइन हरेक पटक बायर्न म्युनिख पनि मुख्य दाबेदार रहेको उनको भनाई छ । जारी सिजन घरेलु प्रतियोगितामा अहिलेसम्म कमजोर देखिएका टिमले पनि च्याम्पियन्स लिगमा उत्कृष्ट गर्नसक्ने उनले बताए ।

‘च्याम्पियन्स लिग सजिलो कुरा होइन । कमजोर भनिएका टिम पनि राम्रो बनेर आउन सक्छन् । उदाहरणका लागि यो सिजन ला लिगामा बार्सिलोनाभन्दा रियल मड्रिड कमजोर देखिए पनि च्याम्पियन्स लिगमा त्यही हुन्छ भन्ने छैन । १५ अंकले पछि परेको मड्रिडले पनि उपाधि जितेको हामीले देखेका छौँ’ उनले भने ।

च्याम्पियन्स लिगमा पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भए पनि युभेन्टस बलियो मनस्थितिमा अघि बढीरहेको उनले बताए । आफूहरुले अझै धेरै सुधार गर्न बाँकी रहेको सुनाउँदै उनले म्यानचेस्टर युनाइटेडसँगको गल्ती नदोहोरिने पनि बताए ।

च्याम्पियन्स लिगमा आज को को भिड्दै ?

राति ११ः४० मा – एईके भर्सेस एजाक्स र सीएसकेए मस्को भर्सेस प्लेजन

राति १ः४५ मा – रोमा भर्सेस रियल मड्रिड, लायोन भर्सेस म्यानचेस्टर सिटी, युभेन्टस भर्सेस भ्यालेन्सिया, म्यानचेस्टर युनाइटेड भर्सेस योङ ब्वाइज, बायर्न म्युनिख भर्सेस बेनफिका र होफेनहेम भर्सेस शाख्तर डोनेक्स ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment