Comments Add Comment

सरकारको दावी– नयाँ शहर निर्माणको कामले गति लियो

१६ मंसिर, विराटनगर । सरकारले मुलुकभरका निर्माण गर्न लागेका १५ नयाँ शहरको कामले गति लिएको शहरी विकास तथा भवन निर्माण विभागले दावी गरेको छ ।

सरकारले तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा र मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनोट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजनाको काम एक साथ अघि बढाएको हो ।

सरकारले हुलाकी राजमार्गमा १० नयाँ शहर निर्माण गर्ने कार्यक्रम ल्याएको थियो । त्यसैगरी मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनोट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजना सरकारको रहेको छ ।

नयाँ शहरका रुपमा विकास गरिने स्थानमा सघन शहरी विकास कार्यक्रम अन्तर्गत ती शहरमा अहिलेे शहरी सडक निर्माण, ढल, बसपार्क, हाटबजार, पोखरी र मनोरञ्जन पार्क निर्माण गर्ने लगायतका काम सुरु भएको छ ।

चालु आर्थिक वर्षबाट ती शहर निर्माणकेा लागि परामर्शदाता नियुक्त गरी मास्टरप्लान निर्माणसँगै सघन शहरी विकास कार्यक्रम अन्तर्गत ती शहरमा भौतिक पूर्वाधार निर्माणको कामपनि अघि बढाइएको हो । परियोजनाका लागि आयोजना कार्यालय स्थापना गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग नयाँ शहर आयोजना समन्वय कार्यालयका कार्यक्रम निर्देशक पराग कायस्थले १५ नयाँ शहर निर्माणका चालु आर्थिक वर्षबाट काम सुरु भएको जानकारी दिए ।

उनले भने, ‘१५ नयाँ शहरका लागि मास्टर प्लान निर्माण गर्ने देखि आवश्य भौतिक संरचना तयार गर्ने काम अघि वढेको छ,अहिले मास्टर प्लानको काम माघ मसान्त भित्र टुंगिएपछि फागुनबाट नयाँ शहर निर्माण गर्ने कामले तीव्रता पाउँनेछ ।’

कार्यक्रम निर्देशक कायस्थले मस्टर प्लान र सामान्य संरचना निर्माणका लागि चालु आर्थिक बर्षका लागि २ अर्ब १३ करोड रुपैयाँ वजेट विनियोजन भएको जानकारी दिए ।

सरकारले आर्थिक वर्ष ०७३/७४ मा तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा बस्ती र तराई मधेशका पाँच बस्तीलाई नयाँ शहरका रुपमा विकास गर्ने कार्यक्रमलाई बजेटमा समावेश गरेको थियो ।

यस्तै सोही हुलाकी राजमार्गमा १० नयाँ शहरको स्थान पहिचान, विस्तृत परियोजना प्रतिवेदनको तयारी र पूर्वाधार निर्माण गर्ने भनिए पनि पहिचान भएका शहरको कुनै पनि प्राविधिक तयारी हुन सकेको थिएन् । वजेट अभावमा पूर्वाधार निर्माणको काम पनि अघि बढन सकेको थिएन् ।

अघिल्ला कार्यक्रमहरुको यस्तो अवस्था रहेकै बेला सरकारले पुनः २०७४ असार २८ गते थप १० वटा शहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने निर्णय गरेको थियो । १५ वटा शहरलाई १० वटा प्याकेजमा व्यवस्थापन गर्ने आयोजनाको लक्ष्य छ ।

परामर्शदाताले पुस मसान्तभित्र ती शहरका एकीकृत विकास योजना निर्माणको समय पाउने छन् । र, पाँच वर्षभित्र न्यूनतम पूर्वाधारयुक्त शहर विकास गरिसक्ने लक्ष्य छ ।

सरकारले मध्यपहाडी राजमार्गमा जस्तै हुलाकी मार्गमा पनि आधुनिक शहर बसाउन लागेको हो ।

हुलाकी सडकको दायाँ/बायाँ तीन किमि क्षेत्रमा त्यस्ता शहर बसाउने सरकारी योजना छ ।

जमीनको उपलब्धता, जनसंख्या, जनघनत्व, नोडल-जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषिमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचजस्ता ११ सूचकलाई आधार मानेर शहर बसाउने क्षेत्र छनोट गरिएको छ ।

१७ सय ९२ किमि लामो हुलाकी राजमार्गले झापाबाट कञ्चनपुर जोड्नेछ । सातमध्ये चार वटा प्रदेशमा व्यवस्थित बस्ती बसाउने योजना रहेको कायस्थले जानकारी दिए ।

प्रदेश १ मा झापाको गौरीगञ्ज र मोरङको रंगेली, प्रदेश २ मा बाराको गढीमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको शम्भुनाथ, महोत्तरीको बलावा सरपल्लो, प्रदेश ५ मा बर्दियाको राजापुर र नवलपरासीको बर्दघाट तथा प्रदेश ७ मा कञ्चनपुरको बेलौरी र कैलालीको भजनी त्रिशक्तिमा शहर विकास गरिने छ ।

कायस्थका अनुसार हुलाकी राजमार्गले जोडेका २० जिल्लाका बासिन्दाको जीवनस्तर उकास्न आधुनिक शहर निर्माण गर्ने अवधारणा छ ।

कस्तो हुनेछ नयाँ शहर

कार्यक्रम निर्देशक पराग कायस्थका अनुसार योजनाबद्ध शहरीकरण गरी केन्ऽको रुपमा विकास गर्ने तथा प्रत्येक नयाँ शहरमा एक लाखसम्मको जनसंख्या पुर्‍याउनका लागि आवश्यक पूर्वाधार विकास गर्ने लक्ष्य राखिएको हो ।

ठूला शहरी क्षेत्र तराई तथा कृषि योग्य उपत्यकामा हुन सक्ने बसाइँ सराइलाई नियन्त्रण गर्ने, त्यस क्षेत्रबाट अन्यत्र बसाइसराइ गरेका परिवारलाई आकषिर्त गर्ने, कृषि पर्यटन, शैक्षिक तथा औद्योगिक क्षेत्रको विकास एवं प्रवर्द्धन गरी आर्थिक क्रियाकलाप गर्ने सरकारको लक्ष्य रहेको कायस्थ बताउँछन् ।

सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बागलुङको बुर्तिबाङ, अछामको साँफेबगर, तनहुँको डुम्रे, रुकुमको चौरजहारी, दैलेखको राकम कर्नाली, बैतडीको पाटन, प्यूठानको भिंग्री र सुर्खेतको भेरीगंगालाई मध्य पहाडी राजमार्गअन्तर्गतका १० नयाँ शहर निर्माण गर्ने लक्ष्य राखेको हो ।

यस्तै हुलाकी राजमार्गमध्ये झापाको गौरीगञ्ज, मोरङको रंगेली, महोत्तरीको मनरा, सर्लाहीको ब्रहृमपुरी, रौतहटको भोलापुर र कटहरिया, बाराको महागढीमाई, बर्दियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलौरीलाई स्मार्ट शहर बनाउने लक्ष्य राखेको छ ।

त्यस्तै तराई मधेशका पाँच शहरमा सप्तरीको शम्भुनाथ, महोत्तरीको बलवा, सर्लाहीको ईश्वरपुर, नवलपरासीको बर्दघाट र दाङको गढवा रहेका छन् भने स्मार्ट सिटीका रुपमा लुम्बिनी, पालुङ, निजगढ, धनकुटा, मिर्चैया, चन्ऽपुर, काभ्रे उपत्यका, भरतपुर, वालिङ, दुल्लु, अमरगढी, तुल्सीपुर र टीकापुरलाई छनोट गरिएको थियो ।

स्थानीय स्तरमा पनि काम

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वय इकाई मोरङले नयाँ शहरलाई व्यवस्थित गर्ने योजना अगाडि बढाएको छ ।

मोरङको पूरानो सदरमुकाम रंगेलीलाई व्यवस्थित गर्ने योजना अनुसार ७ करोड ६१ लाख लागतमा सडक र नाला निर्माण शुरु हुँदैछ । डिभिजन कार्यालयले रंगेलीको व्यवस्थापनका लागि डीपीआर तयार पारिसकेको छ ।

इकाई कार्यालयका अनुसार २ वर्षभित्र सकने गरी बिरुवा कन्सट्रक्सनले निर्माणको ठेक्का पाएको छ ।

रंगेली शहरमा पहिलो चरणमा सडक र नाला व्यवस्थापन तथा दोस्रो चरणमा योजनाबद्ध बस्ति विकास गरिने छ ।

अन्तर्राष्ट्रिय  मान्यताअनुसार शिक्षा, स्वास्थ्य, सिर्जनशीलता, सुरक्षा र समावेशीकरण, सूचना प्रविधि, पूर्वाधार, अनलाइन सेवा, पारदर्शी र खुला सरकार, पहिचान, नवीन उद्यमशीलता, उत्पादनशीलता र हरित व्यवसाय भौतिक पूर्वाधार, शहरी सेवा सुविधा तथा सामाजिक पूर्वाधार उपलब्ध भएको क्षेत्रलाई स्मार्ट शहरका रुपमा लिइन्छ ।

सरकारले शहर बसाउने भन्दै वजेट छुट्याएर काम थाले पनि दशकौंदेखि हुलाकी राजमार्गको काम नै अहिलेसम्म पूरा भने हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment