Comments Add Comment

बोझिलो यौन, बोझिलो सम्बन्ध

यौनप्रति हाम्रो विकृत सोंच छ । यौन भन्नसाथ त्यसलाई ‘छाडा’ भनेर नाक खुम्च्याउने प्रवृत्तिले यस सम्बन्धमा खुला बहस हुन सकिरहेको छैन । नतिजा, यौनकुण्ठा जस्ता मनोविकारले धेरैलाई ग्रस्त बनाइरहेको छ ।

खासगरी दाम्पत्य जीवनमा यौन सम्बन्धले खास महत्व र अर्थ राख्छ । यौन सम्बन्ध बनाउनु भनेको केवल बंश निरन्तरताका लागि मात्र होइन । न त हल्का मनोरञ्जनका लागि मात्र । यो दम्पतीको मन, शरीरलाई एकाकार गर्ने एउटा प्राकृतिक र उत्तम विधी हो ।

यौन सम्बन्धमा जुन किसिमको मधुरता हुन्छ, त्यसले दम्पतीको सम्बन्धमा उर्जाको संचार हुन्छ । तर, यौन सम्बन्ध बोभिलो भयो भने उनीहरुको सम्बन्ध पनि फिका हुन पुग्छ । आखिर किन यौन सम्बन्ध बोझिलो हुन्छ ? यसका दोषी को ? श्रीमान् कि श्रीमती ? वा दुबै ?

बेफुर्सदिला दम्पती

अहिले जमाना बद्लिएको छ । मान्छेको दिनचर्या बद्लिएको छ । आधुनिक उपकरणसँग एकाकार हुँदै गएको मानव जीवनमा धैर्यताको कमी हुँदैछ । एक क्लिकमै संसारको सूचना पाउने आकंक्षा जस्तै हरेक कुरा छिटो-छरितो होस् भन्ने चाहन्छन् । भनौं, सबैलाई एक किसिमको हतारो छ ।

छिटो पढाई सक्ने, छिटो रोजगारी गर्ने, छिटो धन कमाउने, छिटो मान-प्रतिष्ठा आर्जन गर्ने । यो हतारो एक प्रवृत्तिको रुपमा विकास भएको छ । यसको साइड इफेक्ट मानिसको यौन जीवनमा पर्न थालेको छ ।

यौनमा पनि हतारो !  हो त,  हामीलाई अहिले यौन सम्बन्धलाई सुमधुर बनाउने फुर्सद छैन । यौन सम्बन्ध क्षणभरमै बनाउने र क्षणभरमै त्यसबाट सन्तुष्ट प्राप्त गर्ने चाह बढेको छ ।

अर्कोतिर काम, करियर, पैसा आदिको चक्करमा मानिसहरु थाक्दै, गल्दै गएको छ । उनीहरुको मस्तिष्कमा केवल ‘कसरी कमाउने’, ‘कसरी सफल हुने’, ‘कसरी प्रगति गर्ने’ भन्ने कुरा मात्र घुम्न थालेको छ । यसरी उनीहरु यौनबाट क्रमस टाढिदै गएका छन् । आफ्नै शरीर र शरीरको आवश्यक्तालाई भुलेर सुख-सुविधा, उन्नती-प्रगति, मान-प्रतिष्ठा खोजिरहेका छन् । यसले उनीहरुको यौन जीवन क्रमस ओझेल पर्दै गएको छ ।

दिनभर दम्पती काममा व्यस्त हुन्छन् । दुबै आ-आफ्नै कमाई, धन्दामा लाग्छन् । दुबैलाई काम र करियरकै धुन हुन्छ । साँझ घर र्फकन्छन् । फेरी उनीहरु मोबाइल, टिभी वा सामाजिक सञ्जालमा भुलिन्छन् । आपसी सम्वाद हुँदैन । स्पर्श हुँदैन । शारीरिक सम्बन्धको कुरा छाडौं ।

शारीरिक सुखभोगको झन्झट

अर्कोतिर, यौन सम्पर्कपछि गर्भनिरोधक औषधी सेवन गर्नुपर्ने वा गर्भनिरोधका उपाय अपनाउनुपर्ने जस्ता झन्झटले पनि उनीहरुलाई शारीरिक सुखभोगमा भाँजो हालेको छ । यसरी दम्पतीको सयन कक्ष चिसिदै गएको अवस्था छ ।

तर, यो सकारात्मक संकेत होइन । किनभने दम्पतीबीच नियमित र सक्रिय यौन सम्बन्ध आवश्यक हुन्छ । दम्पतीको सम्बन्धमा मधुरता ल्याउनका लागि उनीहरुको यौनजीवन उत्तिकै मिठासपूर्ण हुन आवश्यक छ ।

यौन सम्बन्ध रसिलो एवं कसिलो हुनुपर्छ भनेरै हाम्रा पूर्खाहरुले त्यसका लागि अनेकन विधीहरुको खोजी गरेका छन् । अभ्यास गरेका छन् । यौन सम्बन्ध केवल क्षणिक सन्तुष्टका लागि मात्र होइन, त्यसको प्रभाव दिर्घकालिन हुनुपर्छ भन्ने गरिएको छ । त्यसैले त यौन सम्बन्धका क्रममा प्राकक्रिडा, यौनासन लगायतका विधीहरुको अभ्यास हुँदै आएको ।

रोमाञ्चक यौन जीवनका लागि

दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन सर्वोत्तम विकल्प हो । यसका लागि दुबै शारीरिक रुपमा तयार भएर मात्र पुग्दैन, मानसिक रुपमा पनि उत्तिकै उत्सुक हुन जरुरी छ ।

अक्सर पार्टनरमध्ये एकजना यौनका लागि तयार भइरहँदा अर्का पार्टनरलाई त्यसप्रति खास चासो हुँदैन । यसरी एकजनाको मात्र दवावमा बनाइने यौन सम्बन्ध रोमाञ्चक हुँदैन । त्यसैले जब एक पार्टनर यौनका लागि तयार हुन्छन्, अर्का पार्टनरलाई पनि त्यसमा उत्साहित गराउनुपर्छ । यसका लागि कामुक हाउभाउ, पहिरन, वातावरण आदि थुप्रै कुराको व्यवस्था गर्न सकिन्छ । सिनेमा, संगीत, पुस्तकले पनि सघाउन सक्छ ।

यौन सम्बन्धअघि पाकक्रिडा गरिन्छ । यसले यौनका लागि दुबै पार्टनरलाई उक्साउँछ । पाकक्रिडाको अनेक विधी छन् । यसमा स्पर्श, चुम्बन, संवेदनसिल अंग चलाउने आदि क्रिया गरिन्छ । पाकक्रिडाको क्रममा जब दुबै उत्कर्षमा पुग्छन्, तब यौन सम्बन्ध सुरु गर्दा बढी रोमान्चक हुन्छ ।

अक्सर अहिले दम्पतीको यौनजीवन किनपनि खल्लो हुँदैछ भने उनीहरुको आसन, स्थान एकनास हुनेगर्छ । यसले गर्दा यौनजीवन दिक्कलाग्दो हुन्छ । जबकी यौनका अनेक आसन छन् । यी आसनले यौनमा बेग्लै रोमाञ्चकता प्रदान गर्छ ।

यसरी सक्रिय र नियमित यौन जीवनले दम्पतीको सम्बन्धलाई थप बलियो बनाउने बताइन्छ । यौन सम्बन्धका क्रममा स्राव हुने हर्मोनले आपसमा प्रेम बढ्छ । यौन सम्पर्कले शारीरिक र मानसिक दुबै रुपमा दम्पतीलाई स्वस्थ्य, उर्जावान् बनाउने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment