Comments Add Comment

लेखनाथ महोत्सव पुसको पहिलो सातादेखि

१९ मंसिर, पोखरा । लेखनाथ महोत्सवको १५ औं संस्करण पुसको पहिलो सातादेखि हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १५ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १५ औं संस्करण आगामी पुसको ५ गतेदेखि १६ गतेसम्म हुने लेखनाथमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

महोत्सवमा करिब ३ सय ५० स्टल रहने आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भइसकेको संघले बताएको छ ।

संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ ।

त्यस्तै ख्याती प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले जानकारी दिए । महोत्सवमा वाल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने उनले बताए ।

त्यस्तै, महोत्सवको अवसरमा कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा देशव्यापी कविता प्रतियोगिता गरिने भएको छ भने लुकेको प्रतिभाको खोजी गर्ने उद्धेश्यले हरेक महोत्सवमा आयोजना हुँदै आएको गायन प्रतियोगिता ‘गण्डकी तारा’लाई यस वर्षपनि निरन्तरता दिइने भएको छ । यसैगरी रत्यौली प्रतियोगिता पनि आयोजना गरिने जनाइएको छ ।

समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्‍याउने उद्धेस्यले महोत्स आयोजना गरिएको संघका अध्यक्ष भण्डारीले बताए । महोत्सवको पनि महोत्सव बनाउने आफूहरुको लक्ष्य रहेको उनले बताए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सुरु हने महोत्सव अबधिभर तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।

महोत्सवमा करिब १५ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए ।

करिब ९० लाख खर्च हुने अनुमान गरिएको महोत्सवबाट १ करोड २५ लाख आम्दानी गरी ३५ लाख बचत गर्ने लक्ष्य राखिएको उनले बताए ।

महोत्सवबाट बचत हुने रकमले कृषि उपज खरिद विक्री केन्द्र निर्माण गर्ने, प्रदशनी स्थलको स्तरोन्नती र अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने जनाइएको छ ।

महोत्सव प्रवेशका लागि ६० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीका लागि ४० रुपैयाँ टिकटदर तोकिएको छ ।

साँझ कन्सर्टका लागि भने १ सय रुपैयाँ प्रवेश शुल्क लाग्ने संघका महासचिव गोपीचन्द्र बास्तोलाले जानकारी दिए । बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरुलाई भने निःशुल्क प्रवेश दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment